दोलखा । नेपाली काँग्रेस दोलखाको सभापतिको चुनावको दोस्रो चरणको प्रतिस्पर्धामा रुद्र बहादुर खड्काले निकटतम प्रतिष्पर्धी ईश्वर मानन्धरलाई पछाडी पार्दै निर्वाचित भएका छन्। पहिलो चरणको प्रतिस्पर्धामा कुनै पनि उमेद्वारले स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो। साँझ सकिएको मतगणनाको अन्तिम नतिजा अनुसार रुद्रबहादुर खड्काले ३५६ र इश्वर मान्धरले २३३ मत प्राप्त गरेको स्थानिय पत्रकार रविन्द्र गौतमले जनाएका छन्। १७ मत बदर भएको छ। कुल ६ सय ६ मत खसेको थियो।
शनिवार भएको पहिलो चरणको निर्वाचन पछि भएको मतगणनामा रुद्र बहादुर खड्का र ईश्वर मानन्धबीच प्रतिस्पर्धा भएको थियो । अरु दुई उमेद्वारहरु कुन्दन काफ्ले र वर्मा लामाले पनि प्रतिष्पर्धामा कडा रुपमा आफूलाई उभ्याएका थिए। तर दोस्रो चरणमा भने उनीहरु जान सफल भएनन् । खड्का अर्जुननरसिंह केसी निकट हुन् । उनलाई देउवा समुहका स्थानिय नेता जिपछिरिङ लामाले सहयोग गरेका थिए । ईश्वर मानन्धर महामन्त्री प्रकाशमानसिंह र बालकृष्ण खाँड निकट हुन् । काफ्ले महामन्त्री कृष्ण सिटौला निकट हुन् । लामा भने खुम बहादुर खड्का र सुजाता कोइराला निकट मानिन्छन् ।
फागुन ९ गते दिवंगत पार्टी सभापति शुसिल कोइरालाको अस्तु सेलाउने र श्रद्धाञ्जली कार्यक्रम गरेपछि दोस्रो चरणको निर्वाचन आइतवार नै भएको हो । शनिवार राती अबेर प्राप्त मतगणना अनुसार रुद्र बहादुर खड्काले २३३ मत हासिल गरे । ईश्वर मान्नधरले १६६, कुन्दनराज काफ्लेले १४२ र बर्मा लामाले ६९ मत पाएका छन् । पहिलो चरणमा कसैले बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको चुनाव भएको हो । सचिवमा सन्तोष रिमालले ३६८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी रामेश्वर उप्रेतीले २१८ मत ल्याएका छन् । कोषाध्यक्षमा कृष्ण केसीले २२१ मत ल्याएर विजयी भएका छन्। सन्तोष मैनालीले १६५ मत ल्याए भने विराजमान श्रेष्ठले १७४ मत ल्याए ।