arrow

पैचिङमा नेपाली विद्यार्थीको दसैं

logo
अजय अलौकिक,
प्रकाशित २०७५ असोज ३० मंगलबार
china-dashain.jpg

पैचिङ। यूनिभर्सिटी अफ चाईनिज एकेडेमी अफ साइन्सेज (यूकास) को चालिसौं वार्षिकोत्सव र पहिलो अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवको अवसरमा चीनको राजधानी पैचिङमा नेपाली विद्यार्थीहरूले विभिन्न देशका संस्कृतिसँगै नेपाली हिन्दूहरूको महान चाड बडादसैं पनि चिनियाँलगायत विदेशी विद्यार्थीहरूसँग मनाएका छन्।

उक्त चिनियाँ यूनिभर्सिटी यूकासले चालिसौं वार्षिकोत्सवको अवसरमा यूकासका ४० वर्षहरूस् विज्ञानको साथ उन्नति र खुलापनसँगै प्रगतिू को नाराका साथ ह्वाइरौमा अवस्थित यूकासको यानछिहू क्याम्पस परिसरमा अक्टुबर १४ तारिख आईतबार पहिलो अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवको आयोजना गरेको थियो।

करिब २४ देशका विद्यार्थीहरूको सहभागिता रहेको उक्त महोत्सवमा दसैंको तामझाममा नेपाली बूथको शान बेग्लै देखिन्थ्यो। दसैंको अवसरमा टीकाको कार्यक्रम राखिएको र खिर, पुरीसँगै नेपाली परिकार उपलब्ध गराइएको थियो जहाँ चिनियाँ तथा विदेशी विद्यार्थीहरूले निकै चासो देखाएका थिए। नेपाली बूथमा टीका थाप्नेको भीड बाक्लै देखिन्थ्यो। 

नेपाली बूथ लिडर सञ्जिव ढकालका अनुसार, मेलामा आएका पचास प्रतिशतले टीका लगाएका थिए। चिनियाँ तथा विदेशी विद्यार्थीहरूले नेपालीका साथै आआफ्नो भाषामा नेपाल लेखेको क्षणले उपस्थित नेपालीलाई उत्साहितका साथै गौरवान्वित बनाएको थियो।

महोत्सवमा नेपालको संस्कृति झल्किने नृत्य प्रस्तुतीका साथै विभिन्न जातजातीका वेशभुषा प्रदर्शनसँगै बूथमा नेपाल चिनाउने मूर्ति, तस्विरलगायतका विविध सामाग्रीहरू सजाइएको थियो। नेपाल भ्रमण वर्ष २०२० को प्रबर्द्धन गर्दै पैचिङस्थित चीनका लागि नेपाली दूतावासबाट उपलब्ध बुकलेटहरू पनि वितरण गरिएको बूथ लिडर ढकालले बताए।

यूकासमा स्नातक, स्नातकोत्तर गरी विभिन्न तहमा दुई सयभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन्। यूकासअन्तर्गत पैचिङमा मात्र हाल ९० जना नेपाली विद्यार्थीहरू छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ