- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
देशकै लोकतन्त्रको गरुङ्गो इतिहास बोकेको नेपाली कांग्रेस आज लोकतान्त्रिक संस्कार र पद्धतिमा तहस नहस मात्र भएको छैन, लोकतान्त्रिक परिपार्टीमा इतिहास मै चुकेको छ । लोतान्त्रिक व्यवस्थाको आवरणको नाममा हामीले राणा, पञ्चायतदेखि राजतन्त्रको अन्त्य गर्यौं र मुलुकलाई लोकतान्त्रिककरण गर्यौं विडम्बना हामी लोकतान्त्रिकीकरण हुन सकेनौं ।
लोकतान्त्रिक पार्टीमा आफ्नो विधानमा तोकिएको समय अवधीमा पूर्ण निर्वाचनद्वारा छानिने वा सके निर्विरोध नसके निर्वाचनद्वारा नेतृत्वमा आउने र जानेको व्यवस्था हुन्छ । अफसोच कांग्रेसलाई पूर्ण निर्वाचनको चित्तै बुझ्दैन । पार्टीभित्र बल्ल तल्ल निर्वाचन भए पनि सबै पदमा नहुने वा मनोनित राख्नु पर्ने, समय अवधीमा कुनै कार्य सम्पन्न गर्न नसक्ने, आफ्नो विधानमा तोके अनुसार केन्द्रीय समिति विस्तार हुन नसक्नु, विभागहरु गठन हुन नसक्नु, भातृ तथा शुभेच्छुक संघ, संगठनको समयमा अधिवेशन गर्न नसक्नु, अधिवेशन भए पनि निर्वाचन हुन नसक्नु, केन्द्रीय समिति बैठकका ऐजेन्डामा छलफल गरी विवादलाई आवश्यक परे निर्वाचनबाट टुङ्ग्याउन नसक्नु, केन्द्रदेखि गाउँ तहसम्मको सबै कमिटिमा सबै पदहरुमा निर्वाचन गरी नेतृत्व छनोट गन नसक्ने आदि कार्य लोकतन्त्रका दुस्मन हुन् ।
यति हुँदाहुँदै, स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा अनपेक्षित हार व्यहोरेपछि पनि कांग्रेसमा चेत नखुलेपछि पार्टी झनै संकटमा अल्झिएको छ । लोकतन्त्रको पाठ पढाउने तर लोकतन्त्रका आधारभुत तत्वहरुलाई कांग्रेसले पालना नगर्दा पार्टीभित्र भद्रगोल र अराजकताको स्थिति पैदा भएको छ । गुट उपगुटहरु चरम हावी भएको छ । पार्टी नेतृत्वको कार्यकर्ताहरुलाई विभेदपूर्ण व्यवहारले पार्टीमा राम्रा मानिस पाखा लाग्दै गएका छन् । सबैभन्दा ठूलो शक्तिशाली भातृसंस्था नेपाल विद्यार्थी संघलाई महाधिवेशन गर्नबाट वञ्चित गरिएको छ ।
२०६२-०६३ सालको जनआन्दोलनमा दुःख गरेका पसिना बगाएका, शासकहरुका गोली खाएका, गोली खान तयार भएका पुस्ताहरुलाई निषेध गरिएको छ । कम्युनिष्टहरुलाई पराजित गर्न सक्ने गरी संगठन गर्छौ भन्दा पनि ने.वि.संघमा ३२ वर्षे उमेर हद लगाइएको छ । हामी याचना गरिरहेका छौं कि, पार्टीको ठूला ठूला पदमा तपाईहरु नै जानुहोस्, मन्त्री, सांसद पनि तपाईहरु नै हुनुहोस्, नियुक्ति, पार्टीबाट प्राप्त हुने अवसरहरु तपाईको परिवार र आफ्नो खानदान नै बनाउनुहोस् तर पार्टीलाई शसक्त र बलियो बनाउने जिम्मा हामीलाई दिनुहोस् भन्दा पनि हामी युवाहरुलाई डण्डा लगाएर ठेगान लगाएको छ ।
अन्य पार्टीले युवा विद्यार्थीहरुलाई उचित जिम्मेवारी दिएर प्रोत्साहित गर्दछन् । हाम्रो पार्टीमा त, युवाहरुलाई निषेध गरिएको छ । पार्टीले मध्य राती त्यो पनि बहुमतको दम्भमा ने.वि.संघमा ३२ वर्ष उमेर हद लगाउनु पर्ने के थियो त्यस्तो बाध्यता ? के ने.वि.संघले आफ्नो विधान आफै बनाउनु गलत थियो ? के ने.वि.संघले महाधिवेशन गरी आफ्नो नेतृत्व आफै छनोट गर्ने कार्य, के लोकतन्त्र र पार्टी हित विपरित थियो ? लोकतन्त्रमा त सबैको समान हुन्छन्, व्यवहार पनि त्यस्तै हुन्छ । तर यहाँ त शासक र सासित वर्गको जस्तो विभेद पूर्ण व्यवहार गरिएको छ । ने.वि.संघलाई अधिवेशन गर्नबाट वञ्चित गरिएको छ ।
उमेर ने.वि.संघमा मात्र किन ? पार्टीभित्र ६० वर्ष लगाउने पर्दैन ? त्यस्तै अर्को बलियो भातृ संस्था नेपाल तरुण दललाई तदर्थवादमा संचालन भएको छ । ३, ४ जना मान्छे तोकेको भरमा त्यसको गरीमालाई समाप्त पारिएको छ । अन्य भातृ संगठनहरु पनि लथालिङ्ग र गाइजात्रै स्थितिबाट महाधिवेशन विनै गुज्रिराखेका छन् । नेपाली कांग्रेस पार्टीलाई युवा र निर्वाचन भन्न वित्तिकै टाउको दुखाई हुने कारण के हो ? यसको जवाफ पार्टी नेतृत्वले दिने कि नदिने ? पार्टीले सत्ता संचालन गर्ने अवसर प्राप्त गर्दा पनि उल्लेखनीय राम्रो काम गर्न सकेन ।
मन्त्री परिषद्मा पठाउदा पार्टीभित्रका राम्रा मान्छे भन्दा पनि हाम्रा मान्छे मात्र पठाएर सत्ता र पार्टी दुरुपयोग गरिएको छ । भ्रष्ट र अनियमित गर्नेलाई प्रोत्साहित गर्दा पार्टीको छवी धमिलो पारिएको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको टिकट वितरण पनि अपारदर्शी लेनदेनका भरमा टिकट वितरण गरिएको छ । टिकट दिंदा योग्य, क्षमतावान निष्ठाको राजनीति गर्नेलाई नदिएर पैसाको विटो तेर्साउने व्यक्तिलाई मात्र दिंदा जनताले तिनीहरुलाई ठेगान लगाइ दिएका छन् ।
गलत मान्छेलाई उम्मेदवार बनाएर पार्टी पराजित भए पछि, जनताले तिनी उम्मेदवारलाई भोट नदिए पछि उम्मेदवार बनेकाले पार्टीका इमान्दार सिपाइलाई अन्तरर्घाती भनी आरोप लगाएर आफू पानी माथिको ओभानो वनी रहेको छ । गलत प्रवृत्तिहरु पार्टीमा भित्राएर अवसरवादीको प्रभुत्वले कांग्रेसलाई कमजोर बनाएको छ र पार्टी अपारदर्शी ढंगबाट संचालन भएको लोकतान्त्रिक पद्धति र प्रक्रियामा चुकेको छ । (लेखक ने.वि.संघ बाह्रौं अधिवेशनका अध्यक्षका प्रत्यासी हुन् ।)