बीरगंज। नेपाली काँग्रेसको आसन्न १३ औं राष्ट्रिय महाधिवेशनमा मधेश आन्दोलनले उठाएका मुद्दाहरुलाई कसरी सम्बोधन गर्ने भन्ने सम्बन्धमा बीरगंजमा वृहत अन्तरक्रिया कार्यक्रम भएको छ। बीरगंजको होटल मकालुमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले आसन्न काँग्रेसको महाधिवेशनमा मधेशका मुद्दाहरुलाई गम्भिरताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली काँग्रेस पर्साका पुर्व सभापति एवं सभासद अजय द्धिवेदीले मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेस कार्यकर्ताले मधेसको मागलाई सम्बोधन गराउने मुख्य दायित्व रहेकोले महाधिवेशनमा साझा एजेन्डा बनाएर जाने प्रतिबद्धता व्यक्त गरेका थिए। नेता द्विवेदीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद एवं मधेशवादी नेता आत्माराम साहले अन्तरिम संविधानका कतिपय कुरालाई समेत नयाँ संविधानमा उल्लेख नगरिएको, मधेशका हक अधिकार कुण्ठित भएको र मधेशीलाई अल्पमतमा पार्ने षडयन्त्र गरिएको आरोप लगाए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि जनाद्र्धन सिंह क्षेत्री, महाधिवेशन प्रतिनिधिहरु अशोक जैसवाल, ओमप्रकाश शर्मा, रामेश्वर रौनियार, डा. भगवान यादव, प्रकाश उपाध्याय, रामरुप कुर्मि, गोपाल कुर्मि, क्षेत्र नं. १ का क्षेत्रिय सभापति विजय सर्राफ, २ का अरविन्द गुप्ता, ४ का बब्लु श्रीवास्तव, नगर सभापति भोला साह कलवार, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, पुर्व केन्द्रिय सदस्य अनिल तिवारी, नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जारा, पूर्व सभापति दिपेन्द्र चौहान, अशोक तिवारी, कांग्रेस नेता दिना गुप्ता लगायतले धारणा राखेका थिए।