काठमाडौँ। सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा एकीकृत नेकपा(माओवादी)का नेताहरुले जोड दिएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकमा धारणा राख्ने क्रममा सो पार्टीका नेताहरुले जनअपेक्षाअनुसार सरकारको कामकारबाही अगाडि बढ्न नसकेकामा आपत्ति जनाएका हुन् ।
संविधानसभाबाट संविधान घोषणा भएपछि गठन भएको वर्तमान सरकारले ऐतिहासिक र महत्वपूर्ण काम गर्नुपर्नेमा त्यसो हुन नसकेको र परम्परागत तवरले मात्रै सरकार चलेको भन्दै तत्काल कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिइएको थियो ।
यस्तै मुलुकका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता नयाँ शक्तिमा जाने क्रम बढेको भन्दै त्यसलाई कसरी रोक्ने भन्नेमा समेत छलफल भएको थियो। त्यस्तै पार्टीको सङ्गठन सुदृढीकरण, जनवर्गीय सङ्गठनको परिचालन एवम् सङ्गठन सुदृढीकरणका विषयमा समेत छलफल भएको सो पार्टीले जनाएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव कृष्णबहादुर महराले आजको बैठकमा स्थायी समितिका सदस्यले आ–आफ्नो धारणा राखेको बताए। उनले बैठकमा सरकारको कामकारबाही, मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भए पनि आज कुनै निर्णय नभएको जानकारी दिनुभयो । बैठक सोमबार बिहान ८ बजे पुनः बस्नेछ । रासस