गाउँघरकै सामानबाट ड्रोन बनाएर उडाए १५ वर्षिय निश्चलले
प्रकाश मैनाली,
प्रकाशित २०७५ मंसिर २ आइतबार
510
Shares
सर्लाही । हरिवन नगरपालिकाको परिसर भित्र एक १५ वर्षिय बालकले ड्रोन उडाएर सबैलाई अचम्भित बनाएका छन । हरिवन–४ सासपुर घर भएका निश्चल पौडेलले एक अनौपचारिक कार्यक्रममा ड्रोन उडाएका हुन ।
नगरप्रमुख गणेश प्रसाद प्रसाईले भने 'निश्चलले हामी सबैलाई अचम्भित बनाएको छ । हाम्रो नगरमै ठुलो प्रतिभा रहेछ यो हाम्रो गौरबको विषय पनि हो । नगरपालिकाले वैज्ञानिक बन्न अग्रसर भएका प्रतिभाको प्रस्फुटन गर्न सक्दो सहयोग गर्छौ ।' उनले भने–‘कति आवश्यक सामाग्रीहरु निश्चललाई चाहिने नगरपालिकाले पुरा गरिदिन्छौं, हामीले नसक्ने सम्बन्धित निकायसँग कुरा गछौं । वहाँको प्रतिभालाई अघि बढाउन कुन कुन कस्तो–कस्तो खालको सहयोग गर्नु पर्छ नगरपालिका तयार छ ।’
लालबन्दी–२, जुटपानीस्थित नवजीवन विद्याश्रममा कक्षा ९ मा अध्यनरत निश्चल १० प्रतिसत आफैंले निर्माण गरेर र अरु गाउँघरमा खेर गएका पुराना सामानको प्रयोग गरेर ड्रोन को निर्माण गरेको बताउँछन । सहयोग पाएर आफू खुशी भएको आगामी दिनमा पनि यस्तै सहयोग र हौसला मिल्ने आशा रहेको साथै भविष्यमा पनि प्रविधिकै क्षेत्रमा उच्च शिक्षा हाँसिल गरी यही क्षेत्रमा योगदान दिने लक्ष्य रहेको निश्चलले बताए ।
साथै बाल प्रतिभाको प्रोत्सानस्वरुप हरिवन -११ का वडा अध्यक्ष महेबुब शेख रेजाले १ महिनाको तलब बराबर २२ हजार नगद रुपैयाँ प्रदान गरेका छन । त्यस्तै हरिवन-११ कै वडा सदस्य सुकदेव कार्कीले पनि ६ हजार नगद रुपैयाँ प्रदान गरेर थप हौसला प्रदान गरेका छन् । बाल प्रतिभाको कदर गर्न पाउँदा आफूलाई खुशीलाग्ने, सँधै नै बालबालिकाको विकासमा सहयोग गर्न आफू कटिबद्ध रहेको अध्यक्ष रेजाले बताए ।