arrow

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले ज्ञापन पत्र बुझ्न नमानेको पीडित परिवारको गुनासो

logo
सुनिल आउजी,
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
badhi-pidit.jpg

धनगढी । डडेल्धुराको परशुराम नगरपालिका वडा नं. २ र ३ का पहिरो पीडित परिवारले पुष १० गतेभित्र आफूहरुलाई पुनर्स्थापना नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शिर्ष बाढी पहिरो पीडिक संघर्ष समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी आउँदो पुष १० गतेभित्र पीडित परिवारलाई पुनर्स्थापना गर्न माग गरेको हो । संघर्ष समितिका संयोजक प्रजापति नाथले समयमा पुनस्र्थापना नभएमा डोटीको बुडरस्थित भिमदत्त राजमार्गमा पाल टाँगेर बसोबास गरी आन्दोलन गर्ने बताए । उनले सडकमा बसेर यातायात अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

एक सय २७ पटक सरकारका विभिन्न तहमा पुनर्स्थापनाका लागि ज्ञापन पत्र बुझाई सकेको संघर्ष समितिको १२८ औं ज्ञापन पत्र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुझ्न नमानेको सयोजक नाथले बताए । संघर्ष समितिले शुक्रबार मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाउनका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट समय माग गरेको थियो । दिउँसो २ बजेको समय दिएका मुख्यमन्त्री भट्टले ज्ञापन पत्र बुझ्नका लागि अन्तिममा समय नदिएको बताए । मुख्यमन्त्री भट्टले ज्ञापन पत्र नबुझेपछि संघर्ष समितिका पदाधिकारी मुख्यमन्त्रीको कार्यालयबाट फर्किएका थिए ।

शिर्ष गाढमा गएको पहिरोबाट पीडित ३५ परिवारलाई पुनस्र्थापना गर्नका लागि सरकारले जग्गा खरिद गरिसकेको छ । परशुराम नगरपालिका वडा नं. ४ रातिमाटी र वडा नं. ५ परीगाउँमा किनेको ४६.२८ रोपनी जमीन सरकारले खरिद गरेको हो । सो जमीनमा आवास निर्माणका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय डोटीले जग्गा प्लटिङ्ग गरी आवास निर्माणका लागि दुई करोड ६५ लाख रुपैयाँ खर्च लाग्ने स्टिमेट समेत गरिसकेको छ ।

संघर्ष समितिले पुनर्स्थापनाका लागि खरिद गरिएको जग्गाको प्लटिङ तथा कित्ताकाट यथासिघ्र गर्न र घर तथा अन्य संरचनाहरु निर्माण गर्न माग गरेको छ । जग्गा खरिद गरिसकिएको भएपनि कुनै पनि सरकारले पुनस्र्थापना कार्यका लागि बजेट विनियोजन नगरेको हुनाले आफूले आन्दोलित हुन परेको संयोजक नाथले बताए ।

२०६२ असोज ८ गतेको शिर्ष गाढमा आएको बाढीका कारण पहिरो जाँदा ३५ परिवारको जग्गा जमीन सहितको सम्पत्ति पूर्णरुपमा क्षति भएको थियो । पहिरोमा कैयौं जनाको ज्यान समेत भएको थियो ।

विगत १३ वर्षदेखि आवासविहीन भएको सो परिवारलाई आवास दिलाउनका लागि याक नेपालले विभिन्न सहयोग गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ