arrow

हाम्रो नेपालः चामल पाउन बैंक स्टेटमेन्ट देखाउनुपर्ने 

logo
दाने बोहरा 
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
rice.jpg.jpeg

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ । 

चामल पाउनका लागि यहाँका कर्मचारीले सिमिकोटस्थित राष्ट्रिय वाणिज्य बैंक र सिटिजन इन्टरनेशनल बैंकबाट तलब प्राप्त गरेको कागज र कार्यालयको हाजिरी रेकर्डलगायत कागजात पूरा गरेको हुनुपर्छ । 

ती कागजातका आधारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले १५ किलोग्राम चामल उपलब्ध गराउनका लागि सम्बन्धीत निकायमा तोक लागाउने गर्छ । 

प्रमुख जिल्ला अधिकारीको तोक लागेको कागजात प्राप्त भएपछि सम्बन्धीत कर्मचारीले १५ किलोग्राम चामल नेपाल खाद्य संस्थानको नजिकको शाखाबाट प्राप्त गर्ने गर्छ । उक्त परिमाणको चामल प्राप्त गर्नका लागि यहाँका कर्मचारीले कहिले हाजिरी फाइल त कहिले तलव पाएको बैंकको स्टेटमेन्टका लागि भौतारिने गरेका छन् । 

गएको भदौ महीनादेखि चामल नपाएका कर्मचारीले मङ्सिर ११ गतेदेखि वितरण गरिएको १५ किलोग्राम चामल प्राप्त गर्नका लागि विभिन्न समस्या झेल्नुपरेको कर्मचारीको गुणासो छ । 

चामलको बिक्री वितरणमा अनियमितता 

हुम्लाको दक्षिण भेगस्थित नेपाल खाद्य संस्थान श्रीनगर शाखाले लामो समयपछि खाद्यान्न बिक्री वितरण गर्न लागेको छ । बिहीबारदेखि सर्वसाधारणलाई चामल बिक्री वितरण गरिने भनिए पनि त्योभन्दा अगाडि नै शाखाले २६४ बोरा चामल बिक्री गरिएको पाइएको छ । 

अदानचुली गाउँपालिकाका छ वटै वडालाई मङ्सिर १३ गतेदेखि चामल बिक्री वितरण गर्न लागेको श्रीनगर शाखा प्रमुख नवीनकुमार आचार्यले जानकारी दिए । शाखामा भदौदेखि चामल नपाएको उनले बताए । श्रीनगर शाखामा बुधबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले मङ्सिर १३ गतेदेखि चामल बिक्री वितरण गर्ने निर्णय गरेको शाखा प्रमुख आचार्यले बताए । 

केही दिनअघिदेखि चामल आउन शुरु गरेको भएपनि विवाह व्रतबन्ध गर्ने भन्दै अदानचुली गाउँपालिकामा २६४ बोरा चामल अनियमित तरिकाले बिक्री वितरण गरिएको श्रीनगरका कालीबहादुर थापाले बताए । चामल लिएकामध्ये अधिकांशले विवाह व्रतबन्ध नगरेको पाइएको पनि उनले बताए । वडापालिकाको सिफारिशमा शाखाले अनियमित तरिकाबाट चामल वितरण गरेको स्थानीय राजनीतिक दलले जनाएको छ । 

चामल बिक्री वितरण गर्नुमा आफ्नो कुनै दोष नरहेको शाखा प्रमुख आचार्यको भनाइ छ । वडाध्यक्षको सिफारिशमा आफूले बिक्री वितरण गरेको उनले बताए । बुधबार दिउँसो बसेको सर्वदलीय बैठकमा चामल बिक्री वितरण गर्ने निर्णय नभएको हुँदा आवश्यकता हेरी सिफारिश दिएको वडाध्यक्ष कार्यालयले जनाएको छ । 

ठेकेदारको कमजोरीका कारण समयमा यहाँ चामल पुग्न नसकेको स्थानीयवासीको गुनासो छ । हुम्लामा चामल भित्रिएपछि यसको बिक्री वितरणमा राजनीतिसमेत हुने गरेकाले सर्वसाधारण सास्ती भोग्नुपरेको छ । हुम्लामा भित्रिएको चामलमा अनियमितता हुने गरेकाले यसको खोजीमा यहाँ बासिन्दा छिमेकी जिल्ला मुगु, बाजुरालगायतमा पुग्नुपर्ने बाध्यता छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ