हस्तकला ब्यापार मेला : एक करोड २० लाखको कालचक्र किन्ने हिम्मत कस्सैले गरेनन्
प्रकाशित २०७५ मंसिर २ आइतबार
161
Shares
काठमाडौं। राजधानीमा चलेको १६ औं हस्तकला ब्यापार मेलामा ९ करोड रुपैयाँको व्यापार भएको छ। तर आयोजक हस्तकला महासंघले अनुमान गरे भन्दा एक करोडको कम व्यापार भएको हो। मेलामा ४८ जिल्लाबाट राजधानी आएका हस्तकला उद्योगी र विदेशका गरी १ सय ७० स्टल राखिएको थियो।
मेलामा भाङ (गाँजा) को लोक्ता(पाट) बाट बनाइएका २५० रुपैयाँका क्यापदेखि १ करोड २० लाख रुपैयाँ मूल्यका कालचक्र मूर्तीसम्म राखिएका थिए। कालचक्र अर्थात् समय चक्रको रुपरेखा खिचेर तयार पारिएको कलात्मक मूर्तीसँगै दायाँ बायाँ राखिएका तारा र बुद्ध मूर्तीका मूल्य ७५७७५ लाख रुपैयाँका थिए। तामाका यी मूर्तीमा कलासँगै सुनको जलप लगाइएका कारण महंगो हुने व्यापार मेला संयोजक, हस्तकला महासंघका पूर्व अध्यक्ष हेमरत्न शाक्यले जानकारी दिए।
पाँचदिन सम्म चलेको हस्तकला मेलामा अल्लोका लोक्ताले बनाइएका सामग्रीदेखि काष्टकला, प्रस्तर कला र धातुका मूर्ती, राडीपाकी र स्थानीयस्तरमा उत्पादिन कपडासम्म राखिएका थिए। राजधानीमा चलेको हस्तकला मेलामा दैलेखको सल्लेरी राडीपाकी उत्पादन समूहको राडीपाकी पनि राखिएको थियो। समूहका एकजना सदस्य नर बहादुर बस्नेतले भेडाको उनबाट बनाइएका करीब २ लाख रुपैयाँका राडीपाकी कटाए।
८ फिट लम्बाइ र ५ फिट चौडाइ राडीको ७ हजार रुपैयाँ मूल्य राखेका बस्नेतले, यसको विशेषताबारे जानेसुनेका सबै सुनाए, दाबी सहित। उनले भने, “ठमेलको होटलमा बस्याछौं, यो पाँचदिन बस्दा हजुर दिनैभरी सय किलोको भारी बोकेर हिँड्या जस्तो जीउ दुख्छ । यो राडी ओछ्याएर सुत्यो भने जीउ दुखेको ठीक हुन्छ, नसा सम्बन्धी, हाड जोर्नी दुखेको, ढाड दुखेको, प्यारालाइसिस, पेट दुखेकोदेखि जण्डीसका बिरामीलाई समेत राम्रो हुन्छ”। हिजोआज आउने रंगी विरंगी प्रोडक्टको विज्ञापनभन्दा उनको विज्ञापन कम लागेन।
मेलाका उत्कृष्ट प्रतियोगिहरुः
हस्तकला मेलासँगै प्रतियोगिता समेत आयोजना गरिएको थियो। उत्कृष्ट स्टल, उत्कृष्ट वस्तु र १४ औं हस्तकला प्रतियोगितामा परम्परागत बिधामा मैनको मूर्ति र मसामयिक विधा (ढाका बुनाई)मा उत्कृष्ट कलाकारको रुपमा पुरस्कृतहरुः
१) उत्कृष्ट प्याभिलियन — सबा नेपाल १ लाख
२) उत्कृष्ट स्टल—एनपी क्यासमियर हाउस एण्ड ह्याण्डिक्राफट २५ हजार नगद पुरस्कार (नानी हेरा शाहि )
३)उत्कृष्ट बस्तु द्यभकत एचयमगअत तर्फ
तृतिय बनाना फाईबरको कार्पेट (कुम्भेश्वर टेकनिकल स्कुलका सत्यन्द्र खड्गी)१० हजार
द्वितीय याक फाईवरको सल÷ब्ल्यांकेट (साना हस्तकलाका प्रकाश बज्राचार्य) १५ हजार
प्रथम सिल्भर ज्वेलरी (नेपालीज दी कलेक्सनका मीनु बज्राचार्य ) २० हजार
४) परम्परागत बिधामा मैनको मूर्तिमा उत्कृष्ट कलाकारमा
तृतिय नीशेश राज शाक्य (शाक्यमुनी बुद्ध) २० हजार नगद सहित
द्वितीय उदीप शाक्य (जोगिनी) ३० हजार नगद सहित
प्रथम मनोज शाक्य (तारा) ५० हजार नगद सहित
५) समसामयिक विधा (ढाका बुनाई) मा उत्कृष्ट कलाकारमा
तृतिय ज्ञानीमाया तामाङ्ग २० हजार
द्वितीय देउ माया लिम्बु ३० हजार
प्रथम चुना बास्तोला, ज्ञानीमाया तामाङ्ग ५० हजार
मेला आयोजनाका लागि वाणिज्य मन्त्रालयले दिएको २५ लाख सहित एक करोड रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ। राजधानीको भृकुटीमण्डमा चलेको मेला १ लाख ३५ हजारले अबलोकन गरेको मेला संयोजक हेमरत्न शाक्यले जानकारी दिए । बाहिरी जिल्लाबाट प्रदर्शनीमा आएका उद्योगीलाई खानेबस्ने र आतेजाते व्यवस्था गरिबी निवारण कोषले गरेको थियो।