arrow

के हो यमपञ्चक ?, यमराजसँग कागको के सम्बन्ध छ ? (अन्तर्वार्ता)

कागको पूजा हिन्दू धर्म मात्रै होइन, वौद्ध धर्ममा पनि हुन्छ

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
jagaman.JPG

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयसम्म मनाइने हिन्दूहरुको ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएको छ । पाँच दिन झिलीमिलीको पर्व दिपावली मनाइन्छ । यो अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा विदा लिएर बस्ने विश्वास गरिन्छ । त्यसैले यस अवधिलाई यमपञ्चक भनिन्छ । के हो ? त यमपञ्चक ? भनी हामीले संस्कृतिविद् डा. जगमान गुरुङसँग कुरा गरेका छौँ । 

० यमपञ्चक भन्नाले के बुझ्नुपर्छ ?
– पञ्चक भनेको पाँच दिन, यम भनेको नियम हो । नियम भनेको धर्म हो । धर्म भनेको आचारसंहिता हो । यमपञ्चक शास्त्रीय नाम हो । तिहारको पाँच दिन, गाउँघरमा यमपञ्चक भनेको बुझ्दैनन । तिहारको पाँच दिन । तिहारको पाँच दिन र यमपञ्चकले मानव सभ्यता र संस्कृतिको पाँचवटा विकासक्रमलाई दर्शाएको छ ।

० यमराजसँग जोडिन्छ नि ?
– यमराजसँग जोडिएको पौराणिक कथा हो । वैदिक कथा र पौराणिक कथा फरक हुन् । अहिले यमराजलाई धर्मराज पनि भन्दछन् । तर यमराज भन्नासाथ गाउँघरमा नकरात्मक ठान्छौं । पाप पुण्यको साक्षीको रुपमा लिन्छौं । पापीलाई नर्क पठाउने र धर्मात्मीलाई स्वर्ग पठाउने यो पौराणिक कथा हो । तर यम भनेको नियम हो । जस्तो योग, नियम, आसन भनिन्छ । यम भनेको नियम हो, नियम भनेको धर्म हो । यम अर्थात् धर्मराजसँग जोडिएको कथा पौराणिक कथा जोडियो, जुन पहिले थिएन । पहिले यमयदिको कथा थियो । अहिले यमराज र यमुनाको कथा छ । दाजुबहिनीको । ऋग्वेदी कालमा यमयदिको कथा थियो । वैदेशिक र पौराणिक संस्कृति धेरै फरक छ ।

० अहिले हामीले मानेको कुन संस्कृति हो ?
– यो पौराणिक संस्कृति हो, तर त्यसमा वैदिक संस्कृतिको पनि झलक छ । मानव सभ्यता र संस्कृतिको विकासक्रम अथवा पाँचवटा श्रृङ्खला हो । मानिस सभ्य र सुसंस्कृत अवस्थामा त्यसै आएको होइन । पहिले मान्छे पनि पशुजस्तै थियो । त्यो पासिविक अवस्थाबाट सुधार हुँदै अहिलेको अवस्थामा आयो ।

० यमपञ्चकले के कुरालाई बुझाउँछ ?
– कागतिहारलाई मानिसको दुरुह जीवनलाई जनाउँछ । मानिसको स्थायी घरबास थिएन, लुगाफाटो पनि थिए । त्यसपछि कुकुर तिहारले शिकारी अवस्थालाई संकेत गर्छ । त्यसपछि गाई तिहार आयो । गाइ तिहारले पशुपालन अवस्थालाई संकेत गर्छ । गोरु तिहारले कृषिकर्मको संकेत गर्छ । त्यसपछि मान्छे तिहार भनेको भाइटिका । यो नैतिकतामा आधारित छ । नैतिकतामा आधारित सभ्यता र सुसंस्कृत मानव भन्ने दर्शाउँछ । त्यसकारण यमपञ्चकले संस्कृति र सभ्यताको पाँचवटा अवस्थालाई बुझाउँछ ।

० यम दुतिया भनेको के हो ?
– कार्तिक शुक्लपक्षको दुतिया तिथिलाई यम दुतिया भनिन्छ । भारतमा त्यसलाई भैयादूत भन्दछन् । शास्त्रीय भाषामा यमदुतिया, भारतमा भैयादूत र नेपालको पहाडतिर भैयादूत भन्दछन् । दुतियाका दिन यमराज आफ्नी बहिनी यमुनाका घरमा टिका लगाउन गए । त्यही परम्पराअनुसार दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाए त्यसलाई यमराजको भय हुँदैन भन्ने पौराणिक कथा हो । तर वैदिक कथा अर्कै छ । चार बेदमध्येको जेठो बेद ऋग बेद हो । ऋगवेदनमा यमयदि भन्ने शुक्द छ । शुक्द भनेको कथा हो । यम र यमी जुम्लिया दाजुबहिनी हुन् । उमेर अवस्था पुगेपछि बहिनी यमीले दाजु यमलाई वैवाहिक सम्बन्धमा बाँधियौं भनेर आग्रह गर्छिन् । अर्थात् दाजु बहिनी यौन सम्बन्ध राखौं भनिएको हो । तर दाजु यमले बहिनीलाई सम्झाउँछ । दाजु बहिनीबीच वैवाहिक सम्बन्ध कायम हुनुहुँदैन । तिमी अर्कै पुरुषलाई रोजेर वैवाहिक सम्बन्ध कायम गर । सुखसँग तिमी जीवन बिताउँ । ऋगवेद कालमै यमले आदर्शपूर्ण जीवनको सुरुवात गरायो । त्यही कुरा पौराणिक कालमा यम र यमुनामा रुपान्तरण भयो । त्यस कारण वैद्विक कथा, पौराणिक कथा, वैद्विक संस्कृति, पौराणिक संस्कृति फरक छ । 

० तिहारको  पाँच दिन लामो श्रृंखला छ । जस्ताे पहिलो दिन काग तिहार । कागलाई हामीले पूजा गर्नुको कारण ? 
–मैले अघि नै पनि भने । अहिले यसमा धेरै कुराहरु मिसियो । कागलाई यमराजको दूतको रुपमा मानेको छ, हिन्दू धर्मले । वौद्ध धर्ममा पनि काकास्य, उल्कास्य भन्ने देउता हुन्छ । काकास्य भनेको कागको टाउको भएको देउता । उल्का भनेको उल्लू लाटोकोसेरोको टाउको भएको देउता हुन्छ । बज्रयान भयो । कागको टाउको भएको देउतालाई तीब्बतमा च्यारोक चञ्चन भनिन्छ, रामाष्टिक बुद्धिजममा । च्याओ भनको चरो । रोक भनेको काग । कागको टाउको भएको चरा हुन्छ, च्यारोक चञ्चन । यता यमको दूत भन्यो । यमराजलाई कसरी अन्त्य गर्ने त ? भन्ने काकास्य, उल्कास्य, च्यारोक चञ्चन ‘रामाष्टिक बुद्धिजममा’ । गुरुङहरुको घ्याब्री हुन्छ पुरेत । उसँग पनि एउटा काठको चरो हुन्छ । तीब्बतमा च्यारोक चञ्चन भयो । गुरुङको शास्त्रीय भाषामा च्यारुरु भनिन्छ । च्या भनेको चरा हो । रुरु भनेको काग हो । तर, बोली चालीको भाषामा अहिले कौवा भन्छन् । मृत्यु संस्कारमा मृतकलाई प्रेतआत्माबाट मुक्त गराउन घ्याब्रीले काठको चरोको प्रयोग गर्छ । भन्नाले यमसँग, मृत्युसँग कागको सम्बन्ध छ । त्यसैले कागको पूजा गर्ने चलन रहयो । कागले भलो समाचार ल्याओस्, कुभलोका समाचार नल्याओस् भन्ने कामना गर्ने । मृत्युको भय हटाओस् भन्ने । अर्केअर्कै मान्यताहरु थपिँदै आए । तर, आदिममा काग तिहारले घुमन्ते जीवनलाई संकेत गर्दछ । यसरी पनि बुझ्दा हुन्छ, पहिले ढुंगे युगमा हुँदा मान्छे घुमन्ते थियो । यो पाँच दिनको यमपञ्चकले मानवको विकासक्रमलाई बुझाउँदछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ