काठमाडौं । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले विधान संशोधनका लागि संस्थापन पक्षले जबर्जस्ती गरेमा वैकल्पिक प्रस्ताव लैजाने चेतावनी दिएका छन् । काँग्रेसको विधान मस्यौदा समितिका सदस्यसमेत रहेका नेता खाँणले अनावश्यक पदाधिकारी बढाउने गरी विधान संशोधन गर्न खोजिए आफूहरुलाई मान्य नहुने स्पष्ट पारे ।
खाँणले मस्यौदा समिति र केन्द्रीय समितिबाट बहुमतको बलमा पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेमा महाधिवेशनबाट आफूहरुले छुट्टै प्रस्ताव बहुमतले पारित गराउने बताए । ‘पहिला पहिला जस्तो ‘नोट अफ डिसेन्ट’ लेखेर लुरुलुरु पछि लाग्ने अवस्था अहिले छैन, हामी अनावश्यक तरिकाले पार्टीलाई भद्दा र भद्रगोल बनाउन कुनै हालतमा दिँदैनाैँ–तरुण विद्यार्थीले राजधानीमा गरेको कार्यक्रममा नेता खाँणले –भने ।
संस्थापन पक्षले पदाधिकारीको सङ्ख्या बढाउने कसरत गरिरहेका बेला खाँणको यस्तो भनाई आएको हो । विधानमा अहिले व्यवस्था गरिएका धेरै पदमा नियुक्त गर्न नसकिरहेका बेला अन्य पद थप्नु तर्क सङ्गत नभएको तर्क गरे । मुलुक सङ्घीयतामा गइसकेकाले प्रदेश समिति बनाउने गरी संशोधन गर्नुपर्ने बाध्यतालाई भने आफूहरुले पनि स्वीकारेको नेता खाँणले बताए ।
कार्यक्रममा काँग्रेसका अर्का केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले बुढा र काम गर्न नसक्ने नेतालाई राखेर केन्द्रीय समितिलाई ‘डम्पिङ साइट’ बनाउन नहुने धारणा राखे । केन्द्रीय सदस्य प्रकाशशरण महतले नयाँ संविधानको व्यवस्थाअनुसार संशोधन गर्नै पर्नेबाहेक अन्य विषयमा अहिले संशोधन गर्नु न्यायसङ्गत नहुने उल्लेख गरे । स्थानीयस्तरको अधिवेशन पुरानो विधानअनुसार अनि केन्द्रीय महाधिवेशन नयाँ विधानअनुसार गर्न खोज्नु अलोकतान्त्रिक हुने महतको तर्क छ ।