काठमाडौं। च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टर पहिलो लेगका खेलहरु शुरु भएका छन्। पहिलो लेगमा स्पेनिश क्लब बार्सिलोनाले बिजयी शुरुवात गरेको छ । बार्सिलोनाले ईङ्लिश क्लब आर्सनललाई २-० गोलले पराजित गरेको हो। त्यसैगरि जर्मन क्लब बायर्न म्युनिख र युभेन्टसले २-२ गोलको बराबरी खेलेका छन्।
बार्सा - आर्सनल
स्टार प्लेयर लिओनल मेस्सीको २ गोल मदतले स्पेनिस क्लब बार्सिलोनाले ईङ्लिश क्लब आर्सनललाई च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा २-० गोलले पराजित गरेको छ।
आर्सनलको आफ्नै मैदान ईमिरेट्समा भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। दोस्रो हाफको २६औं मिनेटमा मेस्सीले बार्सालाई अग्रता दिलाएका थिए भने दोस्रो हाफकै ३७औ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै दोस्रो गोल गरेका थिए। म्याथ्यु फलामिनीको फाउलमा आरसनलले पेनाल्टी पाएको थियो। उनको फाउललाई लिएर सामाजिक संजालमा आर्सनलका समर्थकहरु नै रिसाएका थिए।
आर्सनलका जिराउडले गोल गर्ने राम्रो मौकागुमाएका थिए। त्यसैगरि आर्सनलका आरोन राम्सेले पनि गोल गर्ने मौका गुमाएका थिए। उता बार्साका नेयमारको आक्रमणलाई पनि पिटर चेकले सुन्दर बचाउहरु गरेका थिए। दोस्रो लेग आउँदो चैत ३ गते बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ ।
बायर्न- युभेन्टस
बायर्न म्युनिख र युभेन्टस बिचको च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल अन्तर्गतको पहिलो लेग २-२ गोल बराबरीमा सकिएको छ। युभेन।टसको घरेलु मैदानमा भएको खेलमा साविक बिजेता बायर्नले राम्रो शुरुवात गरेको थियो। खेलको ४३औ मिनेटमा जर्मन खेलाडी मुलरले गोल गर्दै म्युनिखलाई अग्रता दिलाएका थिए। त्यसैगरि बायर्नका स्टार डच खेलाडी आर्रेन रोबेनले ५६औ मिनेटमा गोल गर्दै म्युनिखलाई २-०को अग्रता दिलाएका थिए।
खेलको ६३ औं मिनेटमा युभेन्टसका युवा खेलाडी डिबालाले गोल गर्दै खेलमा फर्केको जानकारी दिएका थिए। ७७औ मिनेटमा स्टेफानो स्टुआरोले गोल गर्दै खेल २-२मा पुराएका थिए। दोस्रो लेगको खेल चैत ३ मा म्युनिखमा हुनेछ।