arrow

अस्पताललाई एईडी मेशिन हस्तान्तरण

logo
जीवन शर्मा,
प्रकाशित २०७५ मंसिर ६ बिहिबार

ओखलढुंगा। मेगा बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ स्थित ओखलढुंगा सामुदायिक अस्पताललाई अटोमेटेड एक्सटर्नल डिफ्रिब्रिलेटर (एईडी) मेशिन सहयोगस्वरुप हस्तान्तरण गरेको छ । बैंकले सामाजिक अभियानअन्तर्गत् उक्त मेशिन सहयोगस्वरुप हस्तान्तरण गरेको हो ।

एईडी मेशिन आकस्मिक रुपमा मुटुको धड्कन बन्द भएका विरामीहरुलाई सुरुकै अवस्थामा ल्याउन प्रयोग गरिन्छ । सहयोगस्वरुप हस्तान्तरण गरिएको मेशिनको मूल्य ३ लाख ६० हजार रुपैयाँ रहेको बैंकले जनाएको छ । “हामी यहाँबाट नाफा मात्रै आर्जन गर्दैनौं,” मेशिन हस्तान्तरणका लागि ओखलढुंगा आएकी बैंककी डेपुटी सीईओ रवीना देशराज श्रेष्ठले भनिन्, “हामी यही क्षेत्रमा समृद्धिका लागि पनि काम गर्छौं, सामाजिक क्षेत्रमा पनि काम गर्छौं ।”

मेशिन हस्तान्तरणका लागि केन्द्रबाट डेपुटी सीईओ श्रेष्ठ र डिपोजिट प्रमुख जेनु थापा आएका थिए । ओखलढुंगा अस्पतालमा हस्तान्तरण कार्यक्रमको आयोजना गरी अस्पतालका निर्देशक टुकबहादुर श्रीमललाई डेपुटी सीईओ श्रेष्ठले मेशिन हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक श्रीमलले मेशिनबाट सामान्य मूल्यमै विरामीलाई सेवा दिइने बताए । “हाम्रो अस्पताल त्यसैपनि कोहीपनि उपचारबाट बञ्चित नहुन् भन्ने उद्देश्यले सञ्चालित छ,” श्रीमलले भने, “यो मेशिनबाट हामी न्यून मूल्यमै सेवा दिनेछौं ।”बैंकले ओखलढुंगा अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ । २०१८ सालमा सामान्य रुपमा स्थापना भएको अस्पतालले हाल आएर सुविधासम्पन्न भैतिक पूर्वाभार तथा उपकरणहरु जडान गरि उपचारमा फड्को मारेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ