arrow

आन्तरिक पर्यटनको आकर्षण बन्दै हुडिकोट हाइकिङ

logo
वासुदेव पौडेल,
प्रकाशित २०७२ फागुन १२ बुधबार
hudikot.jpg.jpeg
पोखरा । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेग लेखनाथ नगरपालिका वडा नं १८ स्थित हुडिकोट हाइकिङका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ्खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ नगरपालिका र पोखरा उपमहानगर क्षेत्र एकसाथ देख्न सकिने हुडिकोट समुद्री सतहबाट एक हजार १४० मिटरको उचाइमा रहेका कारण पोखरा र यस आसपासका क्षेत्रबाट हाइकिङका लागि जाने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्ला समयमा बढ्दै गएको हो । 
 
उच्च पहाडी भू–भागमा रहेका कारण सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि यो ठाउँ उत्तिकै महत्वको रहेको छ । यहाँबाट कास्की, तनहुँ, लम्जुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत बागलुङ, म्याग्दी, स्याङ्जा जिल्लालगायत विभिन्न स्थानको एकैसाथ अवलोकन गर्न सकिन्छ । विगतमा यातायातको असुविधाका कारण हुडिकोट पुग्न निकै कठिनाइ हुने गरेको भए पनि हाल पोखराको विरौटाबाट पोखरा उपमहानगरका बस सञ्चालनमा आउन थालेपछि त्यहाँ पुग्न निकै सहज भएको छ । 
 
सार्वजनिक यातायातका माध्यमबाट भरतपोखरीको मनियल डाँडाको बसबिसौनी पुगेपछि लगभग १५ मिनेटको पैदल यात्रामा हुडिकोट पुग्न सकिन्छ । यातायातको सुविधा भए पनि पछिल्लो समयमा पर्यटक हाइकिङमा लोभिने गरेको स्थानीयवासी एवम् लेखनाथ क्षेत्रलाई आफ्नो पत्रकारिताको मुख्य आधारस्थल बनाएर समाचार सम्प्रेषण गर्दै आएका सञ्चारकर्मी विष्णुहरि पौडेल बताउछन् । 
 
चौबीसै घन्टा शीतल हावा लागिरहने हुडिकोट पुगेपछि जो कोही त्यहाँको भौगोलिक अवस्थिति एवम् दृश्यावलोकन मोहित हुने गरेको पौडेलको भनाइ छ ।  हुडिकोटका हाइकिङका रुटहरूमा लेखनाथ नगरपालिकाको वडा नं १२ बादलचोकबाट मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरि, चिलाउने, धारापानी, मनियलडाँडा, कोटभैरव हुँदै हुडिकोटसम्मको दूरी नौ किलोमिटर रहेको छ । 
 
हाइकिङको अर्को रुटमा लेखनाथको आदर्शचोक भण्ढारडिकबाट पुल्चोक, बरेलीचोक, चैनपुर, भिरखोरिया, भर्तिपोखरा र ठाडाबारी हुँदै हुडिकोट रहेको छ । अर्कोतर्फ सुरौदी खोलामा केही ठाउँमा पक्की पुल निर्माण गर्न सके तनहुँको दुलेगौडाबाट सुरौदी कुर्लिङबराहसम्म पर्यटकलाई यातायातका साधनमा ल्याएर त्यहाँबाट छहरा, लाङ्दी, पावनडाँडा, जामुने, कुलेस्वाहाँरा, कोलडाँडा, सिलिङ्गे, माझथर हुँदै हुडिकोटसम्म अर्को हाइकिङको रुट तय गर्न सकिने स्थानीयवासी बताउँछन् । 
 
वर्षात् वा हिउँद जुनसुकै समयमा वरिपरिका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा पनि केही प्रभाव नपर्ने यो ठाउँबाट नाङ्गो आँखाले एकसाथ १४ जिल्लाको अवलोकन गर्न सकिन्छ ।  लेखनाथ नगरपालिकाका दृश्यावलोकनका लागि उपयुक्त स्थलमध्येमा हुडिकोट पर्ने भएकाले यहाँको विकासलाई प्राथमिकतामा राखिएको लेखनाथ नगरपालिका कार्यालयका कानुनी सल्लाहकार राममणि अधिकारीले बताए  । 
 
“हरिया वन जङ्गललाई काखमा लिएको हुडिकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतको हिमशृङ्खलाको अवलोकन र पोखरा तथा लेखनाथ नगरपालिका तालहरूसहितको दृश्य हेर्न सकिन्छ” – उनले भने ।  हुडिकोटबाट नजिकै रहेको मल्लकालीन कोटभैरव मन्दिर पनि दृश्यावलोकनका लागि अत्यन्त उपयुक्त स्थल हो । यो तीर्थस्थलमा कास्कीको भरतपोखरी, निर्मलपोखरी, कृस्ती गाविसका साथै स्याङ्जा र तनहुँका विभिन्न स्थानबाट दर्शनार्थीहरू आउने गरेको कोटभैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले बताए । 
 
भैरवको स्मरणमात्रले पनि विपत्ति नष्ट हुने प्राचीन जनविश्वास यहाँको महत्वपूर्ण पक्ष हो । हाइकिङको रुटमा नै रहेको हुडिकोट नजिकैको देउराली देवीको मन्दिर पनि यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठ हो । लामो समयसम्म पानी नपरेको अवस्थामा देउराली देवीको मन्दिरमा स्थानीयवासी मिलेर पूजाआजा गरी ‘हरहर महादेव’ भन्दै पानी मागेमा त्यही दिन वा नभए एक दुई दिनभित्रमा पानी पर्ने गरेको स्थानीयवासी बताउँछन् । 
 
अत्यावश्यक पूर्वाधारको विकास एवम् उचित प्रचारप्रसार भएमा हुडिकोट हाइकिङमा बढ्दै गएको आकर्षणलाई थप विस्तार गर्न सकिन्छ । पोखरा भित्रिने विदेशी एवम् स्वदेशी पर्यटकलाई एक दिवसीय हाइकिङको कार्यक्रमका साथ हुडिकोट पुर्‍याउन सकिने स्थानीयवासी बताउँछन् । हुडिकोटमा तत्काल होटल तथा रेस्टुरेन्ट सञ्चालनको सम्भावना नरहे पनि होमस्टेका माध्यमबाट पर्यटकलाई आवश्यक सेवासुविधा उपलब्ध गराई आकर्षण गर्न सकिने उनको भनाइ छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ