बझाङ । जिल्ला स्थित सरकारी कार्यालयका गाडीहरु सांसदहरुले प्रयोग गरिरहँदा कार्यालयको काममा बाधा पुग्ने गरेको छ । गुनासो बढेसंगै सांसदहरुको रजाँइको चर्चा हुन थालेको छ । काठमाडौबाट हिढ्दा होस् वा सांसदहरु बझाङबाट काठमाडौ जाँदा जिल्लाका विभिन्न सरकारी कार्यालयका गाडी प्रयोग गर्ने गरेका छन् ।
कार्यालय प्रमुखहरुलाई सांसदहरुले काठमाडौं हिढ्नु भन्दा दुई चार दिन अघि फोन गरेर आफुहरुको प्रयोजनको लागि गाडी व्यस्था गर्न भन्ने गरेका र जसले कार्यलयको दैनिक काममा बाधा पुग्ने गरेको अधिकांश सरकारी कार्यालयका कर्मचारीहरुले गुनासो गरेका छन् । सरकारी सवारी साधनको दुरुपयोग हुँदा समेत स्थानीय राजनीतिक दलहरुले सोचेका छैनन् । प्रशासनलाई दबाबमा राखेर सांसदहरुले रजाँइ गरिरहेकै छन् ।
सरकारी गाडी प्रयोग गर्नेहरुमा बझाङ जिल्लाका प्रत्यक्ष निर्वाचित सांसद मान प्रसाद खत्री, लाल बहादुर रावल तथा समानुपातिक सांसद चन्द्र जोशी, अफिलाल ओखेडा, जनक बुढा लगायत पूर्व मन्त्री सहित जिल्लाका प्रमुख पाटीका शिर्ष नेताहरु पनि जिल्ला आउँदा–जाँदा सरकारी गाडी नै प्रयोग गर्ने गरेको दुखेको कर्माचारीहरुको छ ।
सांसदहरुले घरायसी काममा होस् वा अन्य पार्टीको कार्यक्रममा आउँदा–जाँदा सरकारी कार्यालयका गाडीमा डिजेल, चालक भत्ता लगायत अन्य खर्च सरकारी कार्यालयबाटै बेहोर्नु परेको अधिकारीहरुले बताएका छन् । यसरी सरकारी गाडीहरु सासंदले प्रयोग गर्दा सरकारी कार्यालयमा भष्ट्राचार मौलाएको नागरिक समाजको अगुवाहरुको धारणा छ । सरकारी गाडीहरु सांसदहरुले आफ्नो नीजि गाडी जस्तै प्रयोग गरेको नागरिक समाजका अगुवा धर्मजंग सिंहले बताए । सांसदका छोरा छोरी, कार्यकर्ता र श्रीमती आवत–जावत गर्दा सरकारी काममा बाधा पुग्नुका साथै सेवाग्राहीले दुःख पाइरहेको उनले बताए ।
जिल्ला आउँदा–जाँदा प्राय जसो जिल्ला विकास समिति, नगरपालिका, कृषि, शिक्षा, खानेपानी, सिचाँई, वन निर्वाचन कार्यालय लगायतका सवारी साधनहरु नेताहरुले प्रयोग गर्ने गरेका छन् । विगत ३ वर्ष देखि सांसदहरुले प्रयोग गर्ने परम्परा बसेको भए, पनि यस वर्ष भने सांसदहरुले सधै भन्दा बढी प्रयोग गरेको सरकारी कार्यालयका गाडी चालकहरु बताउन्छन् ।
आइबार विहान मात्रै निमित्त स्थानिय विकास अधिकारी सूर्य प्रकाश गौतम कार्यालयको कामको सिलशिलामा जिविसको गाडीमा सांसद लाल बहादुर रावल र अफिलाल ओखेडालाई बोकेर धनगढी हानिए । कार्यालय प्रमुखहरुको गोष्ठी समारोह भएको अवसर पारेर सो समयमा माननियहरु आउने–जाने गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए ।