arrow

विवेकशून्य वर्तमान सरकारमा जवाफदेहीताको चरम अभाव : प्रदीप पौडेल

logo
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
pradip-japan.jpg

जापान। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले विवेकशून्य वर्तमान सरकारमा जवाफदेहीताको चरम अभाव रहेको आरोप लगाएका छन्। नेता पौडेलले सरकारका पछिल्ला काम कार्वाहीका कारण आम जनतामा चरम निराशा छाएको समेत दाबी गरे।

जापानको राजधानी टोकियोमा जनसम्पर्क समिति जापानले गरेको अन्तरक्रियामा पौडेलले वाइडबडी विमान खरिद प्रकरण तथा बुढी गण्डकी परियोजना विना टेण्डर चीनको गेजुवा कम्पनीलाई दिने सरकारी निर्णयप्रति कडा आपत्ति जनाए। “यस्ता विवादास्पद विषयमा जनस्तरबाट पटक पटक आइरहेका टिका टिप्पणीलाई सही सम्बोधन नगरी सरकारले जवाफहीन संस्कृतिलाई प्रश्रय दिएको छ ” पौडेलले भने। 
बढ्दो भ्रष्टाचार, चरम महंगी, कमजोर सुरक्षा व्यवस्था, फितलो प्रशासनका कारण जनता वाक्क दिक्क भइसक्दा समेत दुई तिहाई बहुमत रहेको वर्तमान सरकारले केही गर्न नसक्नु ठूलो लज्जाको विषय पौडेलेको भनाइ थियो।

जनतालाई भुलभुलैयामा पार्न वर्तमान सरकारले चीनबाट रेल ल्याउने, पानी जहाज कुदाउने, हावाबाट बिजुली निकाल्ने जस्ता कोरा नाराहरु दिइहेपनि आहिले सम्म ती विषयमा कुनै ठोस योजना ल्याउन नसकेको उनले बताए।

बेग्लै प्रसंगमा पौडेलले नेपालको सन्दर्भमा लोकतन्त्र र नेपाली कांग्रेस एक अर्काका पर्याय रहेको भन्दै कांग्रेसले मात्र देशको विकास गर्न सक्ने दाबी गरे। व्यक्तिवादी प्रवृत्ति हावी हुँदा विगतमा कांग्रेसबाट पनि गल्ती भएको स्विकार गर्दै उहाँले पार्टी शुद्धीकरणको विकल्प नहरेको तर्क गरे।

नेपालको राजनीति सैद्धान्तिक पक्षबाट स्खलित भइरहनु ठूलो चिन्ताको विषय भएकाले योग्य मतदाताहरुले योग्य नेतृत्व चुन्नुको विकल्प नभएको उनले बताए। राजनीतिलाई व्यवस्थासँग मात्र तुलना गर्ने हाम्रो सोच नै गलत रहेको भन्दै उनले राजनीतिलाई अब आर्थिक, समाजिक, सांस्कृतिक, भौगोलिक लगायतका पक्षबाट समेत हेरिनु पर्ने धारणा राखे।

उनले प्रवासमा रहेको नेपालीहरुलाई घर जग्गा खरिदमा नभई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरे। “विदेशमा बसेका नेपालीले पैसा मात्र कमाएका छैनन्, प्रविधि र सीप पनि सिकेका छन्, अब त्यस्तो प्रविधि र सीपको प्रयोग स्वदेशमै हुनुपर्छ र विदेशीका युवालाई स्वदेश फर्काउनुपर्छ ” पौडेलले भने।

चालिस वर्ष मुनिका व्यक्तिको योगदानका कारण नै चीन र भारतले हरेक क्षेत्रमा अभूतपूर्व विकास गरेको दृष्टान्त दिँदै उनले नेपालका त्यस्ता बहुसंख्यक युवा भने विदेशी भूमिमै परिश्रम गर्न बाध्य भएपछि कसरी मुलुक समृद्ध हुन्छ भनी प्रश्न गरे। 

विद्यार्थी राजनीति मार्फत नै आफ्नो शशक्त पहिचान बनाई अहिले समग्र राष्ट्रिय राजनीतिमा आशाको केन्द्र बन्न सफल पौडेलको स्वागतका लागि गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्ट स्वमं विमानस्थल पुगेका थिए। प्रवासी नेपालीहरु माझ समेत अत्यन्त लोकप्रिय पौडेल नेविसंघका पूर्व अध्यक्ष समेत हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ