काठमाडौं। नेपाली काँग्रेसले आफ्ना सबै महाधिवेशन प्रतिनिधिहरुको नामावली उनीहरुको कृयाशिल नम्बर र सम्पर्क नम्वर समेत सार्वजनिक गरेको छ। काँग्रेसले यसअघी आफ्ना सबै सक्रिय सदस्यहरुको नामावली सार्वजनिक गरेको थियो। जिल्ला अधिवेशनपछि भने निर्वाचन समिति मार्फत संकलित सबै नामावली र सम्पर्क नम्वर समेत काँग्रेसले सार्वजनिक गरेको हो।
काँग्रेस पार्टी कार्यालयका सचिव प्रदिप पराजुलीले महाधिवेशन प्रतिनिधिहरुको नामावली उनीहरुको कृयाशिल नम्बर र सम्पर्क नम्वर समेत सार्वजनिक गरेको ट्वीट मार्फत जानकारी दिएका छन्। उनले नेपाली काँग्रेसको
वेभसाइटमा गएर नाम र नम्वर पाउन सकिने पनि जनाएका छन्।
तर कतिपय जिल्लाका अधिवेशन ढीला हुँदा ति जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधीहरुको नाम र नम्वर भने सार्वजनिक हुन सकेको छैन। बिशेषगरि मध्य तराइका जिल्लाको नाम र नम्वर प्राप्त हुन नसकेको हो।
काँग्रेसको यो व्यवस्थाले महाधिवेशनमा सबै महाधिवेशन प्रतिनिधीहरुसँग सम्पर्क गर्ने सहज हुने काँग्रेस नेता गगन थापाले बताए। कतिपय अवस्थामा पहुँच राख्नेहरुले मात्र सम्पर्क नम्वर पाउने अवस्थालाई यसले हटाएको र सबैसँग सबैले सम्पर्क गर्न सकिने अवस्था भएको थापाले बताए। प्रतिनिधीहरुको नाम र नम्वर सार्वजनिक भएपछि उमेद्वारहरुले आफ्ना प्रचार सबै एसएमएस र फोन मार्फत गर्न सहज हुनेछ।
नेपाली काँग्रेसले यो पटक महाधिवेशनको प्रचारका क्रममा काठमाडौंमा कुनै वाल पेन्टीङ नगर्ने पोष्टर नटास्ने प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले बताएका छन्। शहरका केहि भागमा स्वागतद्धार र फ्लेक्स बनाएपनि अरु भद्धा देखिने प्रचारका काम नगरिने उनले बताएका थिए। काँग्रेसले महाधिवेशनको प्रचार डिजिटल बनाउने र सबै उमेद्वारहरुलाई पनि त्यस्तै गर्न प्रेरित गरेको छ।