काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिकिदै गर्दा नीति र नेतृत्वको वहशले राजनीति गर्माएको छ। शनिवारसम्म काँग्रेसमा सभापतिका ४ दावेदार देखिएका छन। कार्यवाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेर बहादुर देउवा, महामन्त्री कृष्ण सिटौला र बिदेश विभाग प्रमुख सुजाता कोइरालाले आफ्नो उमेद्वारीको तीव्र प्रचार प्रसारमा उत्रिएका छन्। प्रचार प्रसारसँगै गुटगत भेलाहरु पनि शुरु भएका छन्। काठमाडौंमा उपलव्ध महाधिवेशन प्रतिनिधीहरुका बीचमा आफ्ना बिचार समुहका तर्फबाट आफ्ना विचार राख्ने काम पनि नेताहरुले राखिरहेका छन। त्यस्ता भेलाहरुमा आफ्नो समुह अरु समुहभन्दा किन र के कारणले ठीक भन्नेमा नेता कार्यकर्ताहरु वहशमा उत्रिएका छन्।
गुटगत भेलाहरु हुन थालेपछि महाधिवेशन प्रतिनिधी भएर आएका कार्यकर्ताहरुलाई भने नेताहरुलाई भेट्न र आफुजस्तै प्रतिनिधी भएर आएकाहरुलाई भेट्न यस्ता भेलाहरुमा दौडधुप शुरु भएको छ। भेलाहरुमा नभेटेकाहरुलाई नेताहरुको सम्पर्क कार्यालयमा भेट्ने लर्को पनि त्यतिकै छ। यतिखेर अधिकांश केन्द्रीय समितिमा पुग्न आकाँक्षीहरुले अलग अलग सम्पर्क कार्यालय खोलेर आफ्नो व्यक्तिगत प्रचारलाई तीव्रता दिएका छन्। आफ्नो व्यक्तिगत प्रचारसँगै गुटको नेताकहाँ पुग्ने क्रम पनि केन्द्रीय समितिका आकाँक्षीहरुको छ। केन्द्रीय समितिका आकाँक्षीहरु एक गुटमा मात्र बस्दा जीत्न गाह्रो हुने भन्दै अलग अलग गुटहरु र समुहहरुमा पुगिरहेका छन्।
पौडेल नीति तथा प्रशिक्षण प्रतिष्ठानलाई परिचालन गर्दै
कार्यवाहक सभापति रामचन्द्र पौडेलले आफ्नो चुनावी परिचालनका क्रममा आफ्नो नेतृत्वमा रहेको पार्टीको केन्द्रीय नीकेति तथा प्रशिक्षण प्रतिष्ठान र यसका पदाधिकारीहरुलाई चुनावी प्रचार प्रसारमा व्यापक रुपमा परिचालन गराएका छन्। प्रतिष्ठानका कार्यकारी निर्देशक तथा काभ्रे जिल्ला सभापति मधु आचार्यले पौडेलको चुनावी मोर्चा सम्हालेका छन। शनिवार मात्र पनि अल्फा विटा हाउसमा आचार्यले संयोजन गरेको भेला भएको थियो। भेलामा सभापति उमेद्वार पौडेलले पनि धारणा राख्दै आफूलाई सहयोगका लागि आग्रह गरेका थिए। भेलामा काँग्रेस केन्द्रीय सदस्यहरु, विभिन्न जिल्लाका सभापति, सांसद र महाधिवेशन प्रतिनिधीहरुका अतिरिक्त अन्य शुभेच्छुकहरु पनि थिए। भेलामा सहभागिहरुले संस्थापन पक्षको एक मात्र उमेद्वार बनाउन कार्यवाहक सभापति पौडेललाई आग्रह गरेका थिए।
सिटौला र थापाको टीम काँग्रेसको मात्र हैन देशकै संस्थापन टीम
वानेश्वरमा पौडेल समुहको भेला चलिरहँदा महामन्त्री तथा पार्टी सभापति कृष्ण प्रसाद सिटौला र महामन्त्रीका उमेद्वार गगन थापाको टीमको तर्फबाट जमल नाचघरमा अर्को कार्यक्रम गरिएको थियो। काभ्रेका वहालवाला सभापति मधु आचार्य कार्यवाहक सभापति पौडेलकहाँ व्यस्त रहँदा पूर्व सभापति शिव हुमागाई सिटौला र थापाको प्रचारक भएर त्यहाँ लागिरहेका थिए। पूर्वमन्त्री जनकराज गिरी, काठमाडौं काँग्रेसका पूर्व सभापति भिमसेनदास प्रधानहरुले सिटौला र थापाको टीमनै पार्टीको संस्थापन टीम भएको दावी गरेका थिए।
वागलुङका महाधिवेशन प्रतिनिधी डिल्लीराम सुवेदीले सिटौला र थापाको टीम काँग्रेसको मात्र हैन देशकै संस्थापन टीम भएको बताए। गगन थापाले गणतन्त्रको एजेण्डालाई सडक मार्फत स्थापति गराउन महत्वपूर्ण भुमिका खेलेको र सिटौलाले हिंसात्मक आन्दोलनमा रहेका माओवादीहरुलाई वार्ता मार्फत शान्तिप्रक्रियामा ल्याउन महत्वपूर्ण भुमिका खेल्दै नेपाली जनताले ७० बर्षदेखि आफ्नो संविधान आफ्नै जनप्रतिनिधी मार्फत लेख्ने चाहनालाई कुशलतापूर्वक पुरा गराएको अवस्थामा सिटौला र थापा नेतृत्वको समुह पार्टीको मात्र नभइ देशकै संस्थापन पक्ष भएको बताए।
शुक्रवारदेखि नियमित रुपमा महाधिवेशन प्रतिनिधीहरुसँग अन्तरक्रियामा रहेको यो समुहले महाधिवेशन भएसम्म नियमित अन्तरक्रिया गर्ने जनाएको छ।
देउवा समुह भेटघाटमा व्यस्त
बरिष्ठ नेता शेर बहादुर देउवा महाधिवेशन प्रतिनिधिहरुसँग आफ्नो निवास र वानेश्वरस्थित सम्पर्क कार्यालयममा नियमित भेटघाटमा व्यस्त रहेका छन्। राजेन्द्र खरेलको वानेश्वरस्थित घरमा सम्पर्क कार्यालय खोलेर बसेका देउवा उनकै छोराले सञ्चालनमा ल्याएको एक पार्टी प्यालेसमा बेलाबेलामा उनी निकटका कार्यकर्ताहरु भेला र अन्तरक्रिया गर्दै आएका छन्। संस्थापन पक्षभन्दा अलि संगठीत र एकताबद्ध भएर लागेको देउवा समुह पार्टीको अन्तिम सेट बनाउन तल्लिन छ।
सुजाताले गरिन सभापतिमा घोषणा
काँग्रेस नेतृ कोइरालाले पार्टी भित्र बीपी देखि गिरिजाप्रसाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने ग्राईण्ड डिजाईन भईरहेको भन्दै आफू र काग्रेसलाई पनि समाप्त पार्ने षडयन्त्र भईरहेको बताईन। उनले सभापतिको उमेद्वारी घोषणा गर्दै भनिन,‘त्यसबाट काग्रेसलाई बचाएर सहमति, सहकार्य र एकतालाई अगाडि बढाउन म चाहिन्छ। मेरो उम्मेदवारीले समस्या हल गर्छ। ’कोइरालाले पार्टीभित्र गुटबन्दी, भागबण्डा अन्त्य गरे यूवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर दिलाउन पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै विगतमा नेताहरुले दिएको योगदान विर्सिए काग्रेस नै समाप्त हुने चेतावनी दिईन।
उनले कोइराला परिवारको समेत आफूलाई समर्थन भएको दावी गर्दै बाहिर आएका कुराहरु गलत भएको दावी गरिन। कोइरालाले भनिन,‘ शसांक कोइराला, शेखर कोइरालासँग मेरो कुरा भएको छ । मलाई उनीहरुले समर्थन जनाएका छन र बाहिर आएका कुराहरु गलत भएको आश्वस्त पारेका छन।’