काठमाडौँ। नेपाल र चीनका वरिष्ठ सुरक्षा अधिकारी सम्मिलित द्विपक्षीय बैठक आज यहाँ सम्पन्न भयो। परराष्ट्र मन्त्रालयमा भएको उक्त बैठकमा नेपालले चीनको राष्ट्रिय स्वार्थमा आघात हुने कुनै किसिमका गतिविधि नेपाली भूमिबाट हुन नदिने र एक चीन नीतिप्रतिको प्रतिबद्धता पेस गरेको थियो। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका परराष्ट्र मन्त्रालय, उत्तरपूर्व एसिया महाशाखाका प्रमुख झवीन्द्र अर्यालका अनुसार बैठकमा नेपाल–चीन सीमा सुरक्षा लगायत पारस्परिक सम्बन्धका सबै विषयमा छलफल भएको थियो।
बैठकमा चिनियाँ पक्षले मार्च महिनामा चीनमा धार्मिक, सांस्कृतिक एवम् विविध उत्सव परेकाले चीन विरोधी गतिविधि हुन नदिन नेपाली सुरक्षा अधिकारी विशेष सजग रहनुपर्नेमा जोड दिएको थियो।
बैठकमा चिनियाँ पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका बाह्य सुरक्षा मामिलासम्बन्धी महानिर्देशक ल्यु गोआङ्यानले गरेका थिए भने साथमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलगायत ११ जनाको सहभागिता थियो। बैठकमा नेपालबाट परराष्ट्र, गृह, राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्चअधिकारी थिए। रासस