arrow

अतिराष्ट्रवादले खाँदैछ विश्व

logo
चिरञ्जीवी आचार्य,
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
nationalism-albert-einstein.jpg

काठमाडौं। जो कोहीमा पनि धेरथोररुपमा आफ्नो मुलुकप्रतिको राष्ट्रप्रेम हुन्छ। जसको कारण संसारमा आफ्नो मुलुक हरेक पक्षमा सबल बन्दै जाओस् भन्ने चाहना सबै मानिसहरुमा हुन्छ। त्यसैले कुनै पनि मुलुकको राजनीतिक नेताहरुले पनि राष्ट्रवादको योजनालाई निकै महत्वका साथमा अघि सार्ने गरेका छन्।

पछिल्लो केही समययता भने राष्ट्रवादलाई गलत प्रयोग हुँदै आएको छ। विश्वका विभिन्न मुलुकहरुमा अतिराष्ट्रवादी नाराहरुको सहयोगमा चर्चित हुने क्रम बढ्दो मात्रामा छ। धेरैजसो मुलुकहरु अहिले अतिराष्ट्रवादको नारामा रुमल्लिरहेको छन्।

प्रजातान्त्रिक मुलुकहरुमा मत पाउने सबैभन्दा सजिलो उपाय राष्ट्रवादको नारा हुदैछ। राष्ट्रवादका कुराहरुमा मानिसहरुलाई सहजै भावनात्मकरुपमा आफ्नो पक्षमा पार्न सकिने भएको कारण यस किसिमका नाराहरुको प्रयोग धेरै हुने गरेको हो। यसैक्रममा विश्वका केही मुलुकहरुमा यस्तै नाराहरुबाट भर्खरै अतिराष्ट्रवादी शक्ति सत्तामा आएका छन्। जसमध्ये केही मुलुकहरु यस्ता छन्–

१. अमेरिका 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उदय पनि अतिराष्ट्रवादी योजनाहरुबाट भएको हो। उनले अघि सारेको ‘सबैभन्दा पहिला अमेरिका’ भन्ने नीतिको कारण उनको पक्षमा धेरै मानिसहरु आकर्षित भएका थिउ। उनले ल्याएको योजनाको कारण अहिले आर्थिक तथा व्यापारिक हिसाबमा अमेरिकालाई मात्र फाइदा हुने किसिमका छन्। यसै क्रममा विभिन्न व्यापार सम्झौताहरुबाट अमेरिका बाहिरिसकेको छ भने विश्वका केही मुलुकहरुबाट आउने सामग्रीहरुमा आयातकर बढाउने निष्कर्षमा पुगेको छ। ट्रम्पको यस किसिमको निर्णयका कारण पछिल्लो समय विश्वव्यापी रुपमा उसको प्रभाव पनि केही मात्रामा कमजोर बन्दै गएको छ। 

२. बेलायत 
युरोपमा अतिराष्ट्रवाद तथा सस्तो लोकप्रियताको माध्यमबाट निस्केको अर्को समस्या ब्रेक्जिट हो। यो महिनामा बेलायत र ईयूले यसलाई टुङ्ग्याउन नसक्ने देखिन्छ। यस साता बेलायती प्रधानमन्त्री थेरेसा मेले यो सम्झौताको खाकामा सहमति जुटाउन पनि सकिनन्। अहिले बेलायत कुनै सम्झौता विना नै ईयूबाट बाहिरिने तरखरमा रहेको छ। 

यसले भने आगामी दिनमा धेरै ठुलो समस्या सिर्जना हुनसक्ने भन्दै विश्लेषकहरुले चेतावनी पनि दिँदै आएका छन्। ईयूको दोस्रो सबैभन्दा ठुलो अर्थतन्त्र बोकेको मुलुक बाहिरिनुले पक्कै पनि ईयू समस्यामा पर्नसक्ने अधिकारीहरु बताउँछन्। अझै पनि बे्रक्जिट प्रक्रिया पूरा भइसकेको छैन। पुनः ब्रेक्जिटको विषयमा मतदान हुनुपर्ने माग विभिन्न संस्थाहरुले राख्दै आएका छन्।

३. इटाली 
पछिल्लो समय ईयूमा इटालीबारेको चिन्ता बढेको छ। इटालीको बजेटको खाका ईयूले अस्वीकृत गरेसँगै इटालीमाथिको संकट बढेको हो। इटालीको अहिलेको सरकारले पनि केही नाराहरुको आधारमा निर्वाचनमा पकड बलियो बनाएको हो। अहिले इटालीको विषयमा देखिएको समस्या इटालीको मात्र नभई युरोक्षेत्रकै टाउको दुखाई बन्दै गएको छ। 

निर्वाचित इटालियन नेताले ईयूमा नै रहने विषयमा प्रतिबद्धता जाहेर गरेका छन्। यद्यपि इटालीको लागि ऋणले भने ठुलो समस्या सिर्जना गर्नसक्ने बताइएको छ। अहिले इटालीसँग विश्वको तेस्रो सबैभन्दा उच्च स्तरको ऋणको जोखिम रहेको छ। यसले पनि इटालीमा आर्थिक समस्या देखिएको हो। विभिन्न आर्थिक निकायहरुले इटालीको यो ऋणको विषयमा चेतावनी दिँदै आएका छन्। इटालीका नेतृत्वले अहिले अपेक्षा गरिएअनुसारको नतिजा भने दिन सकेको छैन। यसअघिका वाचाहरु पूरा गर्नका लागि पनि इटालीको सरकारमाथि सार्वजनिक दबाब बढ्दो क्रममा रहेको छ।

४. ब्राजिल
ब्राजिलले भर्खरै मात्र आफ्नो मुलुकको नयाँ राष्ट्रपति छानेको छ। जेयर बोल्सोनारोले २०१९ को जनवरी एकबाट मुलुकको राष्ट्रपति पद सम्हाल्नेछन्। उनी पनि अतिराष्ट्रवादी नाराहरु दिएर सत्तामा आएका हुन्। उनी पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पद पछ्याउने योजनामा रहेका छन्। उनले यसअघि नै ब्राजिल पेरिस सम्झौताबाट बाहिरिने बताइसकेका छन्। त्यसका साथै बोल्सोनारोले आफ्नो इजरायलको राजदूतावास पनि जेरुसलेममा सार्ने बताइसकेका छन्। पछिल्लो समय ब्राजिल चरम आर्थिक संकटमा रहेको र मुलुकको ठुला भ्रष्टाचारका मुद्दाहरुले समस्यामा परेकोमा बोल्सोनारोले अतिराष्ट्रवादी नारा लगाउँदै मानिसहरुको मत बटुल्न सफल भएका थिए। 

भारतमा के होला ? 
भारतमा पनि सन् २०१९ मा नयाँ सरकारको लागि निर्वाचन हुँदैछ। यो निर्वाचनमा कसको पल्लाभारी होला भन्ने विषयमा चर्चा सुरु भइसकेको छ। सत्तामा रहेको भारतीय जनता पार्टी (बीजेपी) र कांग्रेस आईको बीचमा मुख्य प्रतिस्पर्धा हुने निश्चितप्राए छ। यसअघिको महत्वपूर्ण सुधारका योजनाहरु ल्याएर सत्तामा आएको बीजेपी पुनः सत्तामा आउनका लागि विभिन्न किसिमका योजनाहरु निर्माण गर्ने क्रममा रहेको छ भने कांग्रेस आई गठबन्धन बनाएर भए पनि उसलाई हराउने ध्याउन्नमा रहेको छ। 

यस्तोमा विश्वव्यापीरुपमा चलेको एक किसिमको तरङ्गलाई हेर्ने कुनै एक पक्षले यो निर्वाचनमा अतिराष्ट्रवादी नारालाई अघि सार्नसक्ने देखिन्छ। यस्तोमा इरानबाट तेल खरिद गर्ने मामिला र रुससँगको मिसाइल खरिदको विषयलाई कसरी टुङ्गो लगाउँछ भन्ने कुरा पनि सो निर्वाचनको महत्वपूर्ण हतियार बन्नसक्छ। यो मामिलामा पनि अमेरिकाले केही गर्न नसकेको भन्दै मानिसहरुको मत तान्ने रणनीति सत्तापक्षको रहेको देखिन्छ। 

नेपालको परिप्रेक्ष्य 
एक वर्षअघि नेपालमा भएको निर्वाचनमा राष्ट्रवादका केही सुनौला नाराहरु घन्काइएका थिए। भारतीय नाकाबन्दीको विरोध गरेको नेपालको भारतमाथिको निर्भरता केही कम गराउन सफल भएको भन्दै केपी शर्मा ओलीको सरकारको प्रशंसा गर्दै मानिसहरुले वाम गठबन्धनलाई धेरै मत दिएर जिताए। अन्य मुलुकहरु र नेपालको हकमा भने केही फरक देखिन्छ। 

अमेरिका, ब्राजिल, इटाली होस् वा अन्य कुनै पनि मुलुकमा जुन नारा लिएर जिताइएको छ, सोही नाराको लागि काम भइरहेको देखिन्छ तर नेपालमा भने निर्वाचनमा जित हासिल गरेपछि उक्त नाराहरु कुन रद्दीको टोकरीमा मिल्काउने प्रचलन भने हट्न सकेको छैन। अन्य मुलुकमा अति राष्ट्रवादी नाराहरुमा मत पाएकाहरुले आफ्नो काम सुरु गरिसकेका छन् तर नेपालमा भने सरकारले जनताहरुमा निराशा मात्र छर्ने काम गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ