arrow

सुक्खा क्षेत्रलाई राहत प्याकेज

logo
जितेन भण्डारी
प्रकाशित २०७५ असोज २६ शुक्रबार
pradesh11.jpg

पाँचथर । सुक्खा क्षेत्रलाई प्रदेश–१ सरकारले राहत प्याकेज दिने भएको छ । प्रदेश–१ सरकारले पाँचथरको कुम्मायक र तुम्बेवा गाँउपालिका तथा तेह्रथुमको छथर र धनकुटाको चौबीसकोट गाउँपालिकाका खडेरी प्रभावित कृषकहरूका लागि राहतको प्याकेज दिने घोषणा गरेको छ ।

प्रदेशका अर्थमन्त्री इन्द्रबहादुर आङ्वो मौसम, सहितको विज्ञटोलीले महिना दिनअघि अनुगमन गरी प्रतिवेदन बनाएको थियो । प्रदेश–१ को मन्त्रिपरिषद्को बैठकले सुक्खाग्रस्त क्षेत्रमा खडेरीका कारण उत्पन्न समस्याबारे राहत प्याकेज तय गरेको हो ।

अनुगमन टोलीले तयार गरेको प्रतिवेदन स्वीकार गर्दै स्थानीय प्रभावित कृषकहरूलाई अल्पकालीन रूपमा राहत दिने घोषणा गरेको हो । प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्रका प्रभावित स्थानीयलाई दीर्घकालीन रूपमा सहयोग प्रदान गर्ने योजनासमेत निर्माण गरेको प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

प्रदेश–१ को मन्त्रिपरिषद्को बैठकले सुक्खा र खडेरीका कारण बालीनालीमा पूर्णरूपमा क्षति भएका परिवारलाई प्रतिपरिवार ७ हजार ५ सयका दरले राहत दिने निर्णय गरेको हो । उक्त राहत रकमको ३० प्रतिशत हिस्सा भने स्थानीय तहले व्यहोर्नुपर्ने व्यवस्था प्रदेश सरकारले गरेको छ । 

प्रदेश सरकारले खडेरीबाट अति प्रभावित तीन जिल्लाका चार स्थानीय तहका स्थानीयका लागि राहतको दीर्घकालीन योजनासमेत अघि बढाउने निर्णय भएको मन्त्री आङ्बोले जानकारी दिए ।

प्रदेश–१ सरकारले सुक्खाग्रस्त पाँचथरको तुम्बेवा गाउँपालिकामा खानेपानीको समस्या तत्कालका लागि हल गर्न एक थान खानेपानी बोक्ने ट्यांकर खरिदका लागि बजेट उपलब्ध गराउने निर्णयसमेत गरेको छ । यसअघि, खानेपानी समस्याको अल्पकालीन समाधानका लागि कुम्मायक गाउँपालिकाले ट्र्याक्टरको प्रयोग गरी स्थानीयलाई खानेपानी वितरण गर्दै आएको छ ।

असार र साउन महिनामा पानी नपरेपछि पाँचथरको कुम्मायक गाउँपालिका–१, ३, ४ र ५ तथा तुम्बेवा गाउँपालिकाको वडा नं. १, २ र ३ का स्थानीयले लगाएका बर्खे बाली बोटमै सुकेर सखाप भएको थियो । खडेरीका कारण तुम्बेवा गाउँपालिका–१ र २ का कृषक अत्यधिक रूपमा प्रभावित बनेका छन् ।

खडेरी प्रभावित क्षेत्रको प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो नेतृत्वको टोलीले गत भदौ दोस्रो साता स्थलगत अवलोकन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ