arrow

अष्टावक्रगीताको नेपाली अनुवाद सार्वजनिक

logo
प्रकाशित २०७५ मंसिर १० सोमबार
ashtavakrageeta.jpg

काठमाडौँ । संस्कृत र नेपाली साहित्यका अध्येता प्राध्यापक शिवगोपाल रिसालद्वारा विशेष विवरणसहित नेपाली भाषामा अनुवाद र व्याख्या गरिएको ‘अष्टावक्रगीता’ पुस्तक सार्वजनिक भएको छ ।

पशुपतिनाथ क्षेत्रमा आइतबार आयोजित एक विषेश समारोहमा महेश सन्न्यास आश्रम, देवघाटका स्वामी मधुसुदनानन्द गिरिले सो पुस्तक सार्वजनिक गरेका हुन् । संस्कृत भाषामा रहेको राजा जनक र ब्रह्मर्षि अष्टावक्रको सम्वादलाई प्राध्यापक रिसालले नेपाली भाषामा अनुवाद गरी त्यसमाथि विशेष टिप्पणीसहितको व्याख्या गरेका छन्। उक्त पुस्तक महेश सन्न्यास आश्रम, देवघाटले प्रकाशन गरेको हो ।

सो पुस्तकमा मिथिलाका राजा जनक र ब्रह्मर्षि अष्टावक्रबीचको सम्वाद समेटिएको छ । अष्टावक्रले राजा जनकको राजसभामा आफ्नो अनुपम विद्वता प्रदर्शन गरेर सभामा उपस्थित सबै विद्वानलाई चकित पारेका थिए । अष्टावक्रगीता अरु गीताजस्तो साधनाको क्षेत्रमा भन्दा पनि चिन्तनको दृष्टिले गहकिलो मानिन्छ । मानिसले ज्ञान, सिद्धि र मोक्ष कसरी प्राप्त गर्नसक्छ भन्ने बारेमा ब्रह्मर्षि अष्टावक्रले सजिलोसँग बाटो देखाउने प्रयत्न गर्नुभएको विद्वतापूर्ण बहसलाई यस पुस्तकमा समेटिएको छ ।

स्वामी मधुसुदनानन्दले पुस्तक नेपालीमा अनुवाद गरेर प्राध्यापक रिसालले वैदिक सनातन धर्म तथा संस्कृत वाङ्मयको संरक्षण र सम्बद्र्धनमा ठूलो गुन लगाएको बताए। प्राध्यापक रिसालले आफूले नेपाली भाषीलाई पाठ पढाउन नभई ज्ञानी बनाउने उद्देश्यका साथ अष्टावक्रगीतालाई नेपाली भाषामा अनुवाद गरी त्यस कृतिको महत्वको विशेष विवरण र व्याख्या समेत गरेको बताए।

यत्रो ठूलो र महत्वको ग्रन्थ नेपाली भाषामा अनुवाद उपलब्ध नभएकाले निकै लामो समयको साधनासहित पुस्तक तयार पारेको प्राध्यापक रिसालले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ