२५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या : ५ हजार बढी नेपालीको मृत्यु आत्महत्याबाट
प्रकाशित २०७५ असोज २४ बुधबार
774
Shares
काठमाडौं । मानसिक स्वास्थ्यका लागि मर्यादा भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदैछ ।
विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टोबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ ।
मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भए गरेका उपलब्धी, समस्या एवं चुनौतीका विषयमा छलफल गर्न, मानसिक रोगीको मानव अधिकारको विषयमा वकालत गर्ने जस्ता विविध उद्देश्यका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइने गरेको छ ।
नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको छ । सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दो उपचार सेवा समेत पाउन सकेका छैनन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा करिब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग छ ।
बार्षिक ५ हजार बढी नेपालीको मृत्यु आत्महत्याबाट हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । त्यसमध्ये ९० प्रतिशत मृत्यु आत्महत्याका कारण र आत्महत्या गर्नेमध्ये ८० प्रतिशतको मृत्यु उदासिनताका कारण हुने गरेको बताइएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवसको अबसरमा डा बासुदेव कार्कीले पछिल्लो तथ्यांक प्रस्तुत गर्दै हरेक बर्ष ५ हजार बढीको मृत्यु आत्महत्याबाट हुने गरेको बताए । उनले मानसिक स्वास्थ्य समस्या दिनानुदिन बढदै गएको भन्दै साना व्यक्तिमा हरेक ५ मा एक र ठुलो व्यक्ति हरेक ४ मा एक जना मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिरहेको बताए ।
मानसिक स्वास्थ्यका लागि सरकारले मुस्किलले एक प्रतिशत बजेट छुट्याउने गरेको तर बालबालिकाको मानसिक रोग नियन्त्रणका लागि बजेटको व्यवस्था नभएकोमा चिकित्सकहरुले दुखेसो पोखेका छन । यसैबिच, स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले सरकारले २५ सैय्यासम्मका अस्पतालमा मानसिक रोग विशेषज्ञ पठाउने तयारी गरेको बताए ।
प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले मानसिक स्वास्थ्यको समस्या क्रस कटिङ इस्यू रहेको भन्दै यसमा सामाजिक, आर्थिक, बाताबरणीय आदि पक्षको समेत असर पर्ने बताए । नेपालमा अहिलेसम्म केन्द्रमा एउटा ५० बेडको केन्द्रीय मानसिक अस्पताल मात्र रहेकोले चिकित्सकहरुले यस्ता अस्पताल प्रत्येक प्रदेशमा हुनुपर्ने बताएका छन ।
मानसिक समस्याप्रति हाम्रो समाजको दृष्टिकोण सकारात्मक हुन नसकेको तथा विभिन्न गलत धारणा एवं अन्धविश्वास विद्यमान रहेको अवस्थामा नेपालमा यो दिवसको सान्दर्भिकता ठूलो छ । विश्वभरमा नै मानसिक समस्या एउटा ठूलो चुनौतिको रुपमा देखा परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट पिडित हुने गरेको अनुमान छ ।
यी रोगीहरुमध्ये २२ करोड उपचारबाट बञ्चित हुनु परेको छ । नेपालमा पनि ५० लाख भन्दा बढी नेपालीहरु कुनै न कुनै किसिमको मानसिक समस्याबाट प्रभावित भएको अनुमान गरिएको छ । नेपालमा भने ५ जना रोगीमध्ये ४ जनाले त उपचार नै नपाएको यसबारे जानकारहरु बताउछन् ।
मानसिक रोगीलाई अपहेलना गर्ने, उपचार नगराउने, बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम, जिम्मेवारी तथा अधिकारबाट बञ्चित गराउने, भूत प्रेत वा बोक्सी लाग्यो भनेर र्दुव्यवहार गर्ने गरिएको पाइन्छ ।