arrow

‘रेल किनेर सञ्चालन गरिन्छ’

logo
रासस,
प्रकाशित २०७५ मंसिर ९ आइतबार
Raghu_Bir_Mahaseth.jpg

धनुषा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी थालेको बताएका छन्। मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया सम्पन्न भइसक्ने बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटी धनुषाद्वारा आज महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री महासेठले अहिले तत्काल रेल्वेको उद्घाटन हुने कुनै किसिमको कार्यक्रम तय नभएको बताए।

जनकपुरमा आयोजना हुने रामजानकी विवाहपञ्चमी महोत्सवका अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने र जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने कुरामा कुनै किसिमको सत्यता नरहेको मन्त्री महासेठले स्पष्ट पारे।

मन्त्री महासेठले मुख्यमन्त्री योगीको जनकपुरको विशुद्ध धार्मिक भ्रमणमात्र हुने बताउँदै यही मङ्सिर २६ गते रेल्वेको उद्घाटनको कार्यक्रम नभएको प्रस्ट पारे। उनले भने, “रेल भारत सरकारसँग किन्नुपर्ने हो र भारत सरकारबाट यसका लागि मूल्य पनि पठाइसकेको छ, भारतले पठाएको मूल्य सरकारले स्वीकार गरेर पत्राचारसमेत गरिसकेको छ।”

मन्त्री महासेठले आगामी महीनाभित्र जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन हुने बताउँदै त्यसको डेढ वर्षभित्र कुर्था–विजलपुरा हुँदै बर्दिवाससम्म रेल सञ्चालन हुने बताए। मन्त्री महासेठले आउने चार वर्षमा दुई हजार ८०० किलोमिटर रेलमार्ग निर्माण गर्ने डिजाइन तयार गर्ने र एक हजार २०० किलोमिटरसम्म रेल सञ्चालनमा नै ल्याउने योजना रहेको बताए।

गहुँको बीउमा अनुदान
प्रदेश २ का किसानलाई ४० प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध हुने भएको छ। प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका किसानलाई अनुदानको गहुँ बीउ उपलब्ध गराउन लागेको हो।

अनुदानको गहुँ बीउ जिल्लाका कृषि ज्ञानकेन्द्र कार्यालयले तोकेको स्थानीय बीउबिजन केन्द्रबाट प्राप्त गर्न सकिने जनाइएको छ। प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले किसानले गहुँ बीउ ६५ रुपैयाँ ५० पैसा तोकिएको दरमा ४० प्रतिशत अनुदानको पाउने बताए।

कृषि ज्ञानकेन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले जिल्लाका विभिन्न ठाउँमा स्थानीय बिक्री केन्द्र छनोटको प्रक्रियामा रहेको बताउँदै सम्भवतः सोमबारदेखि अनुदानको गहुँ बीउ बिक्री वितरण शुरु गरिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ