arrow

स्तन क्यान्सरबारेको जनचेतना महिना सुरु : वर्षेनी ५ हजार महिलामा स्तन क्यान्सर 

logo
प्रकाशित २०७५ असोज १५ सोमबार
BT-cancer.JPG

काठमाडौं । नेपालमा महिलामा हुने क्यान्सरमध्ये दोस्रो नम्बरको स्तन क्यान्सर किशोरीहरुमा समेत देख्न थालेको छ ।
किशोरीलाई पनि स्तन क्यान्सर देखिएकोले यसबारे सचेत हुनुुपर्ने स्तन क्यान्सर विशेषज्ञहरुले बताएका छन ।
सुरुमै पत्ता लगाउन सके स्तन क्यान्सर रोगबाट स्तन संगै ज्यान पनि  बचाउन सकिने स्तन क्यान्सर शल्यचिकित्सक  कपिन्द्रशेखर अमात्यले जानकारी दिए ।

नेपालमा स्तर क्यान्सर बढ्दै गएपनि शुरुमै पहिचान भएमा ९० प्रतिशत भन्दा बढीमा निको हुने गरेको छ । क्यान्सर मध्ये स्तन क्यान्सरबाट मर्ने विरामीको संख्या नेपालमा मात्र नभई विश्वमै घटदै गएको छ ।

नेपालमा वर्षेनी ५ हजार महिलामा स्तन क्यान्सर पहिचान हुने गरेको छ । नेपालमा विशेषगरी ४० देखि ५० वर्षका महिलाहरुमा क्यान्सर हुने गरेको डा. अमात्य बताए । विश्वका अन्य देशमा भने ५० वर्षमाथीका महिलाहरुमा क्यान्सर हुने गरेको छ । महिलामा हुने रोग भएपनि विश्वका एक प्रतिशत पुरुषमा पनि क्यान्सर हुने गरेको तथ्यांक छ । 

नेपालमा क्यान्सर रोगका कारण वर्षेनि १५ हजारको मृत्यु भइरहेको छ भने वार्षिक ४० हजार नयाँ बिरामी थपिने गरेका छन् । पुरुषमा सबैभन्दा बढी फोक्सोको क्यान्सर र  महिलामा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी हुन्छ भने त्यसपछि स्तन क्यान्सर हुने गरेको छ ।

क्यान्सरका विरामी वर्षेनि बढ्ने क्रममा यसको संख्या गएको ५ वर्षका अवधिमा दोब्बर भएको छ । भक्तपुर क्यान्सर अस्पतालका अनुसार सन २०१२ देखि सन २०१७ सम्मको अध्ययनका क्रममा क्यान्सरका विरामी दोब्बर भएको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अनुसार फोक्सोको क्यान्सर १३, पाठेघरको मुखको क्यान्सर १० प्रतिशत, स्तन क्यान्सर सात प्रतिशत, आमाशयको क्यान्सर छ प्रतिशत रहेको छ । 

महिलालाई १८ प्रतिशत पाठेघर, १५ प्रतिशत स्तनको क्यान्सर हुने गरेको छ । नेपालमा पुरुषभन्दा महिलालाई क्यान्सर रोग बढी देखापर्ने गरेको चितवनको भरतपुर क्यान्सर अस्पतालले गरेको अध्ययनले देखाएको छ ।

स्तन क्यान्सर सम्बन्धि जनचेतना महिना सुरु

स्तन क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले अक्टोबर १ देखि स्तन क्यान्सर सम्बन्धि जनचेतना महिना सुरु भएको छ  । हम्रो घरका आमा दिदीबहिनीहरुलाई स्तन क्यान्सर मुक्त दशै दिऔं भन्ने नाराका साथ स्तन क्यान्सर जनचेतना महिना सुरु भएको छ  ।

नेपाल क्यान्सर अस्पतालले यसपालीका दशै महिला दिदीबहिनीलाई स्तन क्यान्सरबाट मुक्त गर्नका लागि समयमै पहिचान गरी उपचार सुरु गर्न जनचेतनामुलक अभियान सुरु गरीएको क्यान्सर शल्य चिकित्सक  कपिन्द्र शेखर अमात्यले जानकारी दिएका छन् । 

विश्वभर अक्टोबर महिनालाई स्तन क्यान्सर जनचेतना महिनाका रुपमा मनाउने क्रममा यस सम्बिन्धि सेवा दिइरहेका अस्पतालहरुले विभिन्न सेवामा छुट सहितमा कार्यक्रम सुरु गरेका छन्  ।

नेपाल व्रेष्ट क्यान्सर फाउण्डेसनकी मेडिकल डाइरेक्टर तथा विर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईले ‘स्तन क्यान्सर सुरुमै पत्तालगाउन’ जनचेतना महिना मनाइएको बताए ।

नेपाल अर्वुद रोग निवारण संस्थाले अक्टोबर महिनाभरि स्तन क्यान्सरबारे जनचेतना अभियान सन्चालन गर्ने भएको छ ।
संस्थाले महिलाहरुमा स्तन क्यान्सरको समस्या बढ्दै गएकाले अक्टोबर महिनाभरी चेतनामूलक कार्यक्रम सन्चालन गर्न लागेको जानकारी दिएको हो ।

नेपाल अर्वुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले नेपालमा महिलामा हुने स्तन क्यान्सरको समस्यालाई रोकथाम गर्नु नै आजको मुख्य चुनौती भएको बताए ।

फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा स्तन क्यान्सर देखिएको र समयमै पहिचान हुनसकेमा पूर्णरुपमा निको हुने भएकाले समयमै अस्पतालमा पुग्नुपर्ने चिकित्सकको सुझाव छ । यो अभियान अवधिभर संस्थाले निःशुल्करुपमा स्तन क्यान्सरको परीक्षण पनि गरिने जनाएको छ ।

क्यान्सरको जोखिममा को त ? 
शिशुलाई स्तनपान नगराउने महिलाहरुमा स्तन क्यान्सरको सम्भावना उच्च हुने गर्दछ । त्यस्तै, डिम्बाशयबाट निस्कने हर्मोनका कारण पनि स्तन क्यान्सर हुनसक्छ । वंशाणुगत कारणबाट आमा, दिदी, बहिनी, छोरी वा नजिकका नातेदारहरूमा स्तन क्यान्सर भएमा । ३० वर्षपछि बच्चा जन्माउने महिलाहरूमा । बच्चा नजन्माएका महिलाहरूमा । स्तनपान नगराउने महिलाहरूमा । स्तनमा पहिलेदेखि नै गा“ठागु“ठी वा पुराना समस्या भएमा । पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलाहरूमा । चिल्लो र बोसोयुक्त खाना बढी खाएमा ।

स्तनको क्यान्सरमा देखिने चिन्ह र लक्षण के हुन त ?
स्तनमा दुख्ने वा नदुख्ने  गिर्खा वा गोलीगाँठो फेला पर्नु । स्तनको आकारमा परिवर्तन आउनु । स्तनबाट रगत वा पिप मिसिएको दूध आउनु । स्तनको छालाको रङ परिवर्तन हुनु ।  स्तनमा रातो डाबर आउनु ,चिलाउनु ,स्तनको मुन्टो भित्र गाडिनु । स्तनमा भएको घांउ लामो समयसम्म निको नहुनु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ