महालेखा परीक्षक भन्छन् 'ठाडो तोकको भरमा देशको ढुकुटीबाट करोडौं निकासा'
साना कार्यालयमा भन्दा बढी गैरकानूनी काम मन्त्रालयकै कर्मचारीबाट
प्रकाशित २०७५ मंसिर २ आइतबार
666
Shares
काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्मा दर्नालले अर्थमन्त्रालयबाट निकासा दिईने बजेटमा गम्भीर अनियमितता भएको औल्याएका छन् । आईतबार महालेखा नियन्त्रकको कार्यालयको आयोजनामा भएको सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी राष्ट्रिय गोष्ठीको उद्घाटनशत्रमा बोल्दै महालेखा परीक्षक शर्माले यो तथ्यांक नेपाल सरकारको लागि एकदमै चिन्ताजनक रहेको बताएका छन् । उनले यो महालेखा परीक्षकको कार्यालयले भेटेको कूल कमजोरीहरु मध्ये ४४ प्रतिशत भुक्तानी विना कागजात गरेको भुक्तानी रहेको बताईएको छ । उनले यो पैसा उठ्ने सम्भावना नै नरहेको भन्दै यसमा चिन्ता व्यक्त गरेका हुन् ।
त्यस्तै, यसरी गरिएका अनियमितताहरुको विल हेर्दै जाँदा ठाडो आदेशको आधारमा भन्ने टिप्पणी लेखेरै करोडौं रुपैयाँ भुक्तानी गरेको समेत भेटिएको बताएका छन् । उनले यो एउटा एकाउन्ट सेक्टरमा बस्ने मानिसले कसरी गर्न सक्छ भन्ने ? प्रश्न गर्दै उनले महालेखा परीक्षकको कार्यालय भन्दा तल्लो तहमा अडिट गर्नेहरुले यो कुरा नभेटेको स्पष्ट पारेका छन् ।
शर्माले आफू २०३८ सालदेखि नै वित्तीय व्यवस्थापन तर्फ काम गरेको स्मरण गर्दै पछिल्ला परिघटनाहरुले सुधारको साँटो रेगुलेसनको पाटोमा अझै समस्या देखिएको बताएका छन् । टास्क बेसिसमा पोहोर साल मात्रै ४८ अर्ब बराबरको ट्रेजरी रिस्क रहको बताउँदै उनले अर्थमन्त्रालयले जे सोचेपनि यो एकदमै ठूलो एस्यू रहेको बताएका छन् । उनले राज्यको ढुकुटीमा रहेको करौडौं रुपैयाँ विना आधार ठाडो तोकको भरमा निकासा गरेको भेटिएको बताए ।
उनले अडिट गर्ने क्रममा महालेखा परीक्षकको कार्यालयको र महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक नै भिन्न रहेको भन्दै यति धेरै सुविधाका बाबजूत पनि तथ्यांकमा देखिने फेरबदल शंकास्पद रहेको बताएका छन् । उनले आफ्नो अध्ययनको क्रममा फिल्ड अफिसमा भन्दा पनि केन्द्रमा नै अनियमितता धेरै भएको भन्दै कानून बमोजिम काम गर्नू भनेर निर्देशन दिनेहरुले नै कानून मिचेर काम गर्ने गरेको उनको राय थियो ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो काम गर्नको लागि कोही पनि कर्मचारीहरु डराउनु नपर्ने भन्दै राजनीतिक हस्तक्षेपहरु भएमा सचिव मार्फत् आफूलाई जानकारी दिन सुझाव दिएका छन् ।