arrow

'नाटक' बन्द गर सरकार, डीएनए कसैसँग मिल्ने छैन !

logo
प्रकाशित २०७५ मंसिर १ शनिबार
Nirmala-Pant.jpg

काठमाडौं। कञ्चनपुरकी बालिका निर्मला बलात्कार र हत्या प्रकरणको विषयमा अनुसन्धान गरिरहेको कन्चनपुर प्रहरीले पछिल्लो पटक ४ जनाको डीएनए नमूना आएको जनाएको छ।

कञ्चनपुरका डीएसपी कृष्ण ओझाले उनीहरुको डीएनए, निर्मलाको भेजिनल स्वाबमा भेटिएको वीर्यसँग नमिलेको बताए। ती चार जना को थिए, परिचय खुलाइएको छैन। नाम खुलाउन जरुरी पनि छैन। खासमा यो कुनै समाचार होइन, मात्र भ्रम। जनताको आँखामा छारो हाल्ने दुस्प्रयास। किनकि : निर्मलाको स्वाबमा भेटिएको भनिएको डीएनएसँग कस्सैको डीएनए मिल्ने छैन। यसअघि ५ जनाको डीएनए परीक्षण पनि मेल खाएको थिएन । तत्कालिन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, दिलीपसिंह विष्ट र चक्र बडुको डीएनए परीक्षण नेगेटिभ देखियो, देखाइयो। 

निर्मलाको गुप्ताङ्बाट निकालिएको भनिएको स्वाब प्रहरी प्रयोगशालामा परीक्षण गरिएको थियो । परीक्षणको नतीजामा के थियो ? प्रहरीले सार्वजनिक गरेन । त्यसपछि उक्त डीएनसँग भिडाइएको भनिएका क–कस्का डीएनए कसरी मिलेन त्यो पनि सार्वजनिक गरिएन। अझ नाष्टमा त निर्मलाको गुप्ताङ्गबाट निकालिएको स्वाब पठाइएन।

त्यसको रेकर्ड नाष्टसँग छैन। शंकास्पद भनिएकाहरुका डीएनए उक्त डीएनसँग भिडाएर नाष्टले हेर्ने अवस्थै रहेन। स्वाब डीएनए नै निर्मलाको हो होइन, अनेक प्रश्न जन्मिएका छन्। शुरु देखिनै प्रमाण नष्ट गर्न हात धोएर लागेको छ त्यतिबेलाको कन्चनपुर प्रहरी नेतृत्व, एसपी दिल्लीराज विष्टको यूनिट। जब प्रहरी आफैं एकपछि अर्को प्रमाण मेटाउन लागि पर्छ, त्यसपछि कस्को डीएनए मिल्छ ? धोइपखाली गरिएको गुप्ताङबाट निकालिएको भेजिलन स्वाबमा डीएनएको मात्रा रहन्छ ? स्वाब सुरक्षित अबस्थामै ल्याएर परीक्षण गराइएको हो भन्ने प्रमाण छैन। 

अर्को महत्वपूर्ण कुरा निर्मलाको सामुहित बलात्कार भएको हो होइन भन्ने स्पष्ट छैन। घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कार भएको सहजै अनुमान गर्न सकिन्छ। नेपालका चर्चित फिजिसियन एवं अधिकारकर्मी डाक्टर सुन्दरमणि दिक्षित भन्छन्, “सामुहिक बलात्कारमा एकजनाको मात्रै होइन अरुहरुको पनि वीर्य रहन्छ, डीएनए परीक्षणले त्यो सबै देखाउन सक्दैन। कन्ट्यामिनेशन हुन्छ। डीएनएको रिपोर्ट प्रभाकारी आउन सक्तैन। यस्तो अवस्थामा पछि परीक्षण गरिएका अरु मान्छेका डी एनए नेगेटिभ माउनु कुनै नौलो कुरा नै होइन”। 

अर्को कुरा जुन भेजिनल स्वाब भनिएको छ, त्यो कति दक्ष व्यक्तिले, कस्तो अबस्थामा कसरी निकालेको हो, त्यसले पनि सही डीएनए सही आउने नआउने भर पर्छ। तत्कालिन कन्चनपुर प्रहरीको हर्कत हेर्दा निर्मलाको भेजिनल स्वाब निकाल्ने प्रकृया र त्यसपछिका परीक्षणका हरेक क्रियाकलापमाथि प्रशस्त शंका गर्ने ठाउँ छ। लुप होल थुप्रै छन्। डीएनए परीक्षणबाट दोषी पत्ता लाग्ने विश्वासको आधार शुन्यबाट माइनस तिर गएको छ। पछिल्लो पटक ४ जनाको डीएनए नेगेटिभ देखिएको भन्नुको तुक के छ ? स्पष्ट छ : निर्मलाको भेजिनल स्वाबको डीएनए अब कस्सैसँग मिल्नेछैन 

के गर्न सकिन्छ :
नेपाल प्रहरीले कतिपय अबस्थामा असामान्य आपराधिक घटानाका अपराधीलाई सनसनीपूर्ण रुपमा अनुसन्धान गर्दै कानुनको कठघरामा उभ्याएको छ। तर निर्मला हत्याकाण्डको प्रकृति फरक खालको छ। किनकि तत्कालिन कन्चनपुर प्रहरी नेतृत्व नै अपराधी लुकाउन र जोगाउन कम्मर कसेर लागेको देखिन्छ। भीमदत्तनगरबासीको भनाइमा प्रहरी प्रहरी जस्तो नभएर गिरोह जस्तो देखियो। घटनाक्रमले यही पुष्टि गरेकै हो। प्रहरीको केन्द्रीय नेतृत्व समेत यो विषयमा सोह्रै आना चुकेको देखिन्छ। निर्दोष दिलिपसिंह विष्टलाई दोषी करार गराउने एसपी विष्टको खेलमा प्रहरी नेतृत्व र गृहमन्त्री समेत लुटपुटिएकै हुन्। 

घटनाको अर्को पाटो उजागर हुनै सकेको छैन।त्यो के भनेः तत्कालिन कन्चनपुरे एसपी दिल्लीराज विष्ट र उनको यूनिटका सदस्यले यो घटनालाई निस्तेज पार्नुको कारण के हो ? कसलाई जोगाउन र किन उनीहरुले अनुसन्धानलाई फितलो मात्रै होइन, दसी प्रमाण मेटाउने सम्मको खेल खेले ? निर्मलाको सुरुवाल र गुप्ताङ्ग पाखाल्न लगाउनुको कारण के ? उनले लगाउको लुगा नष्ट गर्नुको कारण के ? यसको जवाफ निज दिल्लीराज विष्ट र घटनास्थलमा बुर्कुसी मार्ने तत्कालिन अधिकृत र जवानहरुलाई यो सबै विषय थाहा छ, र हुनै पर्छ।

यो विषयमा एसपी विष्ट एण्ड कम्पनीलाई कष्टडीमा राखेर किन सोधपुछ गरिँदैन ? निर्मला हत्याकाण्डको योजनाकार, दोषी र अपराधी फेला पार्ने नै हो भने अब डीएनएको एकोहोरो रटान त्यागेर, प्रहरीले आफ्नो नियमित अनुसन्धानको प्रक्रियालाई चुस्त बनाउनु पर्ने सुझाब दिन्छन् डा. दिक्षित । डीएनए परीक्षण असुन्धानलाई सहयोग गर्ने एउटा सानो प्राविधिक पाटो मात्रै हो। 

डा दिक्षितको भनाइ छः “आखिर डीएनए परीक्षणको सुबिधा नभएको बेला समेत प्रहरीले बलात्कारी फेला पारेकै थियो आफ्नो नियमित अनुसन्धानबाट। त्यसका लागि डीएनए परीक्षणसँगै प्रहरीले तत्कालिन एसपी विष्ट सहित उनका सहयोगी अरु प्रहरी अधिकृतलाई तत्काल हिरासतमा लिने र उनीहरुले सत्यतथ्य नबकुनजेलसम्म छाड्नु हुँदैन”। 

उनीहरुलाई भविष्यमा सरकारी जागिर खान मिल्ने गरी बखास्र्थ गर्नुको कुनै तुक छैन। उनीहरुले कसलाई जोगाउन दसी प्रमाण जोगाएनन् ? त्यसको जवाफ खोज्ने हो भने, निर्मला हत्याकाण्डको पटाक्षेप हुन कुनै आइतबार कुर्न पर्दैन। डीएनए परीक्षण निकास हुँदै होइन, जनताको आँखामा छारो हाल्न खोज्नु बाहेक।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ