arrow

यसरी खोले साझाका कार्यकारी निर्देशकले काठमाडाै‌ंमा ‘विद्युतीय बस’ उद्घाटनको रहस्य

'बस लुम्बिनी विकास काेषकै हाे' (कुराकानीसहित)

logo
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
bijuli_buss.jpg

मंगलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय राजधानी काठमाडौंमा विद्युतीय बसको सुभारम्भ गरे । उनले विद्युतीय बसको सुभारम्भ गर्दै अबको युग बनेको वातावरणमैत्री सवारी साधनको युग हो र पेट्रोल डिजेलबाट चल्ने गाडीहरु अब विस्तारै विस्थापित हुँदै जाने भनि वक्तव्य दिए । तर, यो विद्युतीयबस बारे जति धेरै चर्चा भयो, त्यही अनुपातमा टिप्पणी पनि भएका छन् । कतिपयले लुम्बिनी क्षेत्रविकास कोषलाई दिइएका बस साझाले बिच बाटोबाटै किन लियो भनेर ? प्रश्न गरेका छन् । एसियाली विकास बैंकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसकेपछि ती विद्युतीय बस पर्यटकका लागि दिएको भन्ने कुरा पनि छ । तर, साझा यातायातले लुम्बिनी क्षेत्र विकासकोषसँगको साझेदारीमै परीक्षणका लागि दुई वटा बस काठमाडौँ ल्याएको र बाँकी लुम्बिनीमै रहेको बताएको छ । हामीले यसमा खास कुरा के हो भनि साझा यातायातका कार्यकारी निर्देशक समेत रहेका वातावरणविद् भूषण तुलाधरसँग कुरा गरेका छौँ । 

० तपाईहरुले सुभारम्भ गरेको विद्युतीय बस काठमाडौमा मात्रै चल्ने हो ? 
–सबै भन्दा पहिले त यो सुभारम्भ मात्रै हो । सञ्चालनमा आएको छैन । हाम्रो र लुम्बिनी क्षेत्र विकास कोषको सहकार्यमा सञ्चालनमा ल्याउने भनेर भनेका छौँ । बाटोमा गुडिसकेको छैन । यसको लागि आधिकारिक रुट परमिट लिने लगायत कामहरु अलिकति बाँकि नै छन् । र, यो सुरुमा परीक्षणमा जान्छ  । परीक्षण गर्दा काठमाडौमा होस्  अथवा लुम्बिनीमा । अरु ठाउँमा पनि, कहाँनेर उपयुक्त हुन्छ ? भन्नेकुरा परीक्षणका क्रममा हुन्छ । अहिले तत्कालका लागि रुटमा कुदिहाल्ने होइन । विशेष गरेर परीक्षण काठमाडौंमा हुन्छ । 

० काठमाडौँ बाहिर परीक्षण हुन सक्दैन ? 
–परीक्षण गर्दाखेरी काठमाडौंमा अलिक बढी सजिलो हुन्छ । किन भने, यसको जुन सप्लायर्स छ, साइमेक्स भन्ने चिनियाँ कम्पनी त्यो पनि काठमाडौँमै छ । केही परिहाल्यो भने पनि उहाँहरुसँग छलफल गर्न सकिन्छ । हाम्रो पनि कार्यालय काठमाडौँमै भएको हुनाले सजिलो हुन्छ । काठमाडौंका सडकहरुमा यसको सञ्चालन कत्तिको प्रभावकारी हुन्छ ?, यसको प्राविधिक पक्ष, आर्थिक पक्ष कस्तो हुन्छ ?, कति विजुली खान्छ ? इत्यादी सबै परीक्षण गरिसकेपछि त्यसपछि बल्ल रुटमा चल्न थाल्छ । साथ साथै हामी के पनि हेरिरहेका छौँ भने लुम्बिनीमा पनि यसलाई कहाँ परीक्षण गर्न सकिन्छ ?, कहाँ चलाउन सकिन्छ ? अथवा काठमाडौं लुम्बिनी पनि चलाउन सकिन्छ कि भनेर हेरिरहेका छौँ । अलिकति दूरी लामो छ र बाटो पनि सबै ठाउँमा राम्रो छैन । त्यसैले यी सबै कुरा हेरिसकेपछि मात्रै कहाँ कसरी सञ्चालन हुन्छ ? त्यो निर्धारण हुन्छ । 

० तपाइहरुले परीक्षण गर्छौँ भन्नु भो, तर लुम्बिनीलाई के भनेर दिइएको थियो खास ? 
–यो लुम्बिनी क्षेत्र विकास कोषलाई एसियाली विकास बैंँकले सञ्चालनको लागि भनेरै दिएको हो । यद्यपि, लुम्बिनी विकास कोषको यातायात सञ्चालन गर्ने अनुभव खास नभएको, उहाँहरुले हामीसँग सहकार्य गर्न चाहेकोले यो प्रक्रिया अघि बढेको हो । हामीले पनि विजुली बस चलाउने इच्छा राखेको तथा यातायात क्षेत्रमा काम गर्दै आएको हुनाले हामी दुई संस्थाको आपसी समझ्दारीमा हामीले परीक्षण गर्ने भनेका हौँ । बस उहाँहरुकै हो । उहाँहरुको बसलाई हामीले परीक्षण गर्ने र सञ्चालन गर्ने समझ्दारी भएको छ । 

० तपाइहरु जस्तै लुम्बिनीमा यातायातमा अनुभव भएका कम्पनी वा संस्था थिएनन् होला ? 
–छन् । मैले अघि भने त । हामी दुई संस्थाको आपसी समझ्दारीमा प्रक्रिया अघि बढेको हो । लुम्बिनी भन्नु र काठमाडौं भन्नु फरक त छैन नि ! लुम्बिनी जाने अधिकांश पर्यटक काठमाडौं भएरै जान्छन् । सञ्चालन कहाँ गर्ने कसरी गर्ने भन्ने कुरा नै टुंगो लागेको छैन । अहिल्यै आत्तिनु पर्ने कुनै कारण छैन । अहिले हामी आन्तरिक छलफलमा छौँ । आन्तरिक छलफलबाट हामी दुबै संस्थाको मिलेमतोमै यो काम हुनेछ । 

० भोलि गाडी चल्दा फाइदा पनि दुबै संस्थाले बाँड्ने हो ? 
–हो, अहिले हाम्रो अन्डरस्ट्यान्डिङ त्यही छ । सञ्चालन गर्ने अनुभव हाम्रो भएको हुनाले यसको जिम्मेवारी हामीले लिन्छौँ । यद्यपि, गाडी भनेको उहाँहरुकै हो । उहाँहरुको पनि इच्छा छ, कहाँ सञ्चालन गर्ने ?, कसरी सञ्चालन गर्ने ? भनेर । र, उहाँहरुसँग छलफल गरेर नै यो अघि बढाउँछौँ र, जब सञ्चानमा आउँछ । त्यो बेला हाम्रो सानो समिति हुन्छ । जसले यसलाई समष्टिगतरुमा निर्देशन गर्छ, उहाँहरुको र हाम्रो प्रतिनिधित्व त्यहाँ हून्छ । 

० बस, गौतमबुद्ध विमानस्थलका लागि मात्रै दिएको कि, समग्र लुम्बिनीका लागि ?
–प्राजेक्ट विमानस्थलसँगै सम्बन्धित छ । त्यही बजेटको अंशबाट यो विद्युतीय बस आएको हो । विमानस्थल भनेकै लुम्बिनीको विकासको लागि हो । लुम्बिनीको विकासको लागि र पर्यटन क्षेत्रको विकासका लागि आएका सवारी साधन हुन् । त्यसैले पर्यटन विकास र लुम्बिनीको विकासकै लागि प्रयोग गरिन्छ । अहिलेलाई काठमाडौँमा पनि ट्रायल गरिन्छ । जस्तो पाँच वटा गाडी छ, पाँच वटा मध्ये काठमाडौंमा कति चलाउने, लुम्बिनीमा कति चलाउने त्यो भविष्यमै हामी हेर्छौँ । साथसाथै थप गाडी पनि हामी ल्याउने प्रयासमा छौँ । थप ल्याउँदा अन्य क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ कि ? अथवा लुम्बिनी, रामग्राम लगायत पुरै सर्किटमा प्रयोग गर्न सक्छौँ कि भनेर हामीले हेरिरहेका छौँ । साथै, प्रदेश ५ को सरकारसँग पनि हामी कुरा गरिरहेका छौँ । लुम्बिनी क्षेत्रमा मात्रै नभएर प्रदेशभरी नै चलाउन सकिन्छ कि ? यी गाडी मात्रै नभई अन्य विद्युतीय सवारीको पनि हामी कुरा गरिरहेका छौँ । हामी के प्रष्ट छौँ भने, साझा यातायातले मात्रै यो गाडी ल्याउन सम्भव छैन । विद्युतीय यातायातलाई अघि बढाउन हामी विभिन्न निकायसँग सहकार्य गर्न तयार छौँ । चाहे त्यो स्थानीय, प्रदेश र केन्द्र सरकार किन नहोस् । 

० विद्युतीय बस चलाउने भनेर पहिल्यै भन्नु भएको हो तपाइहरुले । अब योसँगै अभियान शुरु भयो ? 
–निश्चय पनि । यो भन्दा अघि नै हामीले प्रयास गरिराखेको हो । अध्ययन पनि गरिरहेको हो । नयाँ बस ल्याउने प्रक्रिया पनि अघि बढाइसकेका थियौँ । हामीले पनि केही ल्याउने कि भनेर सुरु भइसकेको छ । यही विचमा यी बसहरु आए । यस्तै, लुम्बिनीको गौतमबुद्ध विमानस्थल बन्न अझै १० महिना लाग्ने देखियो भनेर भनिएको छ । यो बस त्यतिकै राखिराख्नुको सट्टा यसलाई ट्रायलमा लगौँ । ता कि, भविष्यमा अन्य बसहरु पनि सञ्चालन गर्न सजिलो होस् । 

० लुम्बिनीमै चलाउन सकिएला नि, विमानस्थल पो बनेको छैन त, बाटो त छ नि ?
–चलाउन सकिन्छ । चलाउन नसकिने होइन । चलाउने सम्भावना पनि छ । अहिले आएको भनेको पाँच वटा बस हो । बस सञ्चालन गर्न के–के चाहिन्छ भन्दा ? पहिले त बस कस्तो छ, त्यो बुझ्नु पर्दछ । दोस्रो त्यसको सञ्चालन विधि, मर्मत सम्भारको विधिहरु बुझ्नु पर्दछ । तेस्रो भनेको त्यसलाई चाहिने पूर्वाधारहरु । त्यो भनेको बाटो भयो, चार्जिङ स्टेशनहरु भयो । यो सबै आवश्यक पर्छ । त्यो सबै पूर्वाधार बनाएर हामी सञ्चालन गर्छौँ । त्यो सञ्चालनमा ल्याउने क्रममा लुम्बिनी र लुम्बिनीसँग सम्बन्धित क्षेत्रहरुमा सञ्चालनमा ल्याउँछौँ । काठमाडौं पनि एक हिसाबले लुम्बिनीसँग सम्बन्धित क्षेत्र हो । लुम्बिनी जाने पर्यटक धेरैजसो काठमाडौँबाटै जाने हो । अहिले नै म ठ्याक्कै यहाँ सञ्चालन गर्छौ भनेर भन्न सक्दिन । तर, अहिलेलाई काठमाडौंको विमानस्थलबाट काठमाडौं वरपर चलाउन सकिन्छ । अथवा केही बस काठमाडौंमा, केही बस लुम्बिनीमा राखेर सञ्चालन गर्न सकिन्छ । त्यसमा हाम्रो सहमति भइनसकेकाले भन्न सकिन । योबारे छलफल हुँदैछ । 

० काठमाडौंमा चलाउन कुनै समस्या छैन, सबै तयार छ ? 
–सबै कुरा तयारै छैनन् । कुन रुटमा चलाउने त्यसमा पनि भर पर्छ । अहिलेको लागि मैले देखेको तीन वटा अप्सन हुन सक्छ । एउटा भनेको काठमाडौं उपत्यकाभित्र चलाउने । काठमाडौंभित्र चलाउनलाई पनि कुन रुटमा चलाउँदा उपयुक्त हुन्छ । काठमाडौंबाट दक्षिणकाली नहुनसक्छ, बाटोका कारण । जस्तै काठमाडौबाट धुलिखेल जाने हो भने त्यहाँ चार्ज स्टेशन राख्न सकिन्छ । नगरकोट जाने पनि हुनसक्छ । यी भनेका पर्यटकीय स्थल हुन् । दोस्रो अप्सन भनेको, काठमाडौदेखि लुम्बिनी सम्मको । त्यसको पनि प्राविधिक पक्ष हामीहरुले हेरिरहेका छौँ । तेस्रो भनेको लुम्बिनी क्षेत्र वरीपरी । बुटवल, लुम्बिनी, भैरहवाको क्षेत्र हो । लुम्बिनी–रामग्राम । बुद्धिस्ट सर्किट छ । यी क्षेत्रमा सञ्चालन गर्न सकिन्छ । 

० यो विद्युतीय बस सर्वसाधान चढ्न पाउँछन्  ? कि पर्यटक मात्रै हो ? 
–पर्यटक भनेको विदेशी पर्यटक मात्रै होइन । पर्यटक भनेको नेपाली पर्यटक पनि हो । लुम्बिनी क्षेत्र विकास कोषको अध्यक्ष पनि पर्यटन मन्त्री नै हुनुहुन्छ । त्यसैले सायद पर्यटकीय काममा बढी प्रयोग गरिन्छ होला । एयरपोर्टदेखि यदी रत्नपार्क, ठमेल, गोंगबु बसपार्क चलायौँ भने त्यसमा सर्वसाधारण पनि चढ्न पाइन्छ नि त । सर्वसाधारण चढ्नै नपाउने भन्ने होइन । पर्यटन प्रवर्द्धनको लागि हुनेछ । 

० पर्यटकको मात्रै कुरा रहेन । काठमाडौं भन्दा लुम्बिनी बढी प्रदूषित भयो भनेर यसअघि हामीले तपाईँसग सम्वाद गरेका थियौँ । प्रदूषणले थिचिएको लुम्बिनीलाई वातावरणमैत्री बस दिनुपर्छ भनेर दिइएको हो तर, काठमाडौंले यो बस हाइज्याक गर्‍यो भनेर कुरा आयो । यसलाई अन्यथा नलिनु होला । यो उठेको कुरा सुनाउँदैछु म, सबै कुरा किन काठमाडौंमै केन्द्रीत गर्नुपर्ने प्रदेश सरकारलाई पनि त गर्ने मौका दिनु पर्‍यो नि ? 
–यसमा केही साथीहरुले कुरा उठाएको मैले पनि पढे, सुने । यो खास नबुझेको भएर उठाउनु भएको होला । र, उहाँहरुले कुरा उठाएको जायज हो । अहिले संघीयताको कुरा हामीले गरिरहेका छौँ । सबैकुरा काठमाडौंमै केन्द्रीत हुनुपर्छ भन्ने पनि छैन । लुम्बिनीमा पनि प्रदूषण छ भनेर नै हामीले कोषसँग सहकार्य गरेका हौँ । र, लुम्बिनी क्षेत्र विकास कोषले हामीसँग सहकार्य गर्नुको कारण पनि त्यही होला । उहाँहरुले के भन्नु भयो भने, साझा यातायातले राम्ररी काठमाडौँमा चलाइरहेको छ र काठमाडौं बाहिर पनि चलाउन थालेको छ । अहिले हामीले काठमाडौंदेखि लुम्बिनीसम्म रात्री बस चलाउन थाल्यौँ । पहिले हामीले काठमाडौं केन्द्रीय प्रयास गरेको हो, किन भने हाम्रो अफिस यहाँ छ । सहज पनि हुन्छ । अहिले विजुली बसको कुरा गर्दा पनि हामीले सबै बस काठमाडौंमै चलाउँछौँ भनेर पनि भनेका छैनौँ । अहिले परीक्षण गर्दा सजिलो हुन्छ भन्ने मात्रै हो । दोस्रो भनेको यो पाँच वटा विजुली बसको कुरा मात्रै भएन । यो त, सार्वजनिक यातायातमा विद्युतीय सबको प्रयोग बढाउनका लागि यो अभियान थालेका छौँ । यो प्रवद्र्धन गर्ने काम काठमाडौंमा गर्दा अलिकति बढी प्रभावकारी होला भनेर अस्तिको कार्यक्रम काठमाडौंमा गरिएको हो । यद्यपि, तपाईले याद गर्नु भयो होला । हामीले पाँच वटा बसको कुरा गरेका थियौँ । त्यसमध्ये दुईटा बस मात्रै यहाँ छ । तीन वटा बस लुम्बिनी अथवा भैरहवामा छ । अब ति बसहरु यहाँ ल्याउने वा त्यहीँ राख्ने भनेर हामीले कोषसँग कुरा गरिरहेका छौँ । आउने आइतबार पनि हामी उहाँहरुको बोर्ड बैठकमा त्यस विषयमा छलफल गर्दै छौँ । त्यसैले लुम्बिनीको बस हाइज्याक गरेर यता ल्याएको भन्ने कुरा होइन । त्यो बस जता भए पनि दुबै ठाउँमा वायु प्रदूषणका समस्या छ । लुम्बिनी भन्दा बढी सवारीको प्रदूषण काठमाडौँमा छ । लुम्बिनीमा सवारीको मात्रै होइन उद्योग, कलकारखानाको पनि प्रदूषण छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ