arrow

प्राथमिक उपचार बिधि सिकाउदै युएईका प्रवासी नेपालीहरु

logo
सीता डोटेल,
प्रकाशित २०७५ असोज १७ बुधबार
prathamik.jpg

पाल्पा (रामपुर) । पहाडी र गाउँ नै गाउँले भरिएको हाम्रो देश नेपालमा अझै पनि स्वास्थ्य सेवा सर्बसाधरण नेपालीको पहुँचमा पुग्न सकेको छैन । आधारभूत स्वास्थ्य सेवा ज्ञान र चेतनाको कमी प्राथमिक उपचारको अज्ञानताका कारण हजारौं नेपालीले बर्षेनि अकालमा ज्यान गुमाउनुपरेको तितो यथार्थलाई मध्यनजर गर्दै रोजगारका लागि युएईमा गएका नेपालीले आफ्नो कमाईबाट थोरैधेरै बचेको रकमले नेपालका गाउँगाउँमा निशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गर्दै आएका छन्।

स्वास्थ्य संस्था पहुँचमा नहुनु, बिषयबिज्ञ स्वास्थ्यकर्मी गाउँ–गाउँमा जान नमान्नु र अस्पताल पुर्‍याउनु अघि विरामीको जीवन लम्ब्याउन र तत्काल उपचार गर्न सम्भव नभएको खण्डमा गरिने प्राथमिक स्वास्थ्य उपचार र बिपत्तिमा कसरी मानिसलाई बचाउने भन्ने बिषयमा नेपाली युवाहरुले प्राथमिक उपचारका बिधि सिकाएका हुन्।

युएईमा रोजगारका लागि पुगेका चितवनका ओम उप्रेतीले त्यहाँबाट पैसा मात्र भित्र्‍याउने  होइन आफुले सिकेको ज्ञान, सीप र जीवन जिउने कलामा प्राथमिक उपचार तालिम नेपालमा लगेर आम नागरिकलाई सिकाउने अठोट लिएकोमा युएईमा कार्यरत नेपालीहरुले उनीहरुलाई साथ दिएपछि नेपालका बिभिन्न जिल्लाका बिकट क्षेत्रमा प्राथमिक उपचार तालिम सम्भव भएको हो।

पाल्पाली समाज युएईले उनको यो अभियानमा हिस्सेदार बन्दै जिल्लामा बिभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरि तालिम जिल्लामा सञ्चालन गर्न सफल भएको हो । पाल्पाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्यालले भने–एक व्यक्तिले आफुले सिकेको ज्ञान र अत्यावश्यक ज्ञान छर्न गरेको प्रयासमा हामीले होत्सेमा हैसे मात्र गरेका हौ। आफ्नो व्यक्तिगत लगानीमा नेपालका हजारौं नागरिकलाई प्राथमिक उपचार तालिम दिन नेपाल फर्केका उपे्रतीको कार्य स्रहानिय छ अर्यालले भने–यसलाई सार्थक बनाउन पाल्पामा हामीले सहकार्य गरेका हौ।

यो तालिम नेपालमा उनको दोस्रो चरणको तालिम हो। यसअघि गत चैतमा उनले ८ जिल्लामा पहिलो चरणको तालिम सम्पन्न गरिसकेका छन्। दोस्रो चरणमा पाल्पा सहित स्याङ्गजा, गुल्मी, रुपन्देही, सर्लाही, सुनसरी, मोरङ्ग, र असोज २२ गते झापामा पुगेर दोस्रो चरणको कार्यक्रम सकिने डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई तथा डिस्कभरी रोयल पोस्र्ट्स प्रालि नेपालका प्रबन्ध निर्देशक तथा मुख्य प्रशिक्षक ओम उप्रेतीले बताए। रोजगारीको सिलसिलामा सिकेका ज्ञान र आफुले बिपत्तिमा बचाएको अनुभवपछि उनले विदेशमा यसलाई व्यबसायका रुपमा प्रशिक्षण दिदै आएका थिए । ‘‘ज्ञान र सीप जति बाड्यो त्यति राम्रो’’ हुने मातापिताबाटै नै ज्ञान पाएको बताउने उप्रेतीले प्राथमिक उपचारको अभावका कारण अकालमा मर्न लागेका धेरैलाई बचाएको अनुभव नेपालमा प्रयोगमा ल्याउन प्रशिक्षण चलाएको बताए । चितवनका उप्रेतीले पहिलो चरणमा चितवन, तनहुँ, कास्की, दोलखा, सिन्धुपाल्चोक, काभे्र र काठमाडौंमा तालिम चलाएका थिए ।
 
तालिममा अचानक हुने हर्टअटयाक, फेन्ट हुने, रक्तश्राव, घाउ सफा कसरी गर्ने, आत्महत्या, सर्पले टोकेको, पोलेको अबस्थामा कसरी तत्काल उपचार गरि अस्पतालसम्म ल्याइपुर्‍याउन सकिन्छ भन्ने बिषयमा विविध १५ वटा जटिल अबस्थाका बिरामीलाई बचाउने तरिका सिकाइन्छ । तालिममा १८ देखि ५० बर्ष उमेर समुहका नागरिक, कलेजका बिद्यार्थी, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना सहित जनप्रतिनिधि र उच्च तहका कर्मचारी सहभागी हुन्छन् । पाल्पाको सुन्दर नगरी रामपुरमा भएको तालिममा नगरका १० वडाका ५० जना बिद्यालयका शिक्षक बिद्यार्थी ३० जना सहित नेपाल प्रहरी, नेपाली सेना, उद्योग वाणिज्य संघ, लायन्स क्लब, स्वास्थ्य पढ्दै गरेका बिद्यार्थी, युवा क्लब तथा स्थानीय महिला समुह, पत्रकार गरि १ सय ६० जनाको सहभागिता रहेको थियो। सहभागी उमेर समुह र लक्षित व्यक्ति १ स २५ जनालाई आईएसओ मान्यता प्राप्त प्राथमिक उपचार तालिमको प्रमाणपत्र प्रदान गरिएको छ।

उनीहरुले गाउँ ठाउँमा आपतकालिन समयमा प्राथमिक उपचार दिन सक्ने गरि तालिम दिइएको हो। तालिमले समान्य नागरिकदेखि डाक्टरसम्मलाई फाइदा जनक भएको लुम्बिनी मेडिकल कलेजमा पढ्दै गरेका सहभागी छबि पौडेलले बताए। टाउको काटेको वा चोटपटक लागेकोलाई हाम्रोमा बेडमा सुताएर उपचार गर्‍थ्र्यौ तर टाउकोमा काटेकोलाई कुर्सीमा राखेर ठाडो बनाएर उपचार गर्ने होइछ भन्ने बिल्कुलै नयाँ जाने–सहभागी दुर्गा पाण्डेले भनिन् । घाटीमा अड्केको बेला पछाडि घेक्र्रोमा हानेको जानेको हो तर पछाडि पिठ्युमा धक्का दिने होइछ स्थानीय पवित्रा ढकाल पौडेलले भनिन् । सुन्दा समान्य लाग्ने तर आफ्नै गर्दा बल्ल सिकाई अनुभव भएको बताउने उनीहरु जस्तै धेरै छन्।

एक व्यक्तिले शुरु गरेको अभियानमा अहिले नेपालका सयौं संस्थाले साथ दिएर देशका दर्जन बढी जिल्लामा तालिम चलिरहेको छ । बिशेष गरि युएईमा व्यवसाय गर्दै आएका ओम उप्रेतीलाई युएईमा हुने नेपाली संस्थाहरुले जिल्लामा हुने कार्यक्रमको जिम्मा लिएका छन् । पाल्पाली समाज, स्याङ्गजाली समाज, रुपन्देही समाज लगायत सोही जिल्लाका समाजले यस कार्यक्रममा जिल्लामा स्थानीय तह र अन्य संस्थासँग समन्वय गरि उप्रेतीलाई बिभिन्न तवरले साथ दिदै आम नागरिकसम्म प्राथमिक उपचार तालिम सिकाउदै आइएको हो।

अध्ययन गर्दागर्दै ८ बर्षको उमेरमा कमाउन भनी घर छोडेका उप्रेती १७ बर्षको उमेरमा बैदेशिक रोजगारीमा होमिएका थिए। आवारी होटेलको स्वमिङ पुलमा लाइफ गार्डबाट शुरु भएको जीवन जिउने चुनौतीमा उनले ग्राण्ड मिलेनियम होटेलमा रिक्रेसन हेल्थ क्लबको सुपरभाइजरको रुपमा काम गरे। पछि स्वमिङ्ग पुलको म्यानेजर भएका उनी संयुक्त राज्य अमेरिकाबाट वाटर रेस्क्यु स्विमिङ प्रशिक्षकको तालिम लिने अबसर पाए । त्यस्तै लण्डनको लिभरपुल वाटर रेस्क्यु सम्बन्धी अन्तराष्ट्रिय ट्रेनरको १ महिने तालिम पुरा गरे।

प्राथमिक उपचार सम्बन्धी अन्तराष्ट्रिय मान्यता प्राप्त हाइफिल युकेबाट सम्बन्धन प्राप्त केन्द्रबाट १ महिने प्रभावकारी तथा जिवनोपयोगी तालिम लिएर अनुभव बटुलेका उनले दुवईमा कम्पनी खोलेर लाइफ गार्डलाई तालिम दिदै आएका छन् । उनले दुवईमा मात्र नभई आफ्नै देशका नागरिकमा प्राथमिक उपचार तालिम दिने हेतुले जिल्ला जिल्लामा तालिमको आयोजना गरि देशव्यापी अभियानमा जुटेको बताए । केही महिना भित्रै तेस्रो चरणको तालिम घोषणा गर्ने उनको लक्ष्य छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ