arrow

पौडेल अभिभावक बनेर सिटौलालाई सभापति बनाउन काँग्रेस कार्यकर्ताको जोड

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
Poudel-and-sitaula.jpg.jpeg
काठमाडौँ। संविधान निर्माणमा नेता कृष्णप्रसाद सिटौलाको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँलाई पार्टी सभापति बनाउनुपर्नेमा नेपाली काँग्रेस नेताहरुले जोड दिएका छन् । जमल नाचघरमा आयोजित एक भेलामा उनीहरुले बिपी कोइरालाका उत्तराधिकारी गिरिजाप्रसाद कोइरालाको समयमा शान्ति प्रक्रियाको सहयोगी र सुशील कोइरालाको समयमा संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सिटौलालाई आगामी महाधिवेशनमा पार्टी सभापति बनाउनुपर्ने बताएका हुन् । सहभागी नेताले रामचन्द्र पौडेललाई पार्टीको अभिभावकीय भूमिकामा राखेर सबैलाई मान्य हुने साझा निर्णयमा पुग्न आग्रहसमेत गरेका छन् । 
 
भेलामा काँग्रेस काभ्रेका पूर्वसभापति शिव हुमागार्इं, काठमाडौँका पूर्वसभापति भीमसेनदास प्रधान, सङ्खुवासभाका सभापति तारामान गुरुङ, रुकुमका पूर्वसभापति मानबहादुर नेपाली, झापाका पूर्वसभापति सुधीर शिवाकोटी, ललितपुरका पूर्वसभापति चन्द्र महर्जनलगायत १०० महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको सहभागिता थियो । 
 
वानेश्वरमा पौडेल समुहको भेला चलिरहँदा महामन्त्री तथा पार्टी सभापतिका उमेद्वार कृष्ण प्रसाद सिटौला र महामन्त्रीका उमेद्वार गगन थापाको टीमको तर्फबाट जमल नाचघरमा अर्को कार्यक्रम गरिएको थियो। काभ्रेका वहालवाला सभापति मधु आचार्य कार्यवाहक सभापति पौडेलकहाँ व्यस्त रहँदा पूर्व सभापति शिव हुमागाई सिटौला र थापाको प्रचारक भएर त्यहाँ लागिरहेका थिए। पूर्वमन्त्री जनकराज गिरी, काठमाडौं काँग्रेसका पूर्व सभापति भिमसेनदास प्रधानहरुले सिटौला र थापाको टीमनै पार्टीको संस्थापन टीम भएको दावी गरेका थिए।
 
वागलुङका महाधिवेशन प्रतिनिधी डिल्लीराम सुवेदीले सिटौला र थापाको टीम काँग्रेसको मात्र हैन देशकै संस्थापन टीम भएको बताए। गगन थापाले गणतन्त्रको एजेण्डालाई सडक मार्फत स्थापति गराउन महत्वपूर्ण भुमिका खेलेको र  सिटौलाले हिंसात्मक आन्दोलनमा रहेका माओवादीहरुलाई वार्ता मार्फत शान्तिप्रक्रियामा ल्याउन महत्वपूर्ण भुमिका खेल्दै नेपाली जनताले ७० बर्षदेखि आफ्नो संविधान आफ्नै जनप्रतिनिधी मार्फत लेख्ने चाहनालाई कुशलतापूर्वक पुरा गराएको अवस्थामा सिटौला र थापा नेतृत्वको समुह पार्टीको मात्र नभइ देशकै संस्थापन पक्ष भएको बताए। 
 
शुक्रवारदेखि नियमित रुपमा महाधिवेशन प्रतिनिधीहरुसँग अन्तरक्रियामा रहेको यो समुहले महाधिवेशन भएसम्म नियमित अन्तरक्रिया गर्ने जनाएको छ। 



नयाँ