'मनिराज वाङ्मय पुरस्कार २०७४' राष्ट्रकवि घिमिरेलाई
प्रकाशित २०७५ मंसिर १ शनिबार
716
Shares
काठमाडौं । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले शनिबार प्रज्ञा भवन काठमाडौमा आयोजित भव्य समारोहमा प्रतिष्ठानले स्थापना गरेका विभिन्न पुरस्कारहरूद्वारा स्रष्टाहरूलाई सम्मानित गरेको छ। एक लाख धनराशिको 'मनिराज वाङ्मय पुरस्कार २०७४' राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई प्रदान गरेको छ ।
समारोहमा 'खप्तड स्वामी सचिदानन्द पुरस्कार २०७३ 'श्री१००८ ब्रम्हॠषि गौरीशंराचार्यलाई, डा.जयराज पन्त लोक साहित्य पुरस्कार २०७४ डा.गोविन्द आचार्य( दाङ)लाई, शास्त्री देवराज आचार्य प्रतिभा पुरस्कार २०७३ मोहन चापागाईं( दोलखा)लाई,शास्त्री देवराज आचार्य प्रतिभा पुरस्कार २०७४ ऋषिकेशव भारद्वाज ( कपिलवस्तु)लाई, र नृपबहादुर स्वार साहित्य पुरस्कार २०७४ खगेन्द्र गिरी 'कोपिला' ( नेपालगञ्ज)लाई प्रदान गरिएको छ।
मनिराज वाङ्मय पुरस्कारको राशि एकलाख सहित ताम्रपत्र रहेको छ भने अन्य सबै पुरस्कारको राशि नगद दश हजार र सम्मानपत्र रहेको छ। सम्मानित सबै स्रष्टाहरूलाई प्रमुख अतिथि पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले दोसल्ला, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरे।
प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशीको अध्यक्षतामा सम्पन्न समारोहमा पूर्व प्रधानमन्त्री चन्द, राष्ट्रकवि माधव घिमिरे, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, ब्रम्हऋषि गौरीशंकराचार्य, लोकगायक नन्दकृष्ण जोशी, साहित्यकार डा.नवराज लम्साल, समाजसेवी मदनराज पाण्डेय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।