arrow

नारच्याङ पहिरोमा पाँचजना सम्पर्कविहीन

पहिरो गएको ठाउँ वरपर धुलोले हिँड्डुल गर्न समस्या भएको छ ।

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
narchyang.jpg.jpeg
म्याग्दी । जिल्लाको नारच्याङ गाविस–१ स्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा भीषण सुख्खा पहिरो गएको छ । पहिरोमा परेर नारच्याङ–५ लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, सोही गाविस वडा नम्बर ६ का हुकुम पुन र वडा नम्बर ४ का टरबहादुर फगामी सम्र्पकविहीन भएका छन् । 

गएराति १२ बजेदेखि निरन्तर गएको पहिरोका कारण निस्किएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार र दोवा गाविसको जनजीवन प्रभावित बनेको छ । पहिरो गएको ठाउँ वरपर धुलोले हिँड्डुल गर्न समस्या भएको छ । उद्धार र पहिरोको निरीक्षण गर्न गएको प्रहरी र नेपाली सेनाको टोली बाटो नहुँदा गन्तव्यमा पुग्न नसकेको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । 

सम्पर्कविहीन पाँचै जना सोमबार दिउँसो निगालो काट्नका लागि अन्नपूर्ण साउथ हिमालको फेदीमा रहेको जङ्गल गएका थिए । टेलिफोन सम्पर्क नहुने, खोँच र धुलोका कारण उनीहरुको खोजी तथा पहिरोको अध्ययनका लागि गएको स्थानीयवासी र सुरक्षाकर्मीको टोली समस्यामा परेको डिएसपी खड्काले बताए । 

सीमा प्रहरी चौकी भुरुङ तातोपानी, दाना प्रहरी चौकी र नेपाली सेनाको नारच्याङस्थित बेस क्याम्पबाट पहिरो गएको क्षेत्रमा जान हिँडेको टोली निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको बाँधमा पुगेर रोकिएको छ । रातिदेखि निरन्तर पहिरो गइरहेको र धुलोले केही पनि देख्न नसकिने अवस्था रहेको नारच्याङस्थित प्रभा माविका प्रधानाध्यापक तेजबहादुर गुरुङले बताए । 

धुलोका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । विद्यालयको पठनपाठन समेत प्रभावित बनेको छ । घलेम्दी जलविद्युत् आयोजनाका कामदार राति नै क्याम्प छाडेर नारच्याङ लेकगाउँमा गएर बसेका छन् । प्रअ गुरुङका अनुसार उक्त स्थानमा करिब ४० वर्षपहिले गएको पहिरोमा सयौँ भेँडाबाख्रा र गोठाला पुरिएका थिए । हिमालको फेदीमा रहेको घटनास्थलमा मानव बस्ती छैन । पहिरो गएको ठाउँ घलेम्दी खोलाको मुहानमा पर्छ । 

पहिरो गएलगत्तै राति केही समय घलेम्दीखोला थुनिएको थियो । अहिले घलेम्दीखोलामा सामान्य रुपमा बाक्लो लेदो सहितको पानी बगिरहेको नारच्याङ गाविसका सचिव दीर्घप्रसाद गौतमले जानकारी दिनुभयो । गत वैशाखमा गएको भूकम्पका कारण चर्किएको र खलबलिएको पहाडमा पहिरो गएको हुन सक्ने जिल्ला भूसंरक्षण कार्यालयका अधिकृत दिवाकर पौडेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ