arrow

भारतले दियो ८० मेगावाट विद्युत, थप ६०० मेगावाट पनि दिने

हैदराबाद हाउसबाट ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
transmission.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरेका छन् । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले स्वीच दबाएर सो प्रसारण लाइनको उद्घाटन गरेका हुन्  । नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार निगम लिमिटेड (एनभिभिएन)बीच यही फागुन ३ गते विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र एनभिभिएनका महाप्रबन्धक ए के मग्गुबीच विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो । 
 
सो सम्झौतालगत्तै प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ८० मेगावाट विद्युत् थप भएको छ । गत बुधबारदेखि भारतले नेपाललाई थप विद्युत् उपलब्ध गराउन थालेको हो । हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको सुदृढीकरण गर्ने र अन्य अन्तरदेशीय प्रसारण लाइन निर्माण गरी थप ६०० मेगावाट विद्युत् उपलब्ध गराउने बताए । 
 
कुशाहा– कटैया, रक्सौल–परवानीपुरजस्ता अन्तरदेशीय प्रसारण लाइनलाई द्रूत गतिमा अगाडि बढाउने लक्ष्य सरकारले राखेको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालको तत्कालको ऊर्जा सङ्कटलाई समाधान गर्न भारत सरकार सहयोग गर्न तयार रहेको उल्लेख गरे। ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत विद्युत् आयात गर्न लागिएको हो । एनभिभिएनले प्रतियुनिट भारु ३.४४ (रु ५.५०) र प्रसारण लाइन प्रयोग, चुहावट शुल्क रु १.५३ गरी रु ७.०३४ मा विद्युत् उपलब्ध हुने छ । 
 
पावर ट्रान्समिसन कम्पनीले अन्तरदेशीय प्रसारण लाइनको निर्माण यही फागुन १ गते सम्पन्न गरेपछि भारतबाट थप विद्युत् आयात गर्न सहज भएको हो । ढल्केबरमा रहेको प्राधिकरणको क्षमता कम भएका कारण तत्काल थप विद्युत् आयात गर्न नसकिएको हो । अन्तरदेशीय प्रसारण लाइनको क्षमता ४४० केभीको भए पनि सबस्टेशनको क्षमता १३२ केभीको मात्रै भएकाले तत्काल ८० मेगावाट मात्रै विद्युत् आयात गर्न लागिएको हो ।
 
 प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले नेपाल र भारतबीच २०७१ कात्तिक ४ गते भएको विद्युत् व्यापार सम्झौताका आधारमा नै विद्युत् आयात गरिएको जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ