arrow

चीनमा डबल एघारको धमाका

logo
अजय अलौकिक,
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार

फेरि पनि चीनमा डबल एघारको चाड आइसकेको छ। यो कुनै परम्परागत सांस्कृतिक पर्व भने होइन। यसको चहलपहल हुने मुख्य स्थान ईन्टरनेट हो र विशेषत एक दिने दिवस हो। तर मुख्यतः ईन्टरनेटमा नै मनाइने दिवस भए तापनि हाल हरेक अनलाईन शपिङ साईट अनि पसल, मल साथै विभिन्न् व्यापारी घराना र ब्राण्डले समेत उक्त दिवस एक दिन होइन अगाडि पछाडि गरी पन्ध्र बीस दिन नै मनाउन थालेको देखिन्छ। एउटा पर्व नै बनिसकेको छ तापनि डबल एघार दिवस डबल एघार कै दिन बढि चर्चित छ र मानिसहरू यसै दिनको व्यग्र प्रतीक्षामा हुन्छन्।

सर्वप्रथम यो डबल एघार भनेको के हो तरु यो चार वटा एकलाई दुई दुई भागमा छुट्याएर दुई वटा एघार बनाइएको देखिने ग्रेगोरियन क्यालेण्डरमा आधारित छ। अर्थात् डबल एघारको अर्थ ग्रेगोरियन क्यालेण्डरको नोभेम्बर महिना र त्यसै महिनाको एघार तारिख हो। यसलाई चिनियाँहरूले सिंगल्स डेको रूपमा पनि मान्छन्। यो एकल अङ्क एकको समूह भएकाले एकल यानि कि सिंगल्स चिनियाँले सिंगल्स डेको रूपमा मनाउन थालेको थियो। हाल बजार र ईन्टरनेट बजार अनि किनमेल र छूटसँग जोडिए तापनि यस डबल एघार या एघार(एघारको सुरूवात नितान्त सिङ्गल्स डेको रुपमा नै भएको थियो।

सन् १९९३ मा नानचिङका विभिन्न यूनिभर्सिटीका जोडि नभएका विद्यार्थीहरूले नोभेम्बर ११ लाई सिङ्गल्स डेको रुपमा मनाउन सुरू गरेका थिए र तिनै विद्यार्थीहरूले नै विश्वविद्यालयपछि पनि यस चलनलाई विस्तारै समाजमा अघि बढाएका थिए भन्ने गरिन्छ। चीनमा लैङ्गिक असमानताले भयानक रूप लिएको छ हुन त पछिल्ला दशकमा यसको अनुपात घटाउँदै लगिएको छ तापनि सन् २०१४ को सरकारी तथ्याङ्कका अनुसार, जन्म दरको अवस्थामा लैङ्गिक अनुपात १०० केटीका लागि ११५।८८ केटा छन्, जुन असामान्य छ। एक तथ्याङ्क अनुसार, सन् २०२० सम्ममा १५ मिलियन चिनियाँ पुरूषलाई विवाह गर्न दुलहीको अभाव हुने छ। र सन् २०५० सम्ममा यो संख्या ३० मिलियन पुग्ने छ। त्यसकारण पनि यो डबल एघार या सिङ्गल्स डेको महत्व रहेको बुझ्नमा आउँछ तर त्यसो होइन यो क्वाङकुन च्ये अर्थात् सिङ्गल्स डेसँग सम्बन्धित नै छैन भन्दा फरक पर्दैन।

यो सबै किसिमका ग्राहकलक्षित चाड बनेको छ। यो सिङ्गल्सका लागि मात्र छुट र भारि डिस्काउंटको पर्व होइन। हो, डबल एघार विवाहका लागि दुलहा, दुलही खोज्ने दिन पनि बनेको छ र साथै यसै दिन पारेर विवाह गर्ने परम्परा पनि बनेको छ। यहाँ एघारले दुई जनाको एउटा सुखद समूह पनि जनाउँछ भन्ने मान्यता रहेको छ।

तर यसलाई एघार एघार, डबल एघार, सुवान सई, क्वाङकुन च्ये, सिङ्गल्स डे जे भने नि यो एउटा ग्राहक र व्यापारीको चाड बनेको छ। यो ग्राहक र व्यापारीबीचको भ्यालेन्टाईन्स डे बनेको छ। यसले अनलाइन किनमेल पर्वको रुपमा परिचय स्थापित गरेको छ। त्यस माथि हिजोआज मानिसहरू व्यस्तता या सुविधाका कारणले ई(शपिङमा आकर्षित छन् नै र त्यसमाथि सामान हेरिहेरीकन् नब्बे प्रतिशतसम्म या झण्डै सय प्रतिशतसम्म पनि छूट उपलब्ध हुने भएकाले डबल एघारले धेरैभन्दा धेरै ग्राहक आकर्षित गर्न सफल भएको देखिन्छ।

हुन त हाल आएर डबल एघारको दिन मात्रै होइन विभिन्न प्लेटफार्म, वेबसाइट तथा व्यापारी घराना र पसल अनि मलमा नोभेम्बर नआँउदै नै यो पर्वको धमाका, बम्पर बोनान्जा सुरू भइसकेको छ, हुन्छ। त्यस्तै जेडी डटकमले त नोभेम्बर एकदेखि एघारसम्म नै यस चाड मनाउन थालेको छ। तापनि डबल एघारको दिनको महत्व र धमाका भिन्न छ। यसलाई चीनको ब्ल्याक फ्राइडे या साईबर मण्डे भन्न सकिन्छ। यस दिनको पहिलो सेकेण्डदेखिनै लाखौंको कारोबार सुरू भइसक्छ, मिनेट अनि घण्टामा हरेक वर्ष रेकर्ड नै सिर्जना गर्दैआएको छ। गत वर्ष, सन् २०१७ नोभेम्बर ११ को डबल एघारमा झण्डै २५ अर्ब अमेरिकी डलरको कारोबार गरेको थियो। चौबीस घण्टा भित्र ८१२ मिलियन अर्डर आएको थियो।

साथै यो पर्व हाल चिनियाँको मात्रै होइन, ईन्टरनेट उपलब्ध देशका जो कोही पनि ग्राहक बन्नसक्छन्। त्यसबाहेक कतिपय देशमा पनि यो डबल एघारका जन्मदाता कम्पनी अलिबाबा प्रवेश गरी सकेको छ। नेपालमा दराज अनलाईन मार्फत प्रवेश गरेको छ। हाल धेरै नेपाली ईन्टरनेट प्रयोगकर्ता पनि डबल एघारको पर्खाईमा छन्, शायद।

यसरी चीन मात्रै नभइ विश्वमा नै डबल एघारको चाड चलनमा ल्याउने व्यक्ति हुन्, मा युन जो ज्याक माको रूपमा विश्व प्रसिद्ध छन्। ज्याक माले सन् २००९ को नोभेम्बर ११ बाट डबल एघारको प्रचलन शुरु गरेका हुन्। उनले यस तारिखलाई आफ्ना लागि पैसा कमाउने दिन बनाए भने अरू सबैलाई सामान सहुलियत अनि छुटमा पाउने डबल एघार दिवसको रूपमा बनाए।

उनको अलिबाबा कम्पनीका वेबसाइट थाओपाओ ९ताओबाओ० र टिमलमा ग्राहकको भिडले सर्भर नै डाउन हुने गरेको छ र हरेक वर्ष ईन्टरनेट अनि सामान पुर्याउने तरिकामा पनि चाँडोभन्दा चाँडो ग्राहकसम्म पुर्याउन नयाँ नयाँ पन भित्र्याइरहेका छन्।

अनि हरेक वर्ष डबल एघार अर्थात् नोभेम्बर ११ को प्रतीक्षा सबैसबै ग्राहकलाई हुने गरेको छ। आफूलाई आवश्यक सामान समेत भारी छुटको बेला किन्न ग्राहकहरू प्रतीक्षारत हुन्छन्, त्यसबाहेक भारी छुटको लोभले किन्ने पनि छदैँछ। साथै नोभेम्बर ११ को पहिलो सेकेण्डदेखि अरबौं रूपैँयाको आकंडामा कारोबार हुँदै नयाँ नयाँ रेकर्डको सिर्जनाका कारण व्यापारी, व्यवसायी, विज्ञ, सर्वसाधारण अनि ग्राहक सबैको ध्यानाकृष्ट हुँदैआएको छ।

यो डबल एघार या यस्ता किसिमका डिस्काउंट र अफरले ग्राहकलाई फाइदा हुनसक्छ तर डिस्काउंट र प्रोमोशनल सेलको नाममा कमसल सामान पनि बेच्ने गरेका छन् व्यापारीले अनि त्यसै गरी डिस्काउंटको लोभमा ग्राहकले अनावश्यक सामान खरिद पनि गर्ने गर्छन्। यतातिर पनि ध्यान पुर्याउनसके यस्ता उत्सव फाइदाजनक नै हुनेछ।

 (लेखक, जनगणतन्त्र चीनको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो पैचिङका विशेषज्ञ हुन्।)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ