arrow

आवधिक योजनाबारे छलफल गर्दै सरकार

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ मंसिर ९ आइतबार
province-51.jpg

बुटवल। प्रदेश ५ सरकारले आवधिक योजना निर्माणको तयारी गरेको छ। जसअनुसार सरकारले सरोकारवालासँग छलफल शुरु गरेको छ। पाँच वर्षमा प्रतिव्यक्ति आय वाषिर्क दुई हजार अमेरिकी डलर पुर्‍याउने र गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको प्रदेश ५ सरकारले जिल्ला जिल्लामा सरोकारवालालाई भेटेर छलफल थालेको हो।

सरकारले आर्थिक वर्ष ०७६/७७ देखि ०८०/८१ सम्मको पाँच वर्षे योजना बनाउन लागेको छ । आवधिक योजनामा समेट्नुपर्ने स्थानीय आवश्यकता र प्राथमिकताका क्षेत्र निर्धारणका लागि जनप्रतिनिधि, नागरिक समाज, नीजि क्षेत्रसहित सरोकारवालाहरुको रायसुझाव लिन मन्त्रीको नेतृत्वमा प्रदेशका बाह्रवटै जिल्लामा छलफल गर्न लागिएको हो।

मंसिर २२ गतेसम्म छलफल गरेर यो वर्षको अन्तिममा योजना तयार गर्ने मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए। छलफल कार्यक्रममा मुख्यमन्त्री, मन्त्रीहरु, योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, सदस्यद्वय विष्णु गौतम र पुष्पा भुसाल लुइटेल सहित सबै मन्त्रालयका योजना महाशाखाका प्रमुखहरु सहभागी हुने छन्।

प्रदेश सरकारले अब १२ वटै जिल्लाबाट संकलित रायसुझाव समेटिएको आवधिक योजनाको मस्यौदा राष्ट्रिय योजना आयोगमा पठाउने छ।

आयोगबाट प्राप्त सुझावहरु समेटेर योजनालाई अन्तिम रुप दिइने र सोका आधारमा प्रदेशको विशेषता झल्किने योजना बनाइने योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बताए। प्रदेश मन्त्रिपरिषदबाट आधारपत्रको स्वीकृति लिई विज्ञहरुमार्फत योजना आयोग र मन्त्रालयहरुको सहकार्यमा क्षेत्रगत विषयका योजना बनाइने, सरकारी कार्यालय, जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाज आदि सरोकारवालासँग अन्तरक्रिया गरी क्षेत्रगत योजनाका मस्यौदा परिमार्जन गर्ने र माघभित्र योजनाको पहिलो मस्यौदा तयार गर्ने प्रदेश सरकारको लक्ष्य छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ