- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले बजेट कार्यान्वयनका लागि चाहिने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न निर्देशन दिभएका छन् । तीन दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको मन्त्रालयगत चौमासिक प्रगति समीक्षा सुनेपछि मुख्यमन्त्रीले अहिलेसम्म देखिएका समस्या समाधान गरी बजेट कार्यान्वयनका लागि आधारभूत संरचना तयार गरेर अघि बढ्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन् ।
बजेट कार्यान्वयनका लागि चाहिने डिभिजन, निर्देशनालय, कार्यविधि, निर्देशिका र कर्मचारीको व्यवस्थापन तोकिएको समयसीमाभित्र व्यवस्थापन गर्न मुख्यमन्त्रीले निर्देशन दिए । डिभिजन र निर्देशनालय स्थापना गर्न बाँकी रहेकालाई तत्काल स्थापना गर्न र त्यहाँ आवश्यक कर्मचारीको व्यवस्थापन पूर्ण रुपमा हुन नसकेपनि कार्यालय सञ्चालनको लागि व्यवस्थापनको उपाय अवलम्बन गर्न, कार्यविधि र निर्देशिका बनाउन बाँकी रहेका जति सबै बनाउन मुख्यमन्त्रीले निर्देशन दिए ।
मन्त्रालयहरुले समीक्षा प्रतिवेदन प्रस्तुत गर्दा बजेट कार्यान्वयनका लागि देखिएका समस्या र चुनौती प्रस्तुती गर्दा बजेट कार्यान्वयनका लागि जनशक्ति र संगठन संरचना व्यवस्थापन नहुँदा समस्या परेको बताएपछि वैकल्पिक उपाय अवलम्बन गरेर भएपनि बजेट कार्यान्वयनको लागि आधारभूत आधार तयार गर्न निर्देशन दिए । ‘अबको चार महिना बजेट कार्यान्वयनको निर्णायक समय हो,बजेट कार्यान्वयनका लागि चाहिने आधारभूत कुरामा अल्झिने हो भने प्रभावकारी काम देखाउन सकिदैंन, समस्या समाधानको लागि सबै उपाय अवलम्बन गरौं’–उनले भने।
त्यसैगरी मुख्यमन्त्रीले यही समय सीमाभित्र कार्यक्रममा दोहोरोपना भए एकरुपता दिन र मन्त्रालयबीच समन्वयको समस्या भए समन्वयलाई प्रभावकारी बनाउन निर्देशन दिए । कुनै योजना, आयोजना अघि बढाउँदा समस्या आएर अन्यौल भए सचिव, मन्त्री नै पुगेर समस्या समाधान गर्न र समाधानको लागि आवश्यक परे मुख्यमन्त्री कार्यालयलाई तत्काल जानकारी दिन उनले आग्रह गरे ।
त्यसैगरी बहुवर्षीय ठेक्का दिनु अघि आर्थिक मामिला तथा योजना मन्त्रालयको स्विकृति लिएर मात्रै अघि बढाउन निर्देशन दिए । ’यसो गर्दा बजेटमा समस्या नपर्ने र आयोजना तोकिएको समयमा पूरा नहुने समस्या हट्छ’–उनले भने । मन्त्रालयको सबै रिपोर्ट नियमित प्राप्त गर्ने संयन्त्र बनाउन र त्यो रिपोर्ट विश्लेषण सहित मुख्यमन्त्री कार्यालयमा पठाउन उनको आग्रह छ ।
तीन दिनदेखि भएको मन्त्रालयगत समीक्षामा आज सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मुख्यमन्त्री कार्यालयले समीक्षा रिपोर्ट प्रस्तुत गरेका थिए ।
त्यसैगरी ३ गते कृषि, भूमि व्यवस्था तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा २ गते भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रगति समीक्षा प्रस्तु गरेका थिए ।
यो वर्षको बजेट कार्यान्वयनका लागि सबै संयन्त्र बनाएर अघि नबढ्ने हो भने आगामी वर्षको बजेट कार्यान्वयन गर्न पनि समस्या आउने भएकाले मुख्मन्त्रीले सचिव र मन्त्रीहरुको ध्यानाकर्षण गराए । समस्या देखाएर पन्छिने छुट आफुहरुलाई नभएको हुँदा संयमित भएर काम गर्न उनले आग्रह गरेका थिए ।