- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले बिपी कोइरालाले बनाएको पार्टीको विधानलाई समयअनुसार संशोधन गर्नका लागि यतिबेला सुझाव संकलन गरिरहेको छ । पूर्णबहादुर खड्का नेतृत्वको टिमले तयार पारेको मस्यौदामाथि अहिले प्रदेशभर नै सुझाव संकलन गर्ने क्रम चलिरहेको छ ।
व्यक्तिगत रुपले पनि नेताहरुले विधानबारे आफ्ना विचार राखिरहेका छन् । उक्त क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले तार्किक सुझाव पेश गरेका छन् ।
उनले पार्टीको विधान देश निर्माण र कानुनी पालनाका लागि महत्वपूर्ण हुने भन्दै ‘पार्टीहरु विधान सम्मत चलेनन् भने देश संविधान सम्मत चल्न सक्दैन’ भनेका छन् ।
‘पार्टीमा क्षमता अनुसार समान न्याय र अवसर दिन सकिएन भने सरकारको नेतृत्व गर्दा पनि जनतालाई समान अवसर र न्याय दिन सकिंदैन’ भन्दै ‘पार्टीहरुलार्इ सबल सक्षम नबनाइ सरकार चल्न सक्दैन र राष्ट्र पनि अगाडि बढ्न नसक्ने जनाएका छन् ।
काँग्रेस यसै रोगका कारण सानो भएको तीतो यथार्थ बताउँदै नेता भण्डारीले नेपाल सिमित व्यक्तिहरुको शिकार बनेको दृष्टान्तसमेत सुनाएका छन् ।
नेता भण्डारीले कांग्रेसलाई सबल र सक्षम बनाउनका लागि विधानमै विशेष ख्याल राख्नुपर्ने बताएका छन् ।
उनले काँग्रेसको विधानमा मुख्य गरी आठ वटा बुँदा राख्नुपर्नेमा जोड दिएका छन् ।
ती बुँदाहरु यस्ता छन् –
१, समानुपातिक प्रणाली अवसर हो धनी बाबु आमाले आफ्ना सन्तानलाई दिने दाइजो होइन । समानुपातिकको अवसर एकपटक भन्दा बढी कसैले पनि पाउनु हुँदैन । कसैले गर्यो भने लेनदेनको आधारमा गरिएको ठानी भ्रष्टाचार अभियोगमा कारवाई गरिनु पर्दछ ।
२, विधान पालना नगर्ने नेतृत्वलाई बीचमा नै निकाल्न सक्ने व्यवस्था हुनु पर्दछ ।
३, जुनसुकै पदमा रहेपनि नेताहरु तल्लो निकायबाट प्रतिनिधित्व हुँदै आउने व्यवस्था गरिनु पर्छ।
४, तल्लो निकायहरु अधिकार सम्पन्न बनाउने र केन्द्रको हस्तक्षेपलाई नियन्त्रण गर्ने ।
५, नेतालाई कमजोर बनाउने होइन विवेकशील बनाउँदै विधानतः छाडा, परिवार र पैसा मुखी हुने प्रवृत्तिबाट बचाउन विधानतः बाँध्नु पर्दछ ।
६, नेताहरुको सम्पत्ति पारदर्शी हुनु पर्ने व्यवस्था गरिनु पर्दछ ।
७, पार्टीको समीक्षा, अनुगमन , मुल्यांकन र दण्ड र पुरस्कारको पारदर्शी व्यवस्थापन ।
८, सामाजिक सदभाव भड्काउने र राष्ट्रविखण्डनमा लाग्नेहरुको सदस्यता खारेज ।
नेता भण्डारीले ‘कांग्रेस जस्तोसुकै शक्तिसंग लड्न सक्षम छ तर आफ्नै नेताबाट बचाउन अप्ठ्यारो परेको छ तसर्थ भागबण्डा, गुट, उपगुट, गिरोह , पदहरुको व्यापार, अविवेकशील निर्णय, विचार शुन्यहरुको बाहुल्यताका कारण नेपाली काँग्रेस इतिहासमा सबैभन्दा कमजोर भएको छ’ भनेका छन् ।
उनले काँग्रेसका नेता तथा कार्यकर्तालाई सम्वोधन गर्दै भनेका छन्, ‘नेतृत्व गर्ने व्यक्तिहरु धनी हुने र देश ,जनता र पार्टी गरिब हुने जुन परिपाटी नेपालमा विकास भएको छ अरु कुनै पनि देशमा यस्तो हुँदैन तसर्थ राम्रो र सक्षम पार्टीका लागी राम्रा विचार, ती विचारको नेतृत्व गर्ने राष्ट्रवादी सोच र समय अनुसारको विचारको नेतृत्व लिनसक्ने नेताका लागि नेपाली कांग्रेसको विधान निर्माणमा सतर्क बनौं ।’