- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुर । नेपाली काँग्रेसको राजनीतिक प्रस्तावका बारेमा प्रदेश २ का नेताहरुले छलफल गरेका छन् । सबै प्रदेशमा छलफल गर्ने निर्णय अनुसार आइतबार पहिलो दिन प्रदेश २ मा छलफल भएको हो । छलफल कार्यक्रमको उद्घाटन पार्टी केन्द्रीय सदस्य तथा राजनीतिक मस्यौदा समितिकी सदस्य डा डिला संग्रौलाले गरेकी थिइन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उनले काँग्रेसको राजनीतिक प्रस्ताव अहिले पनि मुलुकका अन्य पार्टीहरुको भन्दा उत्कृष्ठ भएको र विश्वव्यापी मान्यता अनुसारको भएको बताइन् ।
उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपालमा अहिले अन्य पार्टीहरुले पनि पछ्याएकोले धारणा राखिन् ।
जनआन्दोलनपछि स्थापित भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशीकरणलाई पनि अब थप संस्थागत गर्दै लैजानु पर्नेमा उनले जोड दिइन् ।
यस्तो आयो सुझाव
भेलामा प्रदेश २ अन्तर्गत पर्ने आठ जिल्लाका क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र निर्वाचित जनप्रतिनिधिसहित सयौंको संख्यामा सहभागी थिए ।
सहभागी स्थानीय नेताहरुले राजनीतिक विचारलाई पार्टीका केन्द्रीय नेताहरुले नै व्यवहारमा उतारेर देखाउन आग्रह गरेका थिए ।
भेलामा सहभागीहरुलाई चार समूहमा विभाजन गरेर छलफल गराइएको थियो । उनीहरुले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, परराष्ट्र नीति लगायतका विषयमा सुझावहरु राखेका छन् ।
भेलामा सहभागीहरुले युवा, महिला, मधेशी, मुस्लिम, आदिवासी जनजाति, दलित लगायतलाई पार्टीमा आकर्षण गर्न विषेश अभियान ल्याउनु पर्नेमा जोड दिएका थिए ।
काँग्रेसले आउँदो महासमितिको बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावको मस्यौदा बनाउन उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा मस्यौदा समिति नै बनाएको छ ।
सो समितिले अन्य प्रदेशहरुमा पनि छलफल गर्ने तयारी गरेको समितिकी सदस्य डा डिला संग्रौलाले जानकारी दिइन् ।