भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तन हुने बताएका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले काँग्रेसको महाधिबेशन पश्चात काँग्रेसकै नेतृत्वमा एमाओबादी, तराईबादी, एमाले लगायत अन्य दलहरुको सहकार्यतामा सरकार निर्माण हुने बताएका हुन्।
नेपालमा संबिधान जारीसँगै भारतले गरेको अघोषित नाकाबन्दी र नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र नेपालीका लागि कुनै फरकपन देखा नपरेको भन्दै भारतसँगको सम्बन्ध सुधारका लागि गरिएको भ्रमणले खासै सम्बन्ध सुधार समेत नभएको उनको भनाई छ।
तराई आन्दोलन तराईका कामदार वर्गका लागि भन्दा पनि सिमित कालो बजारी गर्ने र बारम्बार सरकारमा सामेल भएका तराईबादी दलहरुले लाभ लिने उद्देश्यका साथ भएको भन्दै भारतले इशारा नगरेसम्म तराईमा भइरहेको आन्दोलन नरोकिने र एक पछि अर्को माग राख्दै अप्ठ्यारो उत्पन्न गर्ने उनको दाबी छ। सरकारले तराई आन्दोलनका क्रममा बिभिन्न बहाना बनाएर जसरी प्रहरी चौकी र सेना फिर्ता बोलाएर तराईको जनधनको असुरक्षा बढाएको छ त्यो सरासर गलत भएको उनले बताए।
स्थानिय निकायको निर्वाचन जति सक्यो छिटो गर्न सके त्यसले पुनर्निर्माणमा सहयोग गर्नुका साथै मधेश र जनजातीको आधा समस्या समेत सम्बोधन हुने उनले बताए। उनले अव स्थानिय निकायको निर्वाचन भए राप्रपा, एमाओबादी र मधेशबादी दलहरुको सहकार्यता हुने सम्भावना समेत बढेको टिप्पणी गरे।
नेपाली काँग्रेसको महाधिबेशनको प्रचार प्रसारलाई हेर्दा कार्यकारी राष्ट्रपतिको अभ्यास भइरहेको र एमालेभित्र सबै समकक्षी भएकाले र एमाओबादी फुटेकाले समेत काँग्रेसले कार्यकारी राष्ट्रपतिको अवधारणालाई अग्रसरता दिने उनको टिप्पणी थियो।
उत्तरतर्फ सरकारले सम्बन्ध बिस्तार गर्न नसक्दा थप समस्या देखिएको र बेलैमा उत्तर तर्फको सम्बन्धलाई बढवा दिन नसकेका खण्डमा नेपाल र नेपालीले अझै विभिन्न खालका समस्याको समाधान गर्नु पर्ने उनको भनाई छ।