arrow

चौतर्फी सुरक्षा शंकाको घेरामा हुवावे, प्रतिबन्ध लगाउन किन डराउँदैछ बेलायत ? 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
huawei3.jpg

काठमाडौं । हुवावे कम्पनी पछिल्लो समय सुरक्षाको हिसाबमा जोखिम रहेको भन्दै विभिन्न मुलुकहरुमा कारबाही भोगिरहेको छ । यस्तैमा न्युजिल्याण्डले पनि ५जी सेवाको सामग्रीहरुको बिक्रीमा रोक लगाइसकेको छ । 

हुवावेलाई ५जी नेटवर्कका सामग्रीहरु बिक्रीमा रोक लगाउनेमा न्युजिल्याण्ड पहिलो मुलुक भने होइन । यसअघि अष्ट्रेलियाले पनि हुवावेमाथि रोक लगाउने निर्णय गरेको थियो । साथै क्यानडाले पनि हुवावेको सामग्रीहरुमा सुरक्षा जोखिमबारे अनुसन्धान अघि बढाउने निर्णय गरिसकेको छ । 

त्यसका साथै हुवावेमा रोक लगाउने अर्को मुलुक अमेरिका हो । महत्वपूर्ण कुरा के छ भने जुन मुलुकमा हुवावेमाथि प्रतिबन्धकोे तयारी गरिन्छ, सो मुलुकमा सुरक्षाको कारण पहिलो प्राथमिकतामा हुने गरेको छ । यसले पनि हुवावेका उत्पादनहरुमा केही न केही सुरक्षाको जोखिम पक्कै रहेको स्पष्ट हुन्छ । 

सुरक्षाको विषयमा निकै संवेदनशील भएर पनि हुवावेमाथि प्रतिबन्ध नलगाउने एक मुलुक हो – बेलायत । बेलायतमा भने हुवावेमाथि किन प्रतिबन्ध लाग्दैन त ? हुवावेको ५जीका सामग्रीहरुले आगामी दिनमा इन्टरनेटको नयाँ युगको सुरुवात हुने बेलायती अधिकारीहरु बताउँछन् । उनीहरुले यसले इन्टरनेटको नयाँ युगको सुरुवात गर्ने उनीहरुको भनाइ छ । जसको कारण पनि हुवावेमाथि प्रतिबन्ध नलगाइको उनीहरुको भनाइ छ । 

यद्यपि केही स्रोतले भने पछिल्लो समय बेलायत सुरक्षाको मामिलामा पहिलाको जति संवेदनशील नभएको बताएका छन् । 

के हुवावेप्रति बेलायत सन्तुष्ट छ ? 

पक्कै पनि छैन । बेलायतको क्याबिनेटका प्रवक्ताले हुवावे कम्पनीसँगको सहकार्य केही सुरक्षा जोखिमहरु व्यवस्थापन गर्दै जारी राखिने बताएका छन् । यसले पनि हुवावेमा सुरक्षाको जोखिम छ भन्ने विषयमा बेलायत जानकार रहेको बुझिन्छ । 

केही समयअघि बेलायतले सार्वजनिक गरेको विवरणमा पनि हुवावेको कारण मुलुकमा देखिएको सुरक्षाको जोखिम न्यूनीकरण गर्न सकिने तर निराकरण भने गर्न नसकिने बताइएको थियो । गत महिना पनि बेलायतमा हुवावेको विषयलाई लिएर प्रश्नचिन्ह खडा भएको थियो । सो क्रममा हुवावेको कारण अहिलेका केही महत्वपूर्ण नियमहरु परिवर्तन हुनसक्ने र यसले नकारात्मक असर पार्नसक्ने बताइएको थियो । 

केही समयअघि सार्वजनिक भएको विवरणमा हुवावेको नाम उल्लेख नगरिएको भए पनि उसलाई मुलुकमा प्रतिबन्ध लाग्नसक्ने सम्भावना रहेको बताइएको थियो । स्रोतका अनुसार यदि बेलायतले हुवावेमाथि प्रतिबन्ध लगाएको खण्डमा चीनले बेलायतसँगको व्यापार रोक्नसक्छ । अहिले ब्रेक्जिटको कारण यसै पनि समस्यामा रहेको अर्थतन्त्रमा त्यसले नकारात्मक असर पार्ने भएकोले बेलायत चीनलाई बिच्काउने पक्षमा देखिँदैन । 

हुवावेको बेलायतमा उपस्थिति कस्तो छ ? 

हुवावेले सन् २००१ मा बेलायतमा आफ्नो कार्यालय खोलेको थियो । त्यसका साथै उसले अन्य स्थानीय कम्पनीहरुसँगको सहकार्यमा २जी, ३जी र ४जी मोबाइल सेवा दिँदै आएको छ । अहिले कम्पनी ५जी सेवा प्रदानको लागि अघि बढिरहेको छ । 
हुवावे लगाताररुपमा बेलायतमा आफ्नो व्यापार जारी राख्ने प्रयासमा रहेको छ । लामो समयदेखिको इन्टरनेटमा आफ्नो पकड बलियो योजनामा रहेको छ । जसमा बेलायतले पनि राम्रो संकेत दिएको छ । 

के हुवावेमा साँच्चै सुरक्षा जोखिम छ ? 

हुवावे कम्पनीका कुरा गर्ने हो भने यसको प्रत्यक्ष सम्बन्ध चीन सरकार र उसका नीतिनिर्माताहरुसँग रहेको पाइन्छ । कम्पनीका संस्थापक रेन जेनफेई सन् १९७८ मा चिनियाँ कम्युनिष्ट पार्टीमा आबद्ध भएका थिए । जसको कारण हुवावे कम्पनीमाथि चीनसँगको सम्बन्धलाई लिएर आलोचना हुने गरेको छ । 

हुवावे अनुसन्धान तथा विकासमा सबैभन्दा धेरै खर्च गर्ने कम्पनी भएको दाबी पनि गरिँदै  आएको छ  उसले गत वर्ष १३ अर्ब २० करोड डलर रकम खर्च गरेको थियो । यस वर्ष सो लगानी अझ धेरै हुनसक्ने बताइएको छ । 

चीनले आफ्नो प्रभाव विस्तारको लागि हुवावेको प्रयोग गरिरहेको विभिन्न विवरणहरुमा उल्लेख गरिएको छ तर हुवावेले भने यसलाई अस्वीकार गर्दै आएको छ । बेलायतमै सार्वजनिक भएका प्रतिवेदनहरुले पनि केही न केही मात्रामा हुवावेका उत्पादनमा सुरक्षाको जोखिम रहेको देखाउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ