arrow

जहाँ श्रीमानहरु श्रीमतीहरुलाई परिवार नियोजनको अस्थायी साधन लिन पठाउँछन...

एचआइभी सङ्क्रमित नै स्वयंसेविका 

logo
विष्णु नेपाल,
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
family-planning.jpeg

झुम्का। तलका संवाद विगत ६ वर्षदेखि नेपाल परिवार नियोजन सङ्घ, सुनसरी जिल्ला शाखा झुम्काद्वारा सञ्चालित सामुदायिक क्लिनिककी स्वयंसेविका चन्द्रा र स्थानीय सविना बीचका हुने गरेका छन्। 

सविना चौधरी: दिदी छ ? 
चन्द्रा चौधरी: के छ भनेको ? छैन, छैन । श्रीमान्लाई नै लिन पठाइदेऊ, कहाँ जानुभो र उहाँ ? 
“होइन, दिदी नलिइकन जान्न है म त ।” सविनाले थपिन् । 
“श्रीमान्का लागि ढाल (परिवार नियोजनको अस्थायी साधन) लिन आएकी हौली होइन ? के भन्छ्यौ भनेर सोधेको नि !” 


“कुराकानी सुनियो है । सुनेर केही हुँदैन”, यो संवादातासित खुलेर चन्द्राले कुरा अगाडि बढाइन्, “केही वर्ष अगाडिसम्म गाउँका पुरुष ढाल प्रयोग गर्न हिचकिचाउँथे । यसको महत्वका बारेमा सम्झाएपछि ढाल चाहियो भनेर आफैँ क्लिनिक आउन थाले ।” 

“तर आजभोलि यहाँका केही पुरुषहरु आफ्नी श्रीमतीलाई ढाल लिन पठाउँछन् ।” उनले भनिन् । किन त ? भन्ने प्रश्नमा उनको जवाफ थियो, “पछिल्लो समय बच्चा धेरै जन्माउनु हुँदैन भन्ने जानकारी एवं सचेतना महिलामा बढेको छ । समुदायमा ‘सानो परिवार, सम्पन्न र सुखी परिवार’को धारणा हुर्किँदै गएको छ । महिला तथा पुरुष दुवैमा परिवार नियोजनका साधन प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ । मेरो त एउटा मात्र छोरा छ, अर्का बच्चाको कमै चाहना छ ।” 

सुनसरी जिल्ला रामधुनी नगरपालिका–५ मा क्लिनिक सञ्चालित छ । यहाँ मुसहर र बाँतर समुदायको पनि बसोबास छ । उनीहरु तराई-मधेशमा बसोबास गर्ने समुदायमध्ये आर्थिक र सामाजिकरूपले अति नै पछाडि रहेका समुदायमा पर्दछन् । 

“आजभोलि ती समुदायलगायत अन्य समुदायका महिलाले तीनभन्दा बढी बच्चा कमैले जन्माउँछन् । कम उमेरमा विवाह गर्ने प्रचलन हट्दै गएको छ । गर्भवती हुनुपूर्व, भएपछि गर्भ जाँच गराउन, स्वास्थ्य संस्थामा नै सुत्केरी हुन, शिशुलाई आवश्यक सबै प्रकारका खोप लगाउन प्रायः कोही छुटाउँदैनन् । स्वास्थ्य सचेतना र परिवार नियोजनका बारेमा ज्ञान बढ्दो छ ।” क्लिनिक प्रमुख ईश्वरचन्द्र चौधरीले सुनाउनुभयो । 

उहाँ भन्नुहुन्छ, “महिलामा परिवार नियोजनका साधन तीनमहीने सुई, पिल्स, डिपो, इन्प्लान्ट लगाउनेको सङ्ख्या धेरै रहेको छ । सुरक्षित गर्भपतन, यौन तथा प्रजनन् स्वास्थ्यको सचेतना बढ्दो छ । पुरुषले स्थायी परिवार नियोजन गर्ने सङ्ख्या पनि उल्लेख्य रहेको छ ।” 

किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा क्लिनिक भवनमा रहेको युवा सूचना केन्द्रमा बसेर बहस गर्दछन् । जनता मल्टिपल कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत् किशोरी मन्दिरा बाँस्तोला वृहत् यौनिकता शिक्षाका महत्वका बारेमा विद्यालयमा पुगी जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरेको बताउनुहुन्छ । 

उसो त सङ्घको सुनसरी शाखाले नै इटहरीमा परिवार स्वास्थ्य केन्द्र पनि सञ्चालन गरिराखेको छ । यतिखेर सुरक्षित गर्भपतन, गर्भवती तथा सुत्केरी जाँच, खोप सेवा, यौनरोग परीक्षण, प्रजनन् तथा परिवार नियोजन सेवाका लागि केन्द्र आकर्षणको केन्द्र बनिरहेको छ । 

केन्द्रमा आउने विशेषतः महिला सेवाग्राही आ–आफ्ना समस्या विना हिचकिचाहट स्वास्थ्यकर्मी समक्ष राख्दछन् । इटहरी उपमहानगरपालिका–७ की रिस्ता अधिकारीले भनिन् “छोरी सात महिनाकी पुगी, तल्लो पेट असाध्यै दुखिरह्यो । परीक्षण गरेको त चिकित्सकले गर्भवती भएको जानकारी दिनुभयो । श्रीमान्लाई साथमा लिएर सुरक्षित गर्भपतन गराउन यहाँ आएँ । अन्य अस्पतालमा भन्दा यहाँको सेवा सुरक्षित र उत्कृष्ट छ ।” 

केन्द्रले कुनै महिना त सर्जिकल र औषधि गरी १०० भन्दा बढी गर्भपतन सेवा प्रदान गर्ने गरेको जनाएको छ । गर्भवती जाँच सेवा लिन त दैनिक १५० भन्दा बढी महिला आउने गर्दछन् । बालबालिकलाई खोप लगाउनेको त भीड नै लाग्ने गर्दछ । 

“रजस्वला हुन रोकिएपछि जाँच गराउन आएको त गर्भवती भएको जानकारी पाएँ । खुशी छु । गर्भवती भएपछिका अन्य जाँच पनि यहीँबाट लिन्छु ।” सोही उपमहानगरपालिका–३ की २२ वर्षीया विमला ढुङ्गानाले भनिन् । 

केन्द्रमा दुई वर्षदेखि कार्यरत डा महेश्वर यादवका अनुसार पाठेघरको मुखबाट सेतो पानी बगी हुने सङ्क्रमण परीक्षण गर्न आउने महिलाको सङ्ख्या अत्यधिक छ । सो सङ्क्रमणको समयमा उपचार नभए क्यान्सर हुने जोखिम उच्च रहन्छ । 

हालसम्म केन्द्रले प्रदान गरेका सुरक्षित गर्भपतन, गर्भवती सेवा, खोप, यौन तथा प्रजनन् स्वास्थ्य तथा परिवार नियोजनका सेवाप्रति कुनै गुनासो नआएको सङ्घका सुनसरी कार्यक्रम व्यवस्थापक डम्बरमान श्रेष्ठले बताए । 

यहाँ कार्यरत् चिकित्सक, नर्सलगायत अन्य स्वास्थ्यकर्मीका मुस्कानसहितको छिटो सेवा तथा रु ३० को टिकट लिएपछि सबै सेवा पाउने भएपछि यतिखेर केन्द्र महिलाका लागि सहारा केन्द्र बनेको छ । 

एचआइभी सङ्क्रमित नै स्वयंसेविका 

अर्कातर्फ, सुनसरी जिल्लालाई एचआइभी सङ्क्रमितरहित जिल्ला बनाउने अभियानमा एचआइभी सङ्क्रमित एक महिला लागेकी छिन् । 

आफ्ना श्रीमान्बाट सङ्क्रमित हुन पुगेकी उनी भन्छिन् “किशोर किशोरीलाई लागुपदार्थ कुलतबाट टाढा राख्नुपर्छ । असुरक्षित सुईको प्रयोग र यौनसम्पर्क नै एचआईभी सङ्क्रमणको मुख्य कारकतत्व बनेको छ । घर परिवारले आफ्ना छोरा छोरीमाथि निगरानी बढाउन जरुरी छ ।” 

श्रीमान्को एचआईभी एड्सका कारण अकालमा मृत्य भएपनि कक्षा ११ मा पढ्ने एकमात्र छोरालाई एचआईभी नदेखिएकोमा खुशी हुँदै उनले भनिन् “मैले जस्तो पीडाले कसैले पनि बाँच्न नपरोस् भनेर स्वयंसेवामा लागेकी हूँ ।” उनी एचआईभीको जोखिम क्षेत्रमा पुगी यसका जोखिमका बारेमा जानकारी गराउने, यस्ता समस्या भएकालाई उपचार सेवा लिन स्वास्थ्य संस्थामा ल्याउन सहयोग पुर्‍याउँछिन् । 

उनका अनुसार पछिल्लो समय सुनसरीमा एचआईभी सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । एचआइभी सङ्क्रमितले खाने औषधि एआरभी लिनेको सङ्ख्या नौजना मात्र रहेको छ । 

परिवार स्वास्थ्य केन्द्र इटहरीले यौनरोग परीक्षण तथा उपचार एवं एचआइभी÷एड्स परीक्षण सेवा पनि प्रदान गरिराखेको छ । सङ्घका पैरवी अधिकृत जमुना सिटौला एचआईभी रोकथामका लागि सङ्क्रमित महिलाले दिनुभएको सेवा अनुकरणीय रहेको बताउनुहुन्छ । 

घरमा सुत्केरी गराउने अवस्था अन्त्य हुँदै: उपमहानगरपालिका 

इटहरी उपमहानगरपालिकाले आव २०७५ -०७६को नीति, कार्यक्रम तथा बजेटमा प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व, बाल एवम् शिशु स्वास्थ्यलाई प्राथमितामा राखेको छ । 

शहरी स्वास्थ्य कार्यक्रममार्फत् उपमहानगरलाई पूर्ण खोपयुक्त बनाउन र सबै सुत्केरी स्वास्थ्य संस्थामा गराउन विशेष जोड दिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक दामोदर गौतमले जानकारी दिनुभयो । 

हाल उपमहानगरपालिका भित्र १३८ महिला स्वयंसेविका कार्यरत् छन् । पछिल्लो तथ्याङ्क अनुसार उपमहानगरपालिका भित्र स्वास्थ्य संस्थामा सुत्केरी हुने प्रतिशत ८० भन्दा माथि, परिवार नियोजन साधन उपयोग दर करीब ५५ प्रतिशत तथा दुई वर्षमुनिका बालबालिकाको खोपमा पहुँच ९० प्रतिशतभन्दा माथि रहेको छ । 

श्री गौतमले भन्नुभयो “नेपाल परिवार नियोजन सङ्घसितको सहकार्यमा घुम्ती परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा सञ्चालन हुँदै आएको छ । ती सेवाले समुदायमा सकारात्मक प्रभाव पारेको छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ