arrow

‘आलु पार्टी’ मा हास्यव्यङ्ग्य प्रस्तुति

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
aalupati.JPG

ललितपुर । कागतिहारका उपलक्ष्यमा स्रष्टाहरुले कविता, मुक्तक, गीत, नृत्यलगायत विधामार्फत हास्यव्यङ्ग्य प्रस्तुत गरेका छन् । हासने प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘आलु पार्टी’ मा जावलाखेलस्थित हासनेघरमा जीतु नेपाल, केरा अर्याल, घनश्याम गौतम, डम्बर घिमिरे, कल्याण राना, पिँडालु पौडेल, बमबहादुर जितालीलगायतले सिर्जना प्रस्तुत गरे ।

प्रतिष्ठानका अध्यक्ष रामकुमार पाँडेले चार दशक पहिलेदेखि काग तिहारका दिन हास्य कार्यक्रमको आयोजना हुँदै आएको बताए । हास्य क्षेत्रमा कार्यरतले काग तिहारलाई सम्पूर्ण हास्य दिवसका रुपमा मनाउँदै आएका छन् । वर्षेनी यो दिन हास्य कलाकार, चित्रकार, लेखकलगायत एक ठाउँमा जम्मा हुने गरेका छन् । चार दशकमा करीब डेढ सय कलाकारले आआफ्नो प्रस्तुति दिएको उनले बताए ।
 
कलाकार जीतु नेपालले विदेशमा बस्ने धेरै नेपालीले नेपाली कलाकार नचिनेको गुनासो गरे। उनले भने, “आमाबाबा हामीसँग फोटो खिच्न आउँदा बालबालिका को हो भनेर सोध्छन् ।” दुई तिहाइको सरकार नेपाली जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ हुन नहुने उनले बताए।

चलचित्र ‘छक्का पञ्जा–३’ का दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायतलाई प्रतिष्ठानले आलुको माला लगाइदिएर सम्मान गरेको थियो ।
 
कार्यक्रमपछि आलुको परिकार सेवन गरिएको थियो । पाँडेले भने, “सबै परिकारमा प्रयोग हुने आलु सस्तो र सबै खानेकुरामा मिल्छ भने हास्यव्यङ्ग्यमा पनि साङ्केतिक रुपमा यसको प्रयोग हुन्छ ।” रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ