arrow

नेप्सेमा निरन्तर वृद्धि

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ । साताको नेप्से परिसूचक लगातार वृद्धि भएको छ । यस साता पहिलो दिनको तुलनामा नेप्से ४.६ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार गत साताको नेप्से १३.९३ अङ्कले बढेको थियो भने अघिल्लो साता ०.९० अङ्कले वृद्धि भएको थियो । नेप्से पाँचौँ साता पनि निरन्तर उकालो लागेको हो । यस साताको कारोबार हुने अन्तिम दिन आज एक हजार २८३.५२ अङ्कमा पुगेको हो । 
 
स्टक एक्सचेन्जमा १३८ कम्पनी अनुसार ११ हजार ६९६ कारोबारबाट रु दुई अर्ब ८३ करोड १५ लाख ७३ हजार बराबरको ८० लाख १० हजार २४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ११.७३ प्रतिशत बढी हो । गत साता १३६ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १२ हजार ५३१ कारोबारबाट रु दुई अर्ब ५३ करोड ५५ लाख ५० हजार बराबरका ८४ लाख ७० हजार ७५० कित्ता सेयर खरिद बिक्री भएका थिए । 
 
यो साता वाणिज्य बैंक ५.५९, विकास बैंक ६.७९ र वित्त कम्पनीको परिसूचकमा २६.०१ अङ्कले वृद्धि भएको छ भने उत्पादनमूलक समूह र व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन भएको छैन । त्यसैगरी होटलको ६०.८३, जलविद्युत् २६.१७ र बीमा समूहको परिसूचकमा ३३.५५ अङ्कले घटेको छ । 
 
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.२९ अङ्कले बढेर २७७.५१ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्कीम अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार सङख्याको आधारमा नेपाल बङ्गलादेश बैंक अग्रस्थानमा रहेको छ । 
 
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । आइसिएफसी फाइनान्सको २१ लाख ३४ हजार ८४५ हकप्रद सेयर सूचीकृत भएको छ भने मिसन डेभलपमेन्ट बैंकको पाँच लाख ७५ हजार र विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको रु १२ लाख १५ हजार ९७ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ