arrow

के हुदैछ आज काँग्रेसको बैठकमा

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
congress-party-office-1.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसले अव अवलम्वन गर्ने निति तथा कार्यक्रमको मस्यौदालाई आज अन्तीम रुप दिने भएको छ । 
 
केही हप्ता अगाडी निति तथा कार्यक्रम समितिको कार्यदलले बनाएको मस्यौदालाई केन्द्रीय सदस्य तथा जिल्लास्तरका नेताहरुलाई सुझावका लागि पठाईएकाले उनीहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखेर आज अन्तीम रुप दिने तयारी भईरहेको नेताहरुले बताएका छन् । “आज निति तथा कार्यक्रमका बारेमा छलफल गर्ने भनेर कार्यवहाक सभापतिजीले भन्नु भएको छ, सायद आज त्यसले अन्तीम रुप पाउला”, केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने । साथै बैठकमा पार्टीको विधान समितिको मस्यौदा पनि आउन सक्ने उनले बताए । 
 
महाधिवेशनका लागि अहिले सम्म भईरहेको तयारीका बारेमा पनि बैठक केन्द्रीत हुने नेताहरुले बताएका छन् । अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले महाधिवेशनको तयारी, निति तथा कार्यक्रमको मस्यौदालाई अन्तीम रुप दिने र विधान मस्यौदा समितिको मस्यौदा माथी छलफल सुरु हुने बताए । 
 
विधान संशोधनका बारेमा काँग्रेसमा विवाद रहेकाले विधान संशोधन संवन्धी प्रस्तावमा छलफल लम्वीन सक्ने भण्डारीले अनुमान गरे । काँग्रेसको संस्थापन पक्षले पदाधिकारीको संख्या बढाउनु पर्ने तर्क गर्दै आईरहेको छ भने बरिष्ठ नेता शेरबहादुर देउवा पक्षले प्रदेशको नेतृत्वकर्ता थप्ने बाहेक अन्य कुनै पदाधिकारी थप्न नहुने अडान राख्दै आएको छ । पार्टीका संगठन विभाग प्रमुख आनन्द ढुङगाना नेतृत्वको विधान मस्यौदा समितिमा पनि यस बारेमा चर्को विवाद रहेको छ । 
 
महाधिवेशनको तयारीका बारेमा छलफल गर्दा विद्युलिय मतदानका बारेमा नेताहरुको राय लिईने भएको छ । केन्द्रीय कार्यालयले विद्युतिय यन्त्र मार्फत मतदान गराउने व्यवस्था गर्ने तयारी गरिरहेकाले त्यसको निर्णय पनि आजको केन्द्रीय समितिले गर्ने पार्टीको केन्द्रीय कार्यालयका सचिव प्रदिप पराजुलीले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालयमै मतदान गराउने र विद्युतिय यन्त्रको प्रयोग गर्ने तयारी लगभग पुरा भएको र त्यसलाई केन्द्रीय समितिले आज अनुमोदलन गर्ने सचिव पराजुलीले बताए । “हामीले अहिले सम्म भएको तयारीका बारेमा जानकारी गराउछौं, अनि उहाँहरुको रायका आधारमा तयारीलाई अझ अगाडी बढाउछौं,” उनले भने । 
 
उनले विद्युतिय मतदान गर्ने र पार्टी कार्यालयमै मतदानको कार्यक्रम गर्ने बारेमा शिर्ष नेताहरुलाई यसअघि पनि जानकारी दिइएको बताए । नेताहरुले त्यसमा कुनै नकारात्मक नदिएकाले सोही अनुसार तयारी अन्तीम चरणमा पुर्याईएको स्पष्ट पारे ।  
 
काँग्रेसको महाधिवेशनको उद्घाटन खुल्ला मंचमा र बन्द सत्र भने भृकुटीमण्डपमा गर्ने तयारी भईरहेको छ । “मतदान भने भृकुटीमण्डपमा गर्न उपयुक्त नहुने भएकाले प्रज्ञा भवनलाई विकल्पको रुपमा लिईएको थियो, तर निर्वाचन समितिसंग सल्लाह गर्दा अघिल्लो महाधिवेशनमा त्यहाँ गर्दा सजिलो महशुष नभएकाले बरु पार्टी कार्यालयमै गरौ भन्ने कुरा आयो, त्यसैले पार्टी कार्यालयमै गर्ने तयारी गरिरहेका छौं, पराजुलीले भने । उनले पार्टीको दुई ओटा मुलद्धार मध्ये एउटा मुलद्धारबाट मतदानका लागि जाने र अर्कोद्धारबाट बाहिरिने व्यवस्था मिलाउन लागिएको बताए । महाधिवेशनको तयारीका लागि केन्द्रीय कार्यालय तिव्ररुपमा जुटेको पराजुलीले जानकारी दिए । 
 
पार्टीको केन्द्रीय समितिको बैठक ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ