arrow

निर्मला हत्याकाण्ड : नेकपाकै सांसद यसरी कड्किए संसदमा, नेपाल प्रहरी भङ्ग गर्न माग (पूर्ण पाठसहित) 

logo
प्रकाशित २०७५ असोज १० बुधबार
birod1.JPG

काठमाडौं । सत्ताधारी दल नेकपाका सांसद बिरोध खतिवडाले निर्मला हत्याकाण्डपछि देखिएका गतिविधिले आफुहरुलाई बाटोमा खुल्ला हिड्न लाज लाग्न थालिसकेको बताएका छन् । प्रतिनिधिसभामा बैठकको विशेष समयमा बोल्दै उनले निर्मला हत्याकाण्डपछि सरकार र प्रहरी प्रशासनले गरेका कामले आफुहरुलाई बाटो हिड्नै लाज लाग्न लागेको बताए । 

गृहमन्त्री रामबहादुर थापाले संसदमा दिएको जानकारीप्रति लक्षित गर्दै उनले आयोगको प्रतिवेदन आउन दिनुस् माननीय ज्यू भन्नुको अर्थ के हो ? भनी सोधे । उनले प्रश्न गर्दै भने, ‘हत्या बलात्कार, ज्यान मारा, डकैती सबैमा आयोग बनाउने अनि प्रतिवेदन आएपछि कहाँ को लुकेको छ भनेर खोज्दै हिँड्ने ? के तरिका हो यो ?’ 

उनले ‘आउँदा दिनमा कुनै पनि केसमा आयोग बनाउने टोली खटाउने प्रतिवेदन आउँछ पख्नुस माननीयज्यू भन्ने अनि प्रतिवेदन आएपछि बल्ल छानबिन गर्ने हो ? हरेक घटनामा आयोग बनाउने हो भने स्थायी राज्यको संयन्त्रलाई तलब खुवाएर किन राखेको ? मुख देखाएर हिँड्न लाज भइसक्यो ।’ उनले घुमाउरो ढंगले हरेक घटनामा आयोग बनाउने र प्रतिवेदन आएपछि छानविन गर्ने हो भने, नेपाल प्रहरी विघटन गरिदिए हुने तर्क गरे । यस्तै, क्रमैसँग उनले चार बुँदा प्रस्तुत गर्दा चिनीको मूल्य बजारमा देखिनसक्नु गरी बढेको प्रसंग पनि झिके । 

यस्तोछ, विरोध खतिवडाको सम्बोधन ? (पूर्णपाठ)
माननीय सभामुख ज्यू, बुँदा पनि चारै वटा छ , म एक एक मिनेट लिन्छु । पहिलाे, चिनि माफियाको विषयमा : उखु किसानको पैँसा भुक्तानी गर्ने नाममा १५ प्रतिशत भन्सारमा आयात हुने चिनीलाई अहिले ३० प्रतिशत भन्सार गराईयो । उहाँहरुकै माग अनुसार चिनि माफियाको माग अनुसार । ३० प्रतिशत भन्सारले पुगेन । पुरै रोक्नुपर्छ भनेपछि आयात नै रोकियो । प्रधानमन्त्री कार्यालयमा आज भन्दा १२–१५ दिन अगाडि उहाँहरुले तामा तुलसी छोएर ५४ रुपैँयामा आएको चिनी ६४ भन्दा बढीमा बेच्दैनौ भनेर प्रतिज्ञा गरेर निस्किनु भो । अहिले बजारमा चिनीको भाउ मैले विहान मेरो छेउ छाउको दोकानमा किन्दा ८५ रुपैँया गर्वका साथ घोषणा गर्दै हिँडेका छन्, दशैँ तिहारमा १०० रुपैँया लगाउँछौँ भनेर । यो निरिहता कस्को ? निरिहता मात्रै होइन सभामुख ज्यू चार्ससिटमा कुनकुन झिँगा लट्पटीएका छन् समय क्रममा खुल्दै जानेछ । 

दोस्रो, निजगढ विमानस्थल : डीपीआर तयार भएको छैन । अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ । डीपीआर तयार भएको छैन । लागत कति आउँछ थाहा छैन । रनवे कतिवटा बनाउने थाहा छैन । केही पनि अहिलेसम्म थाहा छैन र, कति पैँसा लाग्छ थाहा छैन । त्यो पैँसा कसले दिन्छ पनि थाहा छैन । एउटा मेलम्चि बनाउन हामिले ८–१० वटा दाताबाट पैँसा लिनु परेको थियो । विश्व बैँक, एडीबी, युरोपीयन युनियन, नर्बे लगायतका अनेक देशबाट । अहिलेको यो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पैँसा कल्ले दिने ? त्यो टुंगो भा छैन । सबै कुरो केही पनि टुंगो भा छैन । रुख चैँ काटिहाल्ने, बेचिहाल्ने । दौरा न सौराको खल्ती भनेको यही होला । रुख चैँ अहिले काटेर बेचिहाल्ने । अहिलेको आधुनिक युगमा सबैसँग सम्झौता गर्नुस् । दुई महिनामा ति सग्ला रुखहरु म हटाइदिन सक्छु । लाज भन्नु कुरो हुँदैन अलिकति, सरम भन्ने कुरो हुँदैन । दिनदहाडै डाँकागिरी ? यस कारण म खबरदारी गर्छु । सम्झौता अन्तिम टुंगो र लगानी कर्ताको टुंगो नहुन्जेल, डीपीआरको रिपोर्ट नआउन्जेल जल्ले त्यो रुखमा हात हाल्छ, त्यो हत्यारा ठहरिने छ । 

माननीय सभामुख ज्यू तेस्रो प्रसँग, निर्मला हत्याकाण्ड : यसमा धेरै प्रसंग उठ्यो । आयोगको प्रतिवेदन आउनु पर्छ रे ! हत्या, बलात्कार, ज्यान मार्ने कुरा । चोरी डकैती सबैमा आयोग बनाउने अनि प्रतिवेदन आएपछि कहाँ को लुक्याछ भनेर खोज्दै हिँड्ने । के तरिका हो यो । अब आउँदा दिनमा कुनै पनि केसमा पहिला आयोग बनाउने, टोली खटाउने, प्रतिवेदन आउँछ पख्नुस् माननीय ज्यूहरु भन्ने । अनि प्रतिवेदन आएपछि बल्ल छानविन सुरु गर्ने हो कि ? स्थायी रुपबाट राज्यको संयन्त्रले छानविन गर्ने हो । स्थायी राज्यको संयन्त्र तलब खुवाएर किन राखेको ? हरेक चिजमा आयोग बनाउनु पर्ने हो भने, तलब खुवाएर किन पालेको यसलाई विघटन गरौँ । हरेक घटनामा आयोग बनाऔँ । अनि त्यसपछि काम कारबाही अगाडि बढाऔँ । यो मुख देखाएर हिड्न लाज हुने स्थिति भइसक्यो माननीय सभामुख ज्यू । 

अब अन्तिम : प्रतिपक्षी सांसद ज्यूहरुले नेकपाको दुईटा अध्यक्ष भएकोमा बडो चिन्ता जाहेर गर्नु भा छ । दुईटा शेर एकै ठाउँमा कसरी बस्छ भनेर बडो चिन्ता व्यक्त गर्नु भा छ । विभिन्न लेखक, विद्वानहरुले पनि गर्नु भा छ । हाम्रो चिन्ता गरिदिएकोमा धन्यवाद दिन चाहन्छु । दुईटा शेरलाई हामी नेकपाभित्र आनन्दले व्यवस्थापन गर्न सक्छौँ । र, हामीसँग यो अनुभव पनि छ । र, यो संसदसँग त झन त्यो भन्दा बढी अनुभव छ । प्रमुख प्रतिपक्षी सांसदहरुले भनेजस्तो हामीसँग दुईटा शेर र उहाँहरुको आफ्नै दलको नेता एउटा शेर । तीनटा शेरलाई यहाँ तह लाएर राखेका छौँ । तीनटा शेर एकै ठाउँमा बस्न सक्छ भने दुईटा शेर नेकपामा किन बस्न नसक्ने माननीय ज्यू । समाभुख ज्यू धन्यवाद ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ