- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । एक वर्षअघि हावाबाट बिजुली निकालेर वडा र निस्दी गाउँपालिका कार्यालय झिलीमिली बनेको क्षेत्र निस्दी ४ मित्यालमा पुनः हावाबाट बिजुली निकाल्न शुरु भएको छ ।
यसअघि निस्दी गाउँपालिका र बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको सहयोगमा १ हजार २ सय वाट बिजुली उत्पादन भएको थियो । हावाबाट बिजुली निकालेर सफल परीक्षण भएपछि गाउँपालिका समेत हौसिएर मित्याल गाउँ उज्याँलो बनाउन २५ किलोवाटको बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ ।
निस्दी गाउँपालिका वार्ड नम्बर ४, मित्यालमा २५ किलोवाट क्षमताको हावाबाट बिजुली उत्पादन गर्ने गरी बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र नेपाल र निस्दी गाउँपालिकाको यो वर्ष पनि संयुक्त लगानी भएको छ ।
मित्यालको रुक्सेभन्ज्याङ डाँडामा हावामा पंखा घुमाएर निकालिने बिजुलीको अहिले तिब्र गतिमा काम भइरहेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले जानकारी दिए ।
२५ किलोवाट क्षमताको उत्पादन हुने बिजुली मित्यालको रुक्सेभन्ज्याङ, झ्यालतुङ, मौलाथर, काफलडाँडाका करिब १ सय ८० घरधुरी लगायत गाउँपालिका केन्द्र मित्यालमा रहेका सरकारी कार्यालयहरुमा वितरण गरिने छ ।
गाउँपालिका अध्यक्ष सारुले अहिले पंखा राख्ने ठाउँमा काम भइरहेको र लगत्तै घर–घरमा विधुत वायरिङको काम सकिएपछि यसै बर्षभित्र पूरै गाउँ झिलिमिली बनाउने मित्याल वायु तथा सौर्य उर्जा उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारीले बताए ।
निर्माण सम्बन्धी कामको जिम्मा कृष्ण ग्रील एण्ड इन्जिनियरिङ वर्क प्रालि विराटनगरले लिएको छ । १ वर्षअघि हावाबाट बिजुली निकालेर वडा कार्यालय, स्वास्थ्य चौकी उज्यालो भएपछि यहाँका बासिन्दा हावाबाट गाउँ उज्यालो बनाउन हौसिएका छन् ।