१८औं विश्व चर्पी दिवस : अझै १७ जिल्ला खुल्ला दिसामुक्त हुन बाँकी 

सरसफाईमा गरीने एक रुपैयाको लगानीले स्वास्थ्यमा हुनसक्ने १ हजार खर्च बचाउछ

प्रकाशित मिति : २०७५ मङ्सिर ३ सोमबार

काठमाडौं। आज १८औं विश्व चर्पी दिवस “चर्पी हाम्रो प्राकृतिक आबश्यकता“ भन्ने मुल नाराका साथ मनाइदैछ। नेपालमा २०६७ सालमा नेपालमा ५ घरमध्ये २ घरमा मात्र शौचालय थियो भने अहिले एक सय घरमध्ये ९७ धरमा शौचालय पुगेका छन। यसैगरी ७७ जिल्लामध्ये ६० जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेका छन। अझै १७ जिल्ला खुल्ला दिसामुक्त हुन बाँकी रहेको छ। 

बिद्यालय तथा स्वास्थ्य संस्थाहरुमा भने ५ मध्ये ४ वटामा मात्र चर्पी पुगेको अध्ययनले देखाएको छ। चर्पीको प्रयोग भएमा ५ बर्षमुनीका एक तिहाई बालबालिका झाडापखालाबाट हुने मृत्युबाट बचाउन सकिने बिभिन्न अध्ययनहरुले देखाएका छन।

नेपालमा ५ बर्षमुनीका बालबालिकामा झाडापखाला को प्रकोप बिगत ५ बर्षमा १४ प्रतिशतबाट ८ प्रतिशतमा झरेको सरकारी तथ्यांक  छ । झाडापखालाबाट हुने मृत्यु पनि ६ हजारबाट घटेर करीब १ हजारमा झरेको खानेपानी मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले सन् २०१७ सम्म नेपाललाई ‘खुल्ला दिसामुक्त’ घोषणा गर्ने लक्ष्य लिंदै सबै घरमा चर्पी बनाइसक्ने घोषणा गरेपनि त्यो सम्भव हुन सकेन।

२०६८ सालमा सरसफाई गुरुयोजना कार्यान्वयन भएपछि घर घरमा चर्पी बनाउने काम भैरहेको छ। सहरदेखि गाउँसम्म चर्पी बनाउने अभियान नै चलेको छ। सरकारले आधारभूत सरसफाई सुविधामा सबैको पहुँच पुर्‍याउन खुला ठाउँमा दिशापिसाप नगर्न, चर्पीको नियमित प्रयोग गर्न, अस्थायी रुपमा बसोबास भएका ठाउँमा अस्थायी चर्पी बनाउन विभिन्न अभियान सञ्चालन गर्दै आएको छ।

हरेक काममा प्रयोग हुने पानीलाई शुद्धिकरण गरेर मात्र प्रयोग गर्न समेत सरकारले आग्रह गर्दै आएको छ। सँगै सरकारले पानी शुद्धिकरण गरेर मात्र पिउन, दिशा गरेपछि साबुनपानीले राम्रोसँग हात धुन र घर आँगन सफा गर्न खानेपानी तथा ढल निकास विभागले सबैलाई आग्रह गरेको छ।

विश्व चर्पी संगठनले सन् २००१ मा गरेको शौचालय सम्मेलनपछि प्रत्येक वर्ष आजकै दिन अर्थात् नोभेम्बर १९ तारिखमा विश्व चर्पी दिवस मनाउन थालिएको हो। बिश्वका प्रत्येक ३ मा १ मानिस शौचालयको पहँुचभन्दा बाहिर रहेको अध्ययनले देखाएको छ। 

शौचालय भएमा के उपलब्धी  हुन्छ ? 
शौचालयको व्यवस्थीत प्रयोग गर्ने हो भने सरसफाईमा गरीने एक रुपैयाको लगानीले स्वास्थ्यमा हुनसक्ने १ हजार खर्च बचाउने बिश्व स्वास्थ्य संगठनले जनाएको छ। शौचालयको प्रयोगले झाडापखाला लगायतका दिसाबाट सर्ने रोग रोकथाम भई बालमृत्युदर घट्छ। 

बिद्यालयमा छात्राहरुको उपस्थिति र प्रभावकारी अध्ययनमा बृद्धि हुन्छ। प्राकृतिक,साँस्कृतिक सम्पदा स्थल तथा ऐतिहासिक स्थानहरु सफा सुरक्षित भई पर्यटनमा वृद्धि गराउछ। पर्याप्त मात्रामा सार्बजनिक शौचालय भएमा जथाभावि शौच गर्ने कार्यको अन्त्य हुन्छ। मानिस सभ्य भई प्रतिष्ठा  तथा सम्मान बढ्छ।

नयाँ