arrow

भो मलाई सरकारी जागीर खानु छैन

logo
राजेन्द्र खनाल
प्रकाशित २०७५ असोज २५ बिहिबार
rajendra-khanal.jpg

शताब्दी लामो विकासको नकारात्मक वृद्धिको परिणाम तथ्याङकमा निरपेक्ष गरीवीको मात्रा न्युन देखाइए पनि सापेक्षित रुपमा हामी झन् झन् गरीव हुँदै जादैछौं । सवृद्ध र सवृद्ध कोसिस राष्ट्रसँग हाम्रो जीवनस्तरको अन्तर घट्नु पर्नेमा बढ्दो छ । 

देशमा औद्योगिक उत्पादन नगन्य छ । ट्रेडिङ हब बन्ने सम्भावना नै छैन ।  उपभोगमुखी व्यापारमा पनि नोकरशाही दलाली पूँजीवादी प्रवृत्तिको विकास भई  अल्पकालीन नाफाखोरहरु हावी भई व्यापार घाटा बढाई नेपाली जनतालाई ऋणको भार बोकाई झन् भन्दा झन् गरीव बनाइरहेको स्थिति विद्यमान छ । 

उत्पादनमुखी दीर्घकालीन राज्यको नीति नहुँदा रोजगारीका अवसरहरु बन्द हँुदा देशमा वेरोजगार जनसंख्या अकल्पनीय दरमा बढ्दो छ । राज्यले रोजगारी सृजना गर्ने नारा भन्दा पनि बेरोजगार भए भत्ता दिने नारालाई आफ्नो लोकप्रिय उदेश्य ठान्दछ परिणामत आज साठी लाख भन्दा बढी नेपाली विदेशी भूमि सिंचित गर्दैछन् । अप्राविधिक एवं अव्यवहारिक शिक्षा नीति तथा पठन पाठनका कारण शैक्षिक वेरोजगारी स्थिति विकराल बन्दैछ यहाँ । पढेर पनि रोजगारी नहुँदा वौद्धिक हिंसा देखिन थालेका छन् समाजमा । 

पढाइको मुल्य घट्दा बढ्दो भौतिक सुविधाप्रतिको बढ्दो अपेक्षा, आकांक्षाले  पारिवारीक एवं सामाजिक विचलन  पैदा हुने क्रम देखिन्छ जसले अन्तत्वगत्वा राष्ट्रिय स्वाभीमान र राष्ट्रियताप्रतिको नागरिक भक्ति भावनामा नै खलल पुग्ने स्थिति बन्न सक्छ ।
यस्तो रोजगारीताहीनको अवस्थामा सरकारी जागीर, पढिएकाहरुका लागि विकल्प देखिन्छ । सीमित कोटामा रहेका त्यस्ता सरकारी पदहरुमा असीमित आवेदनहरु पर्दा नगन्य व्यक्तिका लागि मात्र जागीरको अवसर मिल्दछ । पैतिसांै बसन्तसम्म जागीरको लागि प्रयास गर्दा गर्दै उर्जाशील समय त्यसै सकिन्छ । अन्य अवसरका ढोकाहरु पनि उमेर हदका कारण समाप्त हुँदै जान्छन््, यो सामाजिक असन्तुलनको कारण बन्न सक्छ । 

आज रोजगारीका लागि अन्य क्षेत्रहरु राज्यले सृजना गर्न नसक्दा लामो युवा पंक्ति सरकारको नोकर हुन लालयीत हुँदै गर्दा म तमाम युवा साथीहरुलाई विकल्प रोज्न अनुरोध गर्दछु । 

तपाई हामी दुई चार वटा कुर्सी सरकारले देखाउँदा मक्ख नपरौं ती भन्दा चिल्ला आफ्नै पौरखले किनेका कुर्सीमा बस्नुको मजा नै बेग्लै हुन्छ सायद । निजी क्षत्रमा पनि कम बेतिथि र चुनौती छैन छनलाई । तर पनि भ्रष्ट सरकारी नोकर हुनु भन्दा त राम्रै होला । 

हुनत मलाई पनि साथीभाईहरुले आफू नाम निकाल्न सक्दैन अनि भट्याउँदै हिड्छ भन्ने आरोप लगाउँछन् । एक अर्थमा त्यो सही पनि हो । एकाध प्रयास नगरेको पनि हैन ।

तर सरकारको लागि योग्य कहलिएन । जे भो राम्रै भो । परिपक्क नभएको मनले सरकारी जागीर नखाने निर्णय गरेर पछुतो छैन । लाग्छ मैले मातृभूमित चुस्नु पर्ने छैन । राज्यलाई खाएर अर्जिण भएर मर्नु पर्ने छैन । 
देख्छु सरकारी सेवकहरु कनिष्ठदेखि गनिष्ठसम्म सबै खानमै लिप्त छन् । मानौ कि उनीहरु त्यहाँ उनीहरुको काम सेवा आर्जन होइन ढेवा आर्जन हो । जनताको काममा जनताबाटै असुलेको छ । त्यतिले नपुगेर राज्यकोषबाटै असुलेको छ । 

कर बढाइबढाई हसुरेको छ । के हो यो सव ? एक आर्थिक वर्षमा दशौं खर्व बजेट निकासा हुन्छ कहाँ जान्छ त्यो सब ? आँकडा ले जे देखाए पनि विकास वृद्धिदर एक प्रतिशत नि हुन सकेको छैन । को उत्तरदायी हुने, को जवाफदेही हुने केही थाहा छैन । 

अन्य निकाय त कुरै छोडौ न्याय दिन बसेका न्याय मुर्ति एवं न्याय सम्पादनका हिमायती भनिएकाहरुबाटै चरम आर्थिक अन्याय सुनिन्छ देखिन्छ । यी सबै आफ्नै आँखाले देख्दा सरकारी नोकर नभएको÷हुन नसकेकोमा गर्व लाग्छ । 

यही र यस्तै सोच विचार प्रवृत्ति र व्यवहार रहे म त के मेरो तीन पुस्तालाई सरकारी नोकरी नगर्न उत्प्रेरित गर्नेछु । जनताको सेवा गर्ने सपथ खाएर नोकरी प्रवेश गरेका राष्ट्र सेवकको पहिलो जिम्मेवारी राष्ट्र सेवा नै हो । सेवा भन्दा पर सोच्नु नै सरकारी कर्मचारीको लागि अपराध हो । 

निजामति सेवा ऐन तथा अन्य सम्बन्धित ऐनहरुले नै के गर्न हुने, के गर्न नहुने, उत्तरदायित्व के हो आदि स्पष्ट व्यवस्था गरेको छ । यी र यस्तै खालका कानुनहरु अनादेख गरी जे मन लाग्छ त्यही गरिन्छ यहाँ । 
निजामति सेवा ऐन २०४९ को दफा ४१ ले कर्मचारीले नेपाल सरकारबाट निर्धारित समयमा नियमित रुपले कार्यलयमा हाजिर हुनु पर्ने व्यवस्था गरेको छ तर देशको अधोगतीको मुख्य कारण नै न्यून कार्य घण्टा हो । 

दैनिक औसत ४ घण्टा काम हुन मुस्किल छ यहाँ । त्यस्तै दफा ४३, ४४ मा राजनैतिक प्रभाव पार्न नहुने, राजनितिमा भाग लिन नहुने भन्ने व्यवस्था रहेकोमा राजनीतिक दलका कोही इमान्दार एवं सहयोगी कार्यकर्ता छन् भने कर्मचारी नै हुन् । 

दफा ४७ मा दान, उपहार, चन्दा कुनै पनि रुपमा लिन नपाईने वाध्यकारी व्यवस्था छ तर नागरिकको गोजी हात हालेरै छाम्ने प्रवृत्ति बढ्दो छ । एक जना कर्मचारीले सरकारले तलब दिन्छ दिँदैन मलाई थाहा नभएको ५ वर्ष भइसक्यो भनेर मसँग खुशी साटेका थिए । यो हो यहाँको चरित्र । सबै लिप्त छन् भ्रष्टाचारमा । 

भ्रष्ट हुनु संस्कार बनिसक्यो । सरकारी जागीरेलाई ज्वाई बुहारी बनाउन लालयीत हुँदैछ समाज । कारण अर्थोपार्जन सहज बन्दैछ सरकारी जागीरमा । जनताले पाई पाई गरी आर्जन गरी बुझाएको रकमबाट ढाडिएकाहरुलाई नै सम्मान दिन्छौ हामीहरु । यस्तो प्रवृत्ति त्याग्नु पर्दछ । भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गर्नु पर्नेमा उल्टै पुरस्कृत गर्दै राज्य सत्ता र सदर गर्दैछ न्यायालय । (लेखक अधिवक्ता हुन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ