arrow

राष्ट्रिय एकताबाट मात्र ‘सुशिल दा' प्रति सच्चा श्रद्धाञ्जली :महामन्त्री सिटौला

कुनै एउटा दल वा नेताले मात्र नेपाल बनाउन सक्दैन

logo
सुशिला संग्रौला,
प्रकाशित २०७२ फागुन ९ आइतबार
krishna-prasad-sitoula.jpg.jpeg
बिर्तामोड। नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय एकताबाट मात्र संविधानका पिता सुशिल काइरालाकाप्रति सच्चा श्रद्धाञ्जली ठहर्ने बताउनुभएको छ। 
 
स्वर्गीय कोइरालाको १३औं दिनको पुण्यतिथिमा झापाको पवित्र कनकाई नदीमा आयोजित अस्तु कलश विसर्जन तथा श्रद्धाञ्जलीसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महामन्त्री सिटौलाले सबैलाई मिलाएर संविधान निर्माण गर्ने कोइराला राष्ट्रिय एकताका प्रतिक रहनुभएको भनाई राख्नुभयो। 
 
सबै मिलेर मात्र देश विकासको गतिलाई अघि बढाउन सक्ने बताउँदै नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका सिटौलाले भन्नुभयो–‘कुनै एउटा दल वा नेताले मात्र नेपाल बनाउन सक्दैन, सबैले सबैको अस्तित्व र पहिचानको सम्मान गरेर अघि बढे मात्र देश बन्न सक्छ।’
 
सादा जीवन र उच्च विचारका धनी कोइराला निष्ठासहितको राजनीतिका लागि प्रेरणाको श्रोत रहनुभएको बताउँदै महामन्त्री सिटौलाले भन्नुभयो– ‘आफ्नो निष्ठा र आदर्शमा निरन्तर क्रियाशील ‘सुशिल दा’ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरी जनतालाई लोकतान्त्रिक संविधान दिएर आफ्नो कर्तव्य र अभिभारा पुरा गर्नु भएको छ।’
 
आफूलाई प्राप्त हुन लागेको महत्वपूर्ण पद भन्दा आफ्नै नेतृत्वमा बनेको संविधानप्रति सबैको अपनत्व होस् भनेर संविधान संशोधनमार्फत मधेशका मुद्दा संवोधनका निमित्त सुशिल कोइरालाले अग्रसरता लिनुभएको बताउँदै सिटौलाले भन्नुभयो–‘जीवनभर निष्ठा र आदर्शको राजनीति गर्ने मानिस मरेर पनि जनताको मनभित्र बाँचिरहने छन्।’
 
नेकपा मालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री खगेन्द्र प्रसाईंले शालिन व्यक्तित्वका धनी सुशिल कोइराला आस्थाका अटल हिमाल रहनुभएको विचार व्यक्त गर्नुभयो। 
 
नेकपा एमालेका सांसद हरि राजवंशीले एकता र मेलमिलापका प्रतिक कोइरालाले संविधान निर्माणमा पुर्‍याएको अतुलनीय योगदानलाई नेपाली जनताले कहिल्यै विर्सन नसक्ने भनाई राख्नुभयो। 
 
एकनेपा माओवादीका उपाध्यक्ष राजु आचार्य अग्निले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याई संविधान निर्माण गर्ने कार्यमा कोइरालाले अभिभावकीय भूमिका निर्वाह गर्नुभएको बताउनुभयो। 
 
नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फेले श्रद्धाञ्जली पत्र वाचन गर्नुभएको कार्यक्रममा कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा, ४ नम्बर क्षेत्रीय सभापति भीम राजवंशी, नेमाल महिला संघ झापाका अध्यक्ष सुशिला ढकाल लगायतले कोइरालाप्रति श्रद्धासमुन अर्पण गर्नुभएको थियो। 
 
महासमिति सदस्य दिपक तामाङले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कोषाध्यक्ष केशवराज पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ