मुटुरोगबाट बच्न यी उपाय अपनाउनुहोस्

प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार
फाइल तस्विर

काठमाडौँ। मानिसले स्वस्थ खानपिन गर्ने, व्यायाम गर्ने र आफ्नो जीवनशैलीमा ध्यान दिएमा सम्भावित मुटुरोगबाट बच्न सकिने मुटुरोग विशेषज्ञले बताएका छन् ।
 
मुटुरोग विशेषज्ञ प्रा डा यादव भट्टले मद्यपान नगर्ने र दैनिक आचरणमा ध्यान दिने हो भने मुटुसम्बन्धी समस्याबाट बच्न सकिने बताए। उपयुक्त उपचार, नियमित औषधि सेवन र स्वस्थ जीवनशैलीले मुटु रोगबाट बच्न सकिने उनको भनाइ छ ।
 
मुटुरोग शल्यचिकित्सक डा ज्योतिन्द्र शर्माले धेरै जनमानसमा मुटुको शल्यक्रिया गरेपछि केही गर्न सकिँदैन भन्ने आशङ्का रहेको बताउँदै शल्यक्रिया गरेका मानिसले पनि अरु सामान्य मानिसजस्तै सजिलै आफ्ना दैनिक क्रियाकलाप गर्न सक्ने बताए ।
 
उनले भने  –“मुटुरोगको शल्यक्रिया गरेपछि नियमित व्यायाम गरिरहनुपर्ने, औषधि नियमित खाइरहनुपर्ने हुन्छ । तर अन्य जीवनयापनका हरेक काम गर्न सकिने भएकाले म रोगी हुँ भन्ने भाव राख्नुपर्दैन ।”
 
उनले सबैखाले मुटुको रोगमा शल्यक्रिया नै गर्नु नपर्ने बताउँदै औषधिको प्रयोगबाट निको नहुने रोगलाई मात्र शल्यक्रिया गर्नुपर्ने बताए । छाती रोग विशेषज्ञ डा जेपी जैसवालले सबैखाले छातीको दुखाइ मुटु रोगको लक्षण नहुने स्पष्ट पारे।
 
उनले भने  – “मुटुको दुखाइ भए २० मिनेटसम्म दुख्छ । हिड्ँदा दुखाइ बढ्ने बस्दा कम हुने, दुखाइ चिउँडो, पेटसम्म सरेर दुख्ने भएमा मुटुको समस्या हुनसक्छ । उच्च रक्तचाप भएका, मधुमेहका बिरामी, आमाबुबालाई हृदयाघात भएका बिरामीलाई यस्तोखालको दुखाइ हुने ८० प्रतिशत सम्भावना रहन्छ ।”
 
पोषण विज्ञ प्रनिति सिंहले मुटुका रोगीले मात्र होइन अरुले पनि खानपानमा निकै ध्यान दिनुपर्ने बताए  । खासगरी मुटुरोगीले फलफूल, मौसमी हरियो तरकारीजस्ता रेसादार खानेकुरा खानुपर्ने, जौका खानेकुरा, भटमासजस्ता खानेकुरा खानुपर्ने उनको भनाइ छ । खानेकुरा एकैपटक टन्न हुने गरी नखाई थोरैथोरै गर्दै समय समयमा खानुपर्ने पनि उनले बताए ।

नयाँ